आज हनुमान जयन्ती मनाइँदै

0

काठमाडौँ-प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा/आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।

हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गर्न लागिएको छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा दूरी कायम गरी पूजा आराधना गर्न लागेका छन् । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरी पूजा आराधना गरिने जनाइएको छ ।