डीआईजीहरुको सरुवा तयारी, ‘भागरथी काण्डमा सफल सुवेदीलाई मागेको ठाउँ दिने’

0

सुजन पन्त , काठमाडौं – गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवाको तयारी गरेको छ । २०७७ मंसिरमा सरकारले पाँच दरबन्दी थप गरेसँगै नेपाल प्रहरीमा १९ जना डीआईजीको दरबन्दी छ।

सातवटै प्रदेश डीआईजीको कमाण्डमा छ। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को नेतृत्व समेत डीआईजीले गर्नेछन्।

प्रहरी कर्मचारी सरुवा भएर पुगेको युनिटमा एक वर्षसम्म बस्न पाउँछ । प्रदेश, सिआइबी र अख्तियारमा कार्यरत डीआईजीहरुको एक वर्षे कार्यकाल आउँदै १२ वैशाख २०७८ मा सकिँदैछ ।

ईश्वरबाबु कार्की १ नम्बर प्रदेश, धीरजप्रताप सिंह २ नम्बर प्रदेश, वसन्त लामा बागमती प्रदेश, घनश्याम अर्याल गण्डकी प्रदेश, रवीन्द्र धानुक लुम्बिनी प्रदेश, वसन्त पन्त कर्णाली प्रदेश र उत्तम सुवेदीले सूदुरपश्चिम प्रदेशको नेतृत्व गरेका छन् ।

यस्तै अख्तियारमा अरुण बिसी, सिआईबीमा सहकुल बहादुर थापा, विशेष ब्यूरोमा प्रकाशजंग कार्की र साइबर ब्यूरोको नेतृत्व रामकृपाल साहले गरेका छन् । उनीहरुको एक वर्षे कार्यकाल सकिनै लाग्दा मन्त्रालयले सरुवाको तयारी थालेको हो ।

नेपाल प्रहरीमा इन्चार्ज भएपछि अर्कोपटक इन्चार्जमा जान नदिने, जागिरको अन्तिम चरणमा प्रहरी अधिकृतलाई इन्चार्ज नदिने प्रावधान छ । तर, प्रदेश प्रमुख रहेका डीआईजीहरुले अन्य प्रदेशमै जान लबिङ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अख्तियारका डीआईजी बिसीले १ नम्बर प्रदेशमा जान लबिङ गरेका छन् । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा पनि अख्तियारमै बसेका कारण बिसीले प्रदेशमा जानको लागि लबिङ गरिरहेका हुन् ।

यस्तै सिआईबी प्रमुख रहेका थापाले समेत प्रदेशमा चासो राखेका छन्। १ नम्बर प्रदेशको लागि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीमार्फत थापाले लबिङ गरेका हुन्।

त्यस्तै, २ नम्बर प्रदेशको लागि विशेष ब्यूरोका प्रमुख रहेका कार्कीले लबिङ गरेका छन् । आईजीपी क्षेत्रीमार्फत् नै कार्कीले २ नम्बर प्रदेशको लागि आफ्नो अनुकुलको वातावरण बनाउँदै आएका छन् ।

बागमती प्रदेशका प्रमुख रहेका डीआईजी लामाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मार्फत् जुनसुकै ठाउँमा भएपनि इन्चार्जको लागि लबिङ गरेका छन् । लामाले इन्चार्ज पाउने सम्भावना रहेको एक प्रहरी अधिकृत बताउँछन् ।

बागमती प्रदेशमा जानको लागि थुप्रै डीआईजीहरुको दौडधुप छ । साइबर ब्यूरोका प्रमुख रहेका साहले समेत बागमती प्रदेशमा चाहना राखेका छन् । यस्तै डा। देवबहादुर बोहोरा, पुरुषोत्तम कँडेल, उमेश रन्जितकार, प्रकाश अधिकारीहरु लागिपरेका छन् । बागमती प्रदेशमा बोहोराको बढी सम्भावना रहेको बताइन्छ ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनीको चर्चा छ । बढुवामा समेत पछि पारिएका लोहनीलाई आईजीपीले गण्डकी नभए लुम्बिनी प्रदेश पठाउने तयारी गरेका छन् । लुम्बिनी प्रदेशको लागि मुकुन्द आचार्य र गणेश ऐरले समेत लबिङ गरिरहेका छन् ।

त्यसैगरी आकर्षक प्रदेश मानिने लुम्बिनी जानको लागि डीआईजीहरुको चर्को दौडधुप हुने गर्दछ । राजेश कुमार लाल कर्णले समेत लुम्बिनी प्रदेशको लागि लबिङ गरिरहेको बताइन्छ । कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालमार्फत लबिङ गरिरहेका आचार्यको सम्भावना बढी रहेको बताइन्छ ।

लुम्बिनी नपाए गणेश ऐर कर्णाली प्रदेश भएपनि जाने मुडमा छन् । कर्णाली प्रदेशको लागि पनि उनले भित्रभित्रै लबिङ गरिरहेको बताइन्छ । लुम्बिनी प्रदेशका डीआईजी धानुक समेत प्रदेशमै जान चाहेका छन् । तर, गृह मन्त्रालयले धानुकलाई विशेष ब्यूरोमा पठाउन सक्ने सम्भावना छ ।

त्यस्तै कर्णाली प्रदेशका डीआईजी वसन्त पन्त पनि प्रदेशमै जान इच्छा देखाएका छन् । तर, पन्तलाई आईजीपी क्षेत्री नै इन्चार्ज नपठाउने मनस्थितिमा छन् ।

यस्तै अति नै विकट मानिएको सुदूरपश्चिम प्रदेशमा कोही पनि जान रुचाउँदैनन् । अघिल्लो सरुवामा संगठनको हितमा काम गर्ने असल, इमान्दार र स्वच्छ छविका उत्तम सुवेदीलाई विशेष मिसनसहित पठाइएको थियो ।

अनुसन्धानमा अब्बल मानिने सुवेदीले पनि अन्य प्रदेशमा जान इच्छा राखेका छन् । प्रदेशमा अवसर नदिए सुवेदीलाई आईजीपी क्षेत्रीले नै सिआइबी पठाउनसक्ने सम्भावना रहेको छ । सिआईबीको लागि २ नम्बर प्रदेशका डीआईजी सिंहले समेत लबिङ गरिरहेका छन् ।

भागरथी बलात्कार हत्या प्रकरणमा सफलता पाएसँगै सुवेदी निर्मला पन्त प्रकरणलाई पनि सुल्झाउने तयारीमा छन् । सोहीकारण पनि सुवेदीलाई मागेको ठाउँ दिनसक्ने सम्भावना रहेको प्रहरी संगठनभित्रै चर्चा चलेको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्जसिपका लागि कम आकर्षक मानिने प्रदेश भएका कारण संगठनले नै जबरजस्ती पठाउनुपर्ने हुन्छ । सुदूरपश्चिममा पुरुषोत्तम कँडेल, उमेश रन्जितकार, प्रकाश अधिकारी, राजेश कर्णमध्येबाट एकजनालाई पठाउनसक्ने सम्भावना छ ।

प्रदेश नं। १ का डीआईजी कार्की र गण्डकी प्रदेशका डीआईजी अर्यालले पनि इन्चार्जको लागि लबिङ गरिरहेका छन् । स्रोतका अनुसार कार्की र अर्यालमध्ये एकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउन सक्ने सम्भावना छ ।