कोरोना कहरको बेला सोच्नै नसकिने धन्दाः दुई घण्टाभित्रै नेगेटिभ ‘पिसिआर’ रिपोर्ट तयार, ल्यावका सल्लाहकारसहित ८ जना पक्राउ

0

काठमाडौं- प्रहरीले पैसा असुलेर कोरोनाको नक्कली पिसिआर रिपोर्ट वितरणको धन्दा चलाउनेलाई पक्राउ गरेको छ।

मंगलबार महानगरीय अपराध महाशाखाले काठमाडौंको सिनामंगलस्थित ल्याबमा छापा मारेपछि यस्तो धन्दा चलाएको थाहा भएको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुरिया हेल्थ केयर प्रालिको ल्याबमा छापा मारेको हो। छापा मार्दा उक्त ल्याबले बिना स्वाब कोरोना संक्रमणको पिसिआर रिपोर्ट दिएको सत्य प्रमाण फेला पारेको छ।

नेगेटिभ रिपोर्टका साथ नेपालबाट विदेश जानेहरु उता पुगेपछि पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेसँगै महाशाखाले विशेष निगरानी राख्दै आएको थियो। महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीका अनुसार नेपालमा नेगेटिभ रिपोर्ट देखाएर विदेश गएकाहरु रिपोर्ट पोजेटिभ देखियो।

यस विषयमा अन्य पनि विशेष अनौठा खालका सूचना पाएपछि निगरानी बढाइएको डिएसपी रेग्मीले बताए।

महाशाखाबाट खटेको टोलीले छापा मार्दा सिनामंगलको सुरिया हेल्थ केयर प्रालिले नक्कली रिपोर्ट बनाउने गरेको र स्वाब नै नदिई प्रत्येक व्यक्तिबाट ९ हजार लिएर तयार गरिएको रिपोर्ट फेला पारेको छ। त्यसपछि प्रहरीले ल्याबका सल्लाहकार केपी सिंहलाई नियन्त्रणमा लिएको छ।

डिएसपी रेग्मीका अनुसार ल्याबका अध्यक्ष भने भारतीय नागरिक सिपी श्री कुमार रहेका छन्। हाल उनी भारतमै रहेको खुलेको छ। ल्याबका सल्लाहकारसहित अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पैसा पाएपछि उनीहरूले दुई घण्टाभित्रै नेगेटिभ रिपोर्ट बनाइदिने गरेको डिएसपी रेग्मीले बताए। त्यतिमात्र उनीहरुले रिपोर्ट बनाएपछि सेवाग्राहीलाई घरसम्मै रिपोर्ट पुर्‍याइदिने गरेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी रेग्मीले बताए ।