सशस्त्रको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न, इन्सपेक्टर निरन थापा सर्वोत्कृष्ट बन्न सफल

0

काठमाडौं-राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिममा सशस्त्र प्रहरी निरीक्षक निरन थापा सर्वोत्कृष्ट बन्न सफल भएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपि) शैलेन्द्र खनालले व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।उनले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तालिमका सर्वोत्कृष्ट हुन सफल भएका सशस्त्र इन्सपेक्टर निरन थापालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए। करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी थिए। उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के।सी। र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।