धनगढीको त्यो सुन्दर पाँच तले श्रीरामजानकी मन्दिर !

0

कैलाली-धनगढी चौराह नजिकै भन्सार जाने पुरानो सडकको छेउमा बनेको श्रीरामजानकी मन्दिर अति सुन्दर र रमणीय छ। त्यसैले धनगढी धुम्न आउनेहरुले एक पटक सो मन्दिरमा पुगेर भगवानको दर्शन गर्न लालायीत हुन्छन्। मन्दिर देख्नेहरुले यति राम्रो मन्दिर बनाएको रहेछ भनेर प्रसंशा गरेको पनि सुनिन्छ।

डोटीको सिलगढीबाट कैलालीको धनगढीमा बसाई सरिआएका नेवारहरुले आफ्नो समाजमा मर्दा पर्दा वा अन्य कुनै कार्य आईपरेमा सरिक भई सम्पन्न गर्ने गराउने उदेश्यले विस २०४६ सालमा श्री रामजानकी मन्दिरको स्थापना भएको हो। नेवारहरुले आफ्ना आराध्यदेवी श्री शैलेश्वरीको नाम अगाडी वयोवृद्ध श्री केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा श्री शैलेश्वरी गुठी समाजको स्थापना गरे।

१० बर्षसम्म समाजको कार्य आफ्नै समाज मात्रै समिति रहेको हुनाले २०५६ सालमा रमणचन्द श्रेष्ठको घरमा अन्य समुदायका धर्मार्थ कार्यमा आस्था राख्नेहरुलाई पनि समेटेर बैठक बसि रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा धनगढीको श्री रामजानकी मन्दिर निर्माण समिति गठन भई विभिन्न महानभावहरुबाट चन्दा संकलन गरि विस २०५७ सालमा उनै वयोवृद्ध केदारप्रसाद श्रेष्ठबाट मन्दिरको शिलान्यास गरिएको थियो। त्यसपछि रमणचन्द्र श्रेष्ठका घरमा भएको दोस्रो बैठकमा चन्दनाथ मिलका भुपु नेपाली काँग्रेसका सदस्य लोकेन्द्रबहादुर शाहकी छोरी दिवेश्वरी शाहले आफ्नो स्वर्गीय पिताको स्मृतिमा भाईहरुको सल्लाहमा २ कोठाको धर्मशाला निर्माण गरिदिने बचन दिइन्।

त्यति बेला रमणचन्दले मलाई मन्दिरको दिवालमा टायल लगाईदिनु भए हुन्थ्यो भनेर भनेका थिए। मन्दिरको शिलान्यास भएको केही समयपछि स्व. लोकेन्द्रबहादुर शाहको छोराहरुबाट धर्मशाला निर्माण गरि सोही परिसरमा शिलान्यासको कार्य पनि भएको थियो। मन्दिरको जगदेखि कुर्सीसम्म मात्र बनेको दुई वर्षसम्म सो निर्माण कार्य बन्द रह्यो।

निर्माण कार्य बन्द भएपछि मन्दिरका लागि ८ हजार चन्दा दिने ठेकराज पन्तले मन्दिर बनाउने कार्य रोकिएकाले मैले दिएको चन्दा फिर्ता देउ भनी माग गरेपछि सो रकम फिर्ता गरेको त्यस क्षेत्रका बुढापाखा बताउँछन्। यसरी निर्माण कार्य रोकिएपछि धर्मशाला निर्माण गर्न शिलान्यास गर्ने दाताहरुले पनि सो कार्य गर्न रोक लगाए। मन्दिर निर्माण पुरै बन्द भएकाले ४ बर्षपछि होरी मनाउन श्रीकृष्ण मन्दिरमा भेला भएका गुठी समाजका सदस्यहरुका बीच स्वर्गीय हरिनारायण श्रेष्ठले अव म पनि ठेकराज पन्तजीको जस्तै गरि मन्दिरमा दिवालमा टायल लगाउनु छ भनेर पत्रिकामा छपाई आफ्ना शब्द फिर्ता लिन्छु भनेपछि सो समाजका केही सदस्यहरुले रमणबहादुर चन्द्रलाई अव मन्दिर नबनाउने भए अध्यक्ष छोडिदिनु हामी मन्दिर बनाउँछौं भनेपछि रमणबहादुर चन्दले कुर्सिदेखि माथि बनाउने कार्य सुरु गरे।

मन्दिर द्धाराका लागि केदार प्रसाद श्रेष्ठले १६ हजार चन्दा दिए। मन्दिर निर्माण हुँदै जाँदा तीन तलासम्म बनाउने सल्लाह भएपनि इन्जिनियरको सल्लाहमा पाँच तलासम्म मन्दिर निर्माण भयो। रश्मी मेडिकलका सञ्चालक गोरख बहादुर श्रेष्ठले ६६/७७ हजारको लागतमा चौथो तला र गोविन्द प्रसाद श्रेष्ठ काठमाडौं गई आफ्ना भाई लक्ष्मण प्रसाद श्रेष्ठ, भाई पुष्पप्रसाद श्रेष्ठको लगानीमा पाँचौ तला निर्माण भएको हो। गोविन्द प्रसादले काठमाडौंमा स्वर्गीय बौद्धमान श्रेष्ठका छोरा सत्यनारायण, रामेश्वर श्रेष्ठबाट तामाको गजुर २५ हजार नगद र स्वं. हर्क नारायण श्रेष्ठका छोरा भरतराज श्रेष्ठबाट २५ हजार तथा काठमाडौंका अन्य चन्दादाताहरुबाट समेत चन्दा संकलन गरि तामाको गजुर साँढे चार तोलाको सुनको मोलम्मा लगाई मन्दिरमा जडान गरिएको थियो।

मन्दिरको मुर्तिका लागि कृष्ण प्रसाद श्रेष्ठका छोरा बेलायतमा बस्ने कोमल प्रसाद श्रेष्ठले पठाएको २ लाखबाट राजस्थानमा गई श्रीराम, सीता, लक्ष्मण, भरत, सत्रुधनका ठुला मुर्ति र हनुमानको सानो मुर्ति खरिद गरि मन्दिरमा ल्याएर स्थापना गरिएको थियो। मन्दिरमा हरिद्धारबाट ल्याएको तामाको कलश, रामजामीहरु अनाबरण गरिएका थिए। भारतको हरिद्धारस्थित विश्वनाथ धामका श्री विभुषित पुज्यपाद स्वामी प्रखरजी महाराजबाट २०६४ बैशाख १२ गते मन्दिरको समुद्घाटन गरि मुर्ति अनावरण गरिएको थियो। अहिले गुठी सामाजका सदस्यहरुबाट दैनिक नित्यकर्म, पुजा आरतीका लागि तेल,बत्ती, धुप आदिको व्यवस्था भईरहेको छ।