नेपाली काँग्रेसले आफ्नो ‘कार्ड’ राम्रोसँग ‘प्ले’ गरे नेपालबाट कम्युनिजम समाप्त हुन्छः महामन्त्री शशांक कोईराला

0

कैलाली-नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले काँग्रेसले आफ्नो कार्ड राम्रोसँग ‘प्ले’ गरे नेपालबाट कम्युनिजम समाप्त भएर जाने बताएका छन्। नेपाली काँग्रेस कैलालीले शनिवार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले अव कम्युनिष्टहरु विश्वबाट नै पलायन भएर गएकाले नेपालबाट समाप्त गर्नका लागि काँग्रेसले एक जुट भएर उभिन समेत कार्यकर्तालाई आग्रह गरे।

उनले आउँदो निर्वाचनमा नेपाली काँग्रेसलाई कसैले पनि पराजित गराउन नसक्ने ठोकुवा गरे। बैशाखमा निर्वाचन भए नेकपा हार्ने निश्चित छ, त्यसैले ओलीले आफु हार्ने निर्वाचन गराउँदैनन्, महामन्त्री कोईरालाले भने, ‘बैशाख १७ र २७ मा तोकिएको निर्वाचन असम्भव छ। अहिले कम्युनिष्ट पार्टी फुटेको छैन। दुई टुक्रा भएको छैन। काँग्रेसले चुनावमा जाने हो आन्दोलन गर्ने त्यो दोधारमा बस्नुहुदैन।’महामन्त्री कोईरालाले गिरीजा प्रसाद कोईरालाले २०६४ मा सम्पन्न संबिधान सभा निर्वाचन काँग्रेसले हार्ने थाहा हुँदा हुदै पनि सम्पन्न गराएको स्मरण गर्दै महामन्त्री कोईरालाले भने,‘गिरीजाबाबुले काँग्रेसले निर्वाचन हारे पनि देश हार्नु हुदैन भनेर निर्वाचन गराए तर कम्युनिष्टहरु देश भन्दा आफुलाई प्राथमिकतामा राख्छन, त्यसैले ओलीले बैशाखमा निर्वाचन गराउँदैनन्।’

अहिले पनि नेकपा औपचारीक रुपमा फुटिनसकेको बताउँदै कोईरालाले अदालतमा चलिरहेको मुद्धा, नेकपाको आधिकारीकताको कुरा लगायतका कारण पनि बैशाखमा चुनाव सम्भव नदेखिएको उनले उल्लेख गरे।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गरेर संबिधान कुल्चीएको बताउँदै महामन्त्री कोईरालाले संबिधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने उल्लेख गरे। कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोईरालासंगै केन्द्रीय सदस्य दिपक गिरी, बद्री पाण्डेको पनि सहभागिता रहेको थियो।

उनीहरुले पनि संबिधानको रक्षाका लागि काँग्रेसले आन्दोलन गर्नुपर्ने बताए। सो अबसरमा जिल्ला स्तरका नेता तथा कार्यकर्ताले केन्द्रीय नेतृत्वले काँग्रेस निर्वाचनमा जाने हो वा आन्दोलनमा जाने हो स्पष्ट पार्नु पर्ने बताएका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here