त्रिकोणात्मक ट्वान्टी-२०ःनेपालले मलेसियालाई हरायो

0

काठमाडौं- त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई २ सय १८ रनको चुनौति पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको मलेसियाले सबै विकेट गुमाएर १४८ रन मात्रै जोड्न सक्यो ।

जवाफमा आएको मलेसिया १९।१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । यसअघि नै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले राउन्ड रोबिनको चार मध्येको तीन खेल जित्यो । मलेसिया ४ मध्येको तीन खेलमा पराजित रह्यो । २ जित र एक बराबरीका साथ यसअघि नै फाइनल पुगेको नेदरल्यान्ड्ससँग नेपालले शनिबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३\३ विकेट लिए । सन्दीपले ४ ओभरमा ४२ रन खर्चन पुगे । सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका कमलले ३.१ ओभरमा १६ रन खर्चे । प्रतियोगितामा पहिलोपटक अवसर पाएका सुशन भारीले १ विकेट लिए । उनले ३ ओभरमा ३५ रन खर्चे ।

मलेसियाबाट अमिनुद्धिन राम्लीले ४१ रन बनाए । उनले १८ बल खेली १ चौका ५ छक्का प्रहार गरे । कप्तान अहमाद फेज २१ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३१, फिती शाम १४ र वीरनद्विप सिंह १३ रनमा आउट भए ।