निर्माणाधिन मोहना-अत्तरिया ६ लेन सडक आयोजनाको म्याद तेस्रो पटक थपियो, थपिएको समयमा पुरा होला त ?

0

कैलाली-निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको तेस्रो पटक म्याद थप भएको छ। सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाको म्याद तेस्रो पटक ६ महिनाका लागि म्याद थप गरिएकाे हाे। दोस्रो पटक म्याद थप हुँदा ६ लेन सडकको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद २०७७ मंसिर ६ र दोस्रो तथा तेस्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो।

उक्त म्याद सकिए सँगै माघ ११ गतेको मन्त्रपरिषदको निर्णय अनुसार कोरोना कहर र लकडाउनले निर्माण कार्यमा असर गरेकाले ६ महिना म्याद थप गर्ने निर्णय गरेको थियो। त्यसै बमोजिम मोहना–अत्तरिया ६ लेन सडक निर्माणको ६ महिना म्याद थप भएको मोहना–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले जनाएको छ।

पटक–पटक सडक निर्माणको म्याद थप हुँदा ढिलाइ सँगै सडक निर्माण नहुँदा आवत–जावतमा समस्या हुदै आएको स्थानीयहरुले बताएका छन्। दोस्रो तथा तेस्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले थपेको म्याद भित्रै निर्माण कार्य सम्पन्न हुने दाबी गरे।

सडकलाई छ लेनमा विस्तार गर्न लागिए पनि उक्त क्षेत्रमा पर्ने पुलहरु भने यथावत छन्। जसले गर्दा दुर्घटनाको जोखिम बढी रहेको छ। निर्माणाधिन १४ किलोमिटर लामो छ लेन सडकमा मोहना देखि–अत्तरीयासम्म ३ वटा पुल रहेका छन्।

धनगढीको मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माणको काम सम्झौता अनुसार दुई बर्षमा सम्पन्न गरिसक्नु पथ्र्यो। निर्धारित समयमा निर्माण काम सम्पन्न भएन।१४ किलोमिटर क्षेत्र सडक ६ लेन र ४ लेनमा राखि निर्माण भइरहेको थियो।

केही क्षेत्रमा भएको बिबादका कारण धेरै क्षेत्र ४ लेन बनाउने योजना थियो। तर हाल बजार क्षेत्रमा ६ लेन नै बनाउने र जंगल क्षेत्रमा मात्र ४ लेन राख्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।