११३ जना नवनियुक्त प्रहरी निरीक्षकलाई र्ज्यानी चिन्ह प्रदान

0

काठमाडौं-खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । साथै प्रहरी महानिरीक्षक थापाले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्ति पत्र समेत प्रदान गरेका छन् ।

२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका थिए । जसमा १४ जना महिला छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उनिहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न स्वागत गरे । संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक थापाले आग्रह गरे ।

नागरिक जिवनबाट प्रहरी पेसामा आउने नवनियुक्त प्रहरी निरीक्षकहरूप्रति संगठनको ठूलो आशा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न तथा आफूमा भएका सद्‍गुणहरूलाई जगेर्ना गर्दै सफल ढंगले तालिम सम्पन्न गर्नुपर्ने बताए । साथै नवनियुक्त भएका विभागीय प्रहरी निरीक्षकहरूले प्राप्त गर्ने जिम्मेवारी अनुसारको काम लगनशील भएर सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।