कैलाली-तराईका भूमिपुत्र थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसंग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । मघौटा, धमार, झुम्रा नाचमा रमाएर हर्ष उल्लासका साथ थारु जातीले मनाउने माघी तथा नयाँ बर्ष सुरु हुँदा थारु समुदायमा उल्लास छाउन थालेको छ । काम विशेषले बाहिर रहेका थारु समुदाय जन्मथलो पुग्नथालेका छन्। नयाँ बर्ष तथा माघीलाई भव्य बनाउन ‘जीता’ (बंगुर)को उचित व्यवस्थापन अहिले घरघरमा भइरहेको छ।
बिवाहित थारु चेलीलाई ‘निश्राउ’ ले माइतीघरमा आकर्षित गरिरहेको छ। पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु लगभग सकिएको छ। ‘अबत रमाइलो गर्ने मात्रै हो’ धनगढी उप–महानगरपालिका–१६ भादाका वडा अध्यक्ष लक्ष्मी चौधरीले भने–‘माघी र हाम्रो नयाँ बर्षको सवै तयारी सकिएको छ, नयाँ बर्ष र माघीमा रमाइलो गर्दै खुशीयालीमात्रै बाड्न मात्रै बाँकी हो, त्यो दिनको पर्खाइ हो अबत। माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको छ।’
यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको उनले बताए। माघीमा पाहुना धेरै हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवती व्यस्त हुने गरेका छन्। थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको धनगढी–३ का चेतराम चौधरीले बताए।
पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो बर्षको अन्तिम दिनका रुपमा मनाउने गर्दछन् । पुरानो बर्षको विदाई स्वरुप पुसको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माधब चौधरीले बताए । ‘जीता’ को प्रसाद संगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ।
‘माघे सक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ। अगुवा चौधरीका अनुसार विशेष स्नान पछि विवाहीत छोरी चेलीलाई ‘निश्राउ’ (चामल, नून, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ । थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् ।
नयाँ बर्ष र माघी पर्वलाई विशेषरुपमा मनाएको दोश्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघीदिवानी ९विशेष छलफल० गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा वा गुरुवा भनिन्छ । उनिहरुले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका कामहरु गर्ने गर्दछन् ।
भल्मन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यती मात्र हैन राजनीतिमा पनि उनिहरुको महत्वपूर्ण भूमीका हुन्छन । निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरुले दिने निर्णयनै आधिकारिक हुने भएका कारण सवैदलले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।
थारु समुदायमा माघी पवै र नयाँ बर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भए देखी १०/१५ दिन सम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यामबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ ।
यद्यपि विश्वव्यापि कोरोना संक्रमणका कारण यस बर्ष भने थारु समुदायमा ठुला स्टेजका कार्यक्रम सञ्चालन भएका छैनन् । तर सामान्य अवस्थामा मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ ।
थारु कल्याणकारिणी सभाका कैलाली अध्यक्ष माधब चौधरीले युवाहरु व्यवस्त हुँदा घरघरमा गएर नाचिने नाच ओझेलमा परेको बताए ।