कञ्चनपुर- नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपैया राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपैयाँ राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुबाट निवेदन आह्वान गरेको छ। यसैगरी एक लाख रुपैयाँ राशीको नै उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ।
पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपी वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ।
पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी फेब्रवरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्ने बताएको छ। इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए।
पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफुलाई उत्कृष्ट लागेका तीनवटा समाचारहरुलाई प्रतिश्प्रर्धाका लागि लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले बनाएको छ। गत वर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र बाजुराका प्रकाश सिंहले प्राप्त गरेका थिए।
इञ्जाले पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस info@innja.org, injaglobal@gmail.com इमेलमा पठाइदिन समेत आह्वान गरेको हो।