आज रंगको पर्व होलीःभेला भएर नखेल्न आग्रह,स्वास्थ्य मापदण्डको पालना नगरे कारवाहीसम्म

0

काठमाडौं-फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ।

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुईरतीन दिनसम्म होली मनाउने चलन छ।फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ।फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

पौराणिक कथन अनुसार होलीका दहनको उत्सव र भगवान रामले रावणलाई मारेको अवसरमा होली पर्व मनाउने गरिन्छ।

अहिले हिन्दुहरु मात्र नभएर हरेक धर्मावलम्बीहरुले यसलाई उत्सवको रुपमा मनाउने गरेका छन्।

फागु वा होलीमा प्रयोग गरिने रंगहरुले हाम्रो प्रकृतिको अवस्थालाई दर्शाउने गर्दछ भने त्यसले हाम्रो स्वास्थ्य, दिर्घायु तथा प्रगतिको कामना पनि गर्ने विश्वास गरिन्छ।

भेला भएर होली खेल्न निषेध

यो वर्ष पनि कोरोना भाइरसको प्रभावले गर्दा फागु पर्वमा भेला भएर होली नखेल्न सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले भेला भएर, भीड जम्मा गरेर होली नखेल्न भनिसकेको छ।

संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ।