देशभर ५ नयाँ औद्योगिक क्षेत्र थपिँदै, दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि ९ अर्ब लाग्ने अनुमान

0

कञ्चनपुर- सरकारले पाँचवटा नयाँ औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने भएको छ। सुदूरपश्चिम, बागमती, प्रदेश १ र लुम्बिनीमा गरि कुल पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागिएको हो।

सरकारले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक औद्योगिक क्षेत्र निर्माण गर्न लागेको हो। यो औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री कञ्चनपुर आउँदै छन्। शिलान्यास गर्ने सबै क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडकी वरिष्ठ अधिकृत मेरिना चित्राकारले जानकारी दिइन्।

यी हुन् निर्माण हुने औद्योगिक क्षेत्रः

दैजी छेला औद्योगिक क्षेत्र
सरकारको २०७२ चैत १ को मन्त्रिपरिषदको निर्णय अनुसार कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुनेछ। जिल्लाको पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडाथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोलासम्म फैलिनेछ।नौ सय बिगाहमा विकास हुने यस औद्योगिक क्षेत्रमा एक सय प्लट रहनेछन्। जसअनुसार साना उद्योगको लागि २३ प्लट, मझौला उद्योगको लागि ४४ प्लट र ठूला उद्योगको लागि ४४ प्लट छुट्याइएको छ। औद्योगिक क्षेत्र निर्माणका लागि ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

चीन-नेपाल मैत्री औद्योगिक पार्क
यो पार्क प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक नगरपालिका, गौरादह नगरपालिकामा र कमल गाउँपालिकाको अधिग्रहण गर्ने जमिन सहित कुल १५८८ हेक्टरको विशाल क्षेत्रफलमा निर्माण गर्ने योजना बनाइएको छ ।यो पार्क चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ। विभिन्न चार चरणमा निर्माण गरेर यो पार्क करिब १० वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । पार्कको निर्माणको काम ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र लगानी विकास कम्पनी लिमिटेडले शुरु गर्न लागेको हो।यस औद्योगिक पार्कबाट ४५ हजार जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ।

मयुरधाप औद्योगिक क्षेत्र

मकवानपुर जिल्लाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माणको निर्णय २०७२ चैत १ मा नै तत्कालिन मन्त्रिपरिषदले गरेको थियो। तीन सय बिगाहमा फैलिने यो औद्योगिक क्षेत्रमा ६२ वटा औद्योगिक प्लट रहनेछन्। प्रत्येक प्लटको आकार ७ देखि १४ रोपनीको हुनेछ। यो क्षेत्रमा रंग, उत्पादनमुलक, प्लास्टिक, पाइप, सिमेन्ट लगायतका उद्योगहरु स्थापना हुने अपेक्षा गरिएको छ।५ वर्षभित्र सक्ने लक्ष्य लिइएको यो औद्योगिक क्षेत्रको विकासका लागि सात अर्ब लागत अनुमान गरिएको छ। यस्तै, १० हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने अनुमान छ। यसैगरी, सरकारले सुरक्षण मुद्रण स्थापनाका लागि २ सय ६० रोपनी जग्गा छुट्याइएको छ ।

नौबस्ता औद्योगिक क्षेत्र

यो औद्योगिक क्षेत्र पनि ०७२ चैत १ कै मन्त्रिपरिषद निर्णयबाट विकास गर्न लागिएको हो । ५ सय २५ बिगाहा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । प्रत्येक प्लटको आकार ९ देखि ३० रोपनी रहनेछ। यसको कुल लागत ८ अर्ब ८८ करोड हुने अनुमान छ।

मोतिपुर औद्योगिक क्षेत्र
मन्त्रिपरिषदको २०७२ चैत १ कै निर्णय अनुसार यो औद्योगिक क्षेत्र पनि स्थापना गर्ने निर्णय गरेको हो। पाँच वर्षभित्र सक्ने लक्षय राखिएको यो क्षेत्र ८ सय १३ बिगाहामा फैलिनेछ। अध्ययन प्रतिवेदन अनुसार यो क्षेत्र निर्माणको लागि १२ अर्ब लाग्ने अनुमान छ।