सशस्त्रका डिएसपी चन्द भन्छन्, “सीमा क्षेत्रमा प्रभावकारी सञ्चार सेवा नहुँदा विपद्को बेला उद्धारमा समस्या हुन्छ”

0

कैलाली-सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव उपरीक्षक भीम बहादुर चन्दले कैलाली र कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने नेपाल भारत सीमा क्षेत्रमा सञ्चारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोग काठमाडौंको आयोजनामा बिहीवार धनगढीमा भएको विपद् व्यवस्थापन र मानव अधिकार विषयक अन्तरसंवाद कार्यक्रममा डिएसपी चन्दले यस्तो बताएका हुन्। सीमा बस्ने नागरिक सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ, उनले भने, “सञ्चार भएपनि आवाज नसुनिने र त्यस क्षेत्रका नागरिक अझै पनि पहुँचमा पुगेका छैनन्। मोवाईलमा टावर नहुँदा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई समेत विपद् लगायत अन्य बेला पनि समस्या छ।”

उनले जोखिम न्यूनिकरणका लागि विपद् पूर्व सशस्त्रले गरेको कार्य, नीति तथा योजना निर्माण, तालिम तथा परिचालन, उद्धार सामाग्राीको व्यवस्थापन, अभ्यास, सिमुलेशन र राहत सामग्री भण्डार जस्ता कार्य गर्दै आईरहेको बताए। विपद् पश्चात सशस्त्रले गस्ती, सूचना संकलन, पुनस्र्थापना, पुननिर्माण, सुरक्षा प्रवन्ध तथा राहत व्यवस्थापन सुरक्षा व्यवस्थापन, क्याम्प समन्वय जस्ता कार्य गर्ने गरेको उनको भनाई थियो।

विपद्का समयमा कैलालीको भजनी, लालबोझी लगायतका क्षेत्रमा मोवाईलले काम नगर्ने भएकाले उद्धार गर्न समस्या भोगेको बताए। सीमा क्षेत्रमा बस्ने नागरिकले मानव अधिकारको अनुभूति गर्न सकेको देखिदैन, उनले भने, त्यसको लागि राष्ट्रिय मानव अधिकार आयोगले पहल गर्न जरुरी छ।

कार्यक्रममा विपद् व्यवस्थापनका बारेमा संक्षिप्त जानकारी, सुदूरपश्चिममा प्रकोपको अवस्था, विपद् सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्था, जोखिम न्यूनीकरण का बारेमा छलफल भएको हो। कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी मानव अधिकारको विषय बृहत भएको बताउँदै प्रकोपको बेला सरकार चाहेर मात्र मानव अधिकारको सैब क्षेत्र समट्न नसक्ने बताए।

उनले सुदूरपश्चिममा बाढी, पहिरोको जोखिम बढी रहेकोले न्यूनीकरणका लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्मिम कार्यालय प्रमुख मोहनदेव जोशी ले कार्यपत्र प्रस्तुत गर्दै प्राकृतिक प्रकोपको कारण शिक्षा, स्वास्थ्य, रोजगार बाट बञ्चित हुने गरेको बताए ।
उनले विपद्को समयमा महिला, बालबालिका, जेष्ठ नागरिकहरु जोखिममा पर्ने गरेको बताए ।


कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी धनगढीका सभापति उत्तम जोशी, अधिवक्ता वीरबहादुर जेठारा, अधिकारकर्मी धनपति ढुंगेल, ओरेक नेपालकी दीपा चौधरी लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए