गोदावरीमा बाघको आतंक, तत्काल क्यामेरा ट्रयापिङको तयारी

0

कैलाली-कैलालीका विभिन्न स्थान हुँदै बाघ गोदावरी नगरपालिका क्षेत्रमा देखिन थालेपछि क्यामेरा ट्रयापिङको तयारी गरिने भएको छ। अत्तरिया क्षेत्रमा बाघ देखिएपछि स्थानीय त्रसित बन्न थालेपछि सुरक्षासहितको तयारी अघि बढाइने भएको हो। सुदूरपश्चिम प्रदेशभित्र मात्र हाल १९ ओटा बाघ छन् ।

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो ।अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको छ। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको वन क्षेत्रमा पनि दुई महिनादेखि बाघ घुमिरहेको छ।

लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा दुई महिनादेखि बाघ रहेको सामुदायिक वनका अध्यक्ष गोविन्द रावतले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट क्यामेरा ट्रयापिङ गर्दा बाघ देखिएको हो । यस्तै कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि तीन दिनदेखि बाघ घुमिरहेको स्थानीय बताउँछन्। पछिल्लो दुई महिनायता कैलालीका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा बाघ देखिन थालेको छ ।

कैलाली पुस्तौदेखि बाघको बासस्थान रहेको र पछिल्ला वर्षहरुमा वन अतिक्रमणसँग जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ सुरक्षित बासस्थानको खोजीमा बाहिर गएको बताउँदै विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने, ‘बाघको बासस्थान नासिँदा बाहिर गएका बाघ पुनः कैलालीमा वनको अवस्था सुध्रिन थालेपछि फर्केका हुन सक्छन् ।’ सन् २०१८ को तुलनामा बाघको संख्या बढेको हुन सक्ने बताउँदै उनले भने, ‘नेपालमा बाघको संख्यामा सुधार भएको छ, बाघको संख्या बढ्दा उसले आफ्नो बासस्थान बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, दुधुवा नेसनल पार्क तथा कैलालीकै राष्ट्रिय वनबाट आएको हुनसक्छ ।’

एउटा एरियामा एउटा मात्रै बाघ बस्ने भएकाले बाघको संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा बाहिर आएको हुनसक्ने आँकलन गरिएको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरु बताउँछन् । ‘

बाघको संख्यामा वृद्धि भई आफ्नो बासस्थानको खोजीमा कैलालीमा भौतारिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘सुरक्षित र आहारा भएको बासस्थानको खोजी गर्दै बाघ डुलिरहेको छ ।’ अत्तरिया क्षेत्रमा दुई दिनदेखि बाघ देखिएको भन्ने खबर आएकाले क्यामेरा ट्रयापिङका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषसँग समन्वय भइरहेको उनले बताए ।