प्रदेशकै ठूलो ‘धनगढी सिटी हल’ निर्माणको कार्य अन्तिम चरणमा, धनगढीका नगर प्रमुख वडद्धारा निरीक्षण

0

कैलाली-धनगढीमा सुदूरपश्चिम प्रदेशकै ठूलो सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ। २५ करोड २६ लाख रुपैयाँ लगानीमा निर्माणाधीन ‘धनगढी सिटी हल’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। निर्माणाधिन सिटी हलको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र वडा नम्बर ८ का वडाध्यक्ष नारायण प्रसाद बरालले निरीक्षण गरेका छन्।

सिटी हल निर्माण सम्पन्न भएपछि प्रदेशभित्र आयोजना गरिने ठूला सभा/समारोहका लागि सहज हुने अपेक्षा गरिएको छ । सोहीअनुरूप निर्माणलाई गति दिइएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माणाधीन उक्त सिटी हलको कामले पछिल्लो समय अपेक्षाकृत गति लिएको हो।

सिटी हल निर्माणका लागि बिकेवाई एमके रोयल जेभीसँग २०७६ माघ २ गते सम्झौता भएको थियो। सम्झौता अनुसार २०७८ असार ९ गते अर्थात् ३० महीना अवधिमा निर्माण सम्पन्न गर्नुपर्नेछ। एक बिगाहा क्षेत्रफलमा बन्दै गरेको सिटी हल १ हजार जना अटाउने क्षमताको हुनेछ। अपांगतामैत्री रहने सिटी हलको अन्डरग्राउण्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ।

सिटी हलमा छुट्टाछुट्टै दुईओटा हल निर्माण गरिनेछ। सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रूम, अति विशिष्ट कक्षको व्यवस्थाका साथै खानेपानी, शौचालय लगायत सुविधा रहनेछ। निर्माण सम्पन्न भएसँगै सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ। यसपछि सिटी हलको सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकाले नै गर्नेछ।