डोटी-शैलेश्वरी मन्दिर

0

कैलाली-सात बहिनी भगवतीमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको सदरमुकाम सिलगढीमा छ। शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो। यहाँ दिनहुँजसो पूजाआजा गर्नेको घुइँचो लाग्दछ। यो मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माको दिनमा मेला लाग्ने गर्छ।

त्यो मेलामा विभिन्न ठाउँबाट हजारौं श्रद्धालु भक्तजनहरु आउने गर्छन्। यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्ट बताउँछन्। दर्शनका लागि देशभरकै भक्तजन आउने गरेको उनी बताउँछन्।

यहाँ प्रत्येक बाह्र वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्दछ। एक सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । महायज्ञमा देश विदेशमा रहेका लाखौं भक्तजनहरु आउने गर्छन्। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ।

शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन्। जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर, र चण्डेश्वरी मन्दिर रहेका छन्।शास्त्रमा उल्लेख भएअनुसार कैलाशपति महादेव र हिमालय पुत्री पार्वतीको स्वयम्बर भएपश्चात् विहार गर्ने सिलसिलामा वन वनावर सयर गर्दै चन्दनगिरी पर्वत अर्थात सिलगढीमा पुग्दा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्वत थियो। अलौकिक रमणीय, हरियाली, रंगीचंगी थरी थरीका फूलहरु, चराहरुको चिरबिरले वातावरण संगीतमय पारेको थियो।

शिव पार्वती यसले मोहित भए र प्रणयमा रमाउन थाले। उता महादेवबाटै कसैले मार्न नसक्ने बरदान पाएका राक्षस तारकासुरले देवलोक तथा पृथ्वीलोकमा आतंक मच्चाउँदै थिए। उनको आतंकबाट पीडित ऋषिमुनि तथा देवताहरु महादेवको खोजी गर्दै चन्दनगिरी (सिलगढी) आइपुगे। त्यो बेला शिवपार्वती एकाकार भई प्रणयमा लीन थिए।

सोही बेला एकाएक ऋषिमुनि तथा देउताहरु आएपछि पार्वती लाजले शिलामा लुप्त भइन्।त्यसपछि शिवले ऋषि तथा देवतालाई पार्वतीको प्रार्थना गर, भन्ने ईशारा गर्दा उनीहरुले प्रार्थना गरे। प्रार्थनाबाट पार्वती प्रशन्न भई आफ्नै रुपमा प्रकट भइन्।

ऋषि तथा देवताहरुको मनोकांक्षा पूरा होस् भनी बर दिइन् । यसैपछि सो स्थानमा शिव शक्ति स्वरुपा शिवलिंग उत्पत्ति भयो। पार्वती शिलामा परिणत भएकाले जसको नाम शिलादेवी तथा शैलमा सयर गरेकोले शैलेश्वरी रहन गयो । यसैको नामबाट सो ठाउँको नाम पनि सिलगढी रहन गएको किम्बदन्ती छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here