मौफसलका महिला पत्रकारहरुलाई पेसामा टिक्नै चुनौती

0

राम धामी
डडेल्धुरा-मौफसलमा पत्रकारिता पेशा दिनहुँ चुनौतीपुर्ण बन्दै गएको र महिला पत्रकारहरुलाई पेशामा टिक्नै समस्या भईरहेको डडेल्धुरामा कृयासिल महिला सञ्चारकर्मीहरुले बताएका छन।दलित महिला संघ (फेडो) डडेल्धुराले सोमबार सदरमुकाममा आयोजना गरेको सिमान्तकृत महिलाहरुको क्षेत्रमा महिला पत्रकारहरुको भूमिका विषयक अन्तरकृया कार्यक्रममा सहभागी जिल्लामा कृयासिल महिला पत्रकारहरुले पेसामा टिकिरहन निकै कठिनाई भइरहेको बताएका हुन्। कार्यक्रममा सहभागी महिला पत्रकारहरुले अहोरात्र समाचार संकलन गर्नुपर्दा घरायसी कामको बोझका कारण महिलाहरुले पत्रकारिता पेशामा टिकिरहन समस्या भएको बताए।

आमसञ्चार माध्यममा रातदिन खटेर काम गर्दा पनि पारिश्रमिक अन्त्यान्तै न्युन हुने र घरायसी कामको बोझका कारण महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा लगानसिलताका साथ काम गर्न नसकेको पत्रकार ममता भट्टले बताईन्। उनले नाम र पहिचानका लागि आफुले पत्रकारिता पेसालाई निरन्तरता दिईरहेको भए पनि समय ब्यवस्थापन हुन नसक्दा बालबच्चा हुर्काउन समस्या भईरहेको जिकिर गरिन्।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवशरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पुर्व अध्यक्ष राम धामीले पत्रकारितामा महिलाको अवस्था र प्रमुख सवालहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणीगर्दै कार्यक्रमका सहभागी महिला पत्रकारहरुले महिला पत्रकारहरु भौतिक रुपमा समेत असुरक्षित हुन थालेकाले पेशागत र भौतिक रुपमा महिला पत्रकारहरुले भोगिरहेका चुनौतीहरु न्युनीकरणका लागि तीनवटै तहका सरकारको महत्वपुर्ण भूमिका हुने बताए।

फेडो डडेल्धुराकी अध्यक्ष रुपा भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सो संस्थाकी सचिव अञ्जु गैरेले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सुनिता गैरेले गरेकी थिइन् । डडेल्धुरा जिल्लामा हाल डेड दर्जन बढि महिला पत्रकारहरु क्रियासिल रुपमा कार्यरत छन्।