दार्चुलाका ७ स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण

0

ललित सामन्त, दार्चुला-दार्चुलाका दुई नगरपालिका तथा सात वटा गाउँपालिका मध्ये सोमबारसम्म दुई नगरपालिका तथा ५ वटा गाउँपालिकामा कोरोनाको संक्रमण फैलिएको छ। दार्चुलाको नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकाबाहेकमा कोरोनाको संक्रमण फैलिएको हो।कोरोनाको संक्रमण फैलिएको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा जारी गरेको छ।

कोरोनाको संक्रमण थप फैलिन नदिन स्थानीय तह पूरै सिल गरिएका छन्। स्थानीय सरकारबाट निषेधाज्ञा लागि अनुरोध आएपछि सोही अनुसार जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएपछि १४ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। यस्तै प्रशासनले मालिकार्जुन गाउँपालिकामा तथा लेकम गाउँपालिकामा पनि सोमबार देखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

बैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि मालिकार्जुन गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ भने लेकम गाउँपालिकामा बैशाख २० गतेदेखि २६ बेलुकी ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।यसअघि प्रशासनले जिललाको ब्याँस गाउँपालिकाको वडा नम्बर ६ तथा शैल्यशिखर नगरपालिकाको आंशिक क्षेत्र, मार्मा गाउँपालिकाभरी, महाकाली नगरपालिकाभरी निषेधाज्ञा जारी गरिएको थियो।

जिल्लाको दुहुँ गाउँपालिका तथा नौगाड गाउँपालिकामा मात्रै अहिले निषेधाज्ञा जारी गरिएको छैन भने अन्य जिल्लाको महाकाली शैल्यशिखर नगरपालिका मार्मा व्यासँ मालिकार्जुन,लेकम तथा अपि हिमाल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

हालसम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सख्या ९० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।समुदाय स्तरमा समेत कोरोना संक्रमणको दोस्रो लहर फैलिएको कोरोना नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको हो । सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको हिड्डुलमा भने अझै कमी आएको छैन्।