कर्णालीमा चार छोराछोरीसहित आमाले हाम्फालिन्, दुई छोरीको शव फेला

0

सुर्खेत-दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन्। दुई छोरीको शव सोमबार साँझ भेटिए छ भने अन्य तीनजना वेपत्ता छन् ।

वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको स्थानीयले थाहा पाएका हुन्।

मध्यपहाडी लोकमार्गको अछाम जोडने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताईएको छ। दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको जानकारी दिए ।

उनले सुकी बडुवाल र उनको एक छोरार एक छोरी अहिले पनि वेपत्ता भएको र प्रहरी तथा समूदायले खोजी कार्य जारी राखेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’