सुदूरपश्चिममा फेरि बढ्न थाले कोरोना संक्रमित, भरिन थाल्यो आइसोलेसन

0

कैलाली-सुदूरपश्चिममा कोरोना भाइरसबाट संक्रमितको संख्या फेरि बढ्न थालेको छ। रोजगारीको सिलसिलामा भारत पुगेकाहरू फर्किनेक्रम बढेसँगै सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको हो। भारतमा कोरोना संक्रमितकोे दोस्रो लहर सुरु भएपछि रोजगारीका लागि गएका सुदूरपश्चिमेलीहरू अहिले धमाधम स्वदेश फर्किन थालेका छन् । पछिल्लो समय फेला परेका संक्रमित पनि बढीजसो भारतबाटै फर्केका व्यक्ति रहेका छन् ।

बझाङ र बाजुराबाहेक सबै जिल्लामा फेरि सक्रिय संक्रमित थपिएका छन् । कैलालीमा सबैभन्दा बढी ३१, कञ्चनपुर र डोटीमा १२–१२, डडेल्धुरामा दुई, बैतडी, अछाम र दार्चुलामा एक–एक जना कोरोनाका सक्रिय संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको छ । दुई जना संक्रमित भने अन्य जिल्लाका रहेका छन् । सुदूरपश्चिममा सक्रिय संक्रमित संख्या सबैभन्दा कम २१ मा झरे पनि अहिले फेरि बढ्न थालेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनका अनुसार भारतबाट काम गरेर फर्किने बढेपछि फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । भारतबाट फर्किनेहरूको सबै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाइएको कार्कीले बताए ।

यस्तै, गम्भीर समस्या देखिएका तीन जना कोरोना संक्रमितको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ भने दुई जना आइसोलेसनमा रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिममा हालसम्म १ लाख ३७ हजार ९७४ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये १४ हजार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सुदूरपश्चिममा अहिलेसम्म ५६ जनाको मृत्यु भइसकेको छ ।

भरिन थाल्यो आइसोलेसन
सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्पताल धनगढीमा उपचाररत धनगढी मित्रनगरका ५० वर्षीय संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।कञ्चनपुरमा पनि मंगलवार राती एक पुरुष संक्रमितको मृत्यु भएको छ। अन्य तीन जना संक्रमितको अस्पतालमै उपचार भइरहेको छ । योसँगै हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । सुदूरपश्चिममा पछिल्लो समय संक्रमणको अवस्था जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन ।

चैत १४ गते भारतबाट आएकाहरूबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएकामध्ये तीन जनामा नयाँ प्रकारको भाइरस फेला परेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘त्यसबारे विस्तृत विवरण त आएको छैन, नयाँ भाइरस फेला परेको र थप अध्ययन भइरहेको जानकारी प्राप्त भएको छ,’ प्रजिअ रिजालले भने । अहिले भारतबाट फर्किनेहरूमा संक्रमण फेला पर्न थालेको छ ।

उनीहरूलाई सुरक्षित स्थानमा राख्ने चटारोमा स्वास्थ्यकर्मीहरू छन । जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले धनगढीनजिकै कनरीमा ६० शैयाको आइसोलेसन कक्ष स्थापना गरेको छ । त्यहाँ ५९ जना पुगिसकेका छन । थपिने क्रम दिनदिनै बढिरहेको छ । ‘संक्रमितहरूको संख्या बढेको बढ्यै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘६० बेडको आइसोलेसन कक्ष भरिन थालिसक्यो, अब अरूलाई कहाँ राख्नु ?’

तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण

सुदूरपश्चिममा तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक–एक जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । नाकाबाट भित्रिएका २० जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । तीमध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना देखिएको होे । उनले नयाँ भेरियन्ट पुष्टि भए पनि कुन प्रकारको हो भनेर पुष्टि नभएको बताए ।कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।