धनगढी शीर्ष स्थानमा

0

काठमाडौं-लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ र यससँगै शीर्ष स्थानमा उक्लेको छ। सुस्त पहिलो हाफपछि खेलले गति लिएको थियो र यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा सुरुआती दुई गोल गरेको हो।

यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ। जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ। चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्‍यो।सुरुवाती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो। यो स्थितिमा चितवन दबाबमा रहनेछ। धनगढीले ६३ औं मिनेटमा पहिलो गोल गरेको थियो र यो निशान लिम्बूको नाममा रह्यो।

नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे। बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे। पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो।

खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीको गोलरक्षक किरण लिम्बूले जोगाए र त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो। दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो।