राजश्व छली गर्ने शाहविरुद्ध उच्च अदालतमा पाँच करोडको मुद्दा

0

काठमाडौं – नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजश्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

अभिनाश इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनले लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिल बिजक जारी गरी ती फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि करसमेत सरकारलाई नबुझेकोले उनीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ ।

उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।