समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न उच्च अदालतको आदेश (आदेशसहित)

0

काठमाडौं – उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपकड गर्ने कार्य नगर्न र नगराउन भनी आदेश गरेको हो ।

केही दिनअघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरसहितको गोप्य पत्र भन्दै सार्वजनिक भएको थियो । त्यसलगत्तै सो समाचार प्रकाशन गरेका सञ्चारमाध्यममा प्रहरी पुगेको थियो । समाचार प्रकाशन गरेका सञ्चारमाध्यमले सो समाचारको खण्डन गरिसकेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखालाई विपक्षी बनाउँदै विनोद कुमार राउतले दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी भएको हो । “समाचार प्रकाशन गर्ने संस्थासमेत बाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमाबाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी निवेदकलाई धरपकड गर्ने कार्य नगर्नुरनगराउनु भनि विपक्षी प्रहरी निकायका नाउँमा” अन्तरिम आदेश जारी गरिएको छ ।

उज्यालो नेटवर्क प्रा.लि.ले प्रहरीको कार्यालयमा नै गई खानतलासी र धरपकडविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।