अछाम चौरपाटीमा ‘फल्याको कोदो’ अवदेखि धनगढी र अत्तरिया बजारमा, प्रतिकिलो ४५ रुपैयाँ

0

कैलाली- कुनै बेला गरिबहरुको खानाका रुपमा कोदोलाई लिइन्थ्यो। पहाडी भुभागमा मात्रै उत्पादन हुने कोदोको बजारमा आउँला भन्ने कमै अनुमान लगाउन सकिन्छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि कोदोको उत्पादन उल्लेख्य मात्रामा हुने गरेको छ। तर, अझैं पनि त्यहाँ कोदोलाई खासै महत्व दिएको पाईदैन।तराई वा प्रमुख शहरमा कोदोको रोटी वा अन्य परिकारप्रति आकर्षण र स्वास्थ्यका लागि फाईदाजनक भएपनि सहज रुपमा उपलव्ध हुन सकेको छैन।

यही कोदोको महत्वलाई बुझेर अछामको चौरपाटी गाउँपालिकाले रैथाने बाली कोदो उत्पादनलाई प्रमुख रुपमा अगाडी बढाएको छ। चौरपाटी गाउँपालिकाले ‘फल्याको कोदो,कुट्याको धान कार्यक्रम’ नै लागु गरेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले बताए। गाउँपालिकाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष साउदले तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्याक्टर र ट्रकमा कोदो भरेर निर्यात गर्ने उदेश्य रहेको बताए।

किसानले यस भन्दा अघि कोदोको दररेट पनि थाहा पाएको थिएन, अध्यक्ष साउदले भने,‘जव गाउँपालिकामा ‘फल्याको कोदो,कुट्याको धान कार्यक्रम’ लागुभएपछि किसानहरु अहिले कोदो लगाउनमा आकर्षित भएका छन्।’ ‘चौरपाटी गाउँपालिकाले यो कार्यक्रममार्फत व्यापार गर्न खोजेको होइन।सवै किसानलाई कोदो लगाएर प्रवद्र्धन गर्न खोजेको हो। गाउँमा पाखो जमिन धेरै छ।त्यही पाखो जमिनलाई खेती योग्य जमिनमा परिणत गरि आफ्नो अर्थ उपार्जनका लागि गाउँपालिकाले प्रवद्र्धन गरेको हो, अध्यक्ष साउदले भने,‘विगतमा एक किलो भटमासले २ किलो नुन दिने चलन रहेको थियो तर अहिले यो कार्यक्रमले एक किलो भटमासले तीन किलो नुन दिने बनाएको छ भने किसानलाई आफ्ना अन्नबालीको मुल्य भन्न सक्ने बनाएको छ।’ गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक कोदो किनेर सहयोग गरिदिन हुन अध्यक्ष साउँदले आग्रह गरेका छन।

गाउँपालिका भित्रका किसानले फलेर (केलाएर) ल्याएको कोदो बराबर चामल साटेका थिए। चौरपाटी गाउँपालिकाले कैलाली ल्याएको अर्गानिक कोदो प्रतिकिलो ४५ रुपैँयाका दरले किन्न पाईने भएको छ।गाउँपालिकाले गाउँमै आएर होलसेल किनेमा प्रतिकिलो ३५ रुपैयाँ, धनगढीमा होलसेल किने ४० र फुटकर किन्नेका लागि ४५ रुपैयाँ रहेको बताईएको छ। चौरपाटीको कोदो धनगढीको कैलाली मोडल स्कुल नजिक र जय पतंन्जली आरोग्य केन्द्र अत्तरियामा गाउँपालिकाको छापसहितको फलेको कोदो विक्री वितरण सुरु गरेको छ।

बजारमा विक्रिको लागि ५ किलो, १० किलो र १५ किलोको प्याकमा कोदो आएको छ।गाउँपालिकाको केन्द्रबाट होलसेलमा कोदो खरिद गर्न चाहनेको लागि प्रतिकिलो ३५ रुपैँया तोकिएको छ भने धनगढीमा होलसेल किन्न चाहानेका लागि भने ४० रुपैँया र फुटकरमा किन्नेलाई प्रतिकिलो ४५ रुपैयाका दरले मुल्य तोकिएको गाउँपालिकाका अध्यक्ष साउदले बताए।गाउँपालिकाले यो कार्यक्रमले कोदो उत्पादनमा उल्लेखनीय वृद्धि आउनुका साथै किसानको आर्थिक स्तरमा पनि सुधार हुने गाउँपालिकाले विश्वास लिएको छ।

गाउँपालिकाले अहिले २०० क्वीन्टल कोदो चामलसँग साटेर जम्मा गरेको जनाएको छ। कोदोको माग बढ्दै गएपछि गाउँपालिकाले नेपालगन्ज, पोखरा र काठमाडौंसम्म पठाउने अगामी योजना बनाएको छ। चौरपाटी गाउँपालिको २०७५ को सर्वेक्षण अनुसार बार्षिक १० हजार ३ सय २० क्वीन्टल उत्पादन हुने गरेको छ। गाउँपालिकाले कोदो कै प्रवद्र्धन गर्नका लागि गत बर्ष असार १६ गतेलाई कोदो दिवसकै रुपमा पनि मनाएको थियो।यो वर्ष भने कोरोनाका कारण मनाउन सकेन।

स्वास्थ्यका लागि फाइदाजनक

कोदोबाट मानव स्वस्थ्यका लागि आवश्यक पर्ने पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ। स्वास्थ्यका लागि बहुउपयोगी भएकाले सहरी क्षेत्रमा यसको माग बढेको हो। स्वास्थ्य विज्ञका अनुसार मधुमेहजस्ता रोगका विरामीहरुका लागि कोदो निकै हितकर हुन्छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने हुदाँ कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ।

कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका विरामीहरुको लागि पनि उपयुक्त वालीको रुपमा कोदोलाई लिईन्छ। मानव स्वास्थ्यका लागि अत्यावश्यक आइरन र विभिन्न भिटामिन कोदोमा पाइन्छ। आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणलगायतका समस्या बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार उपयोगी मानिन्छ।