कैलाली- सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका कार्य गर्ने दुई वटा महत्वपूर्ण मन्त्रालय खाली छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेसंगै दुई मन्त्रालय खाली भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजित देखिएपछि प्रदेशमा दुई वटा मन्त्रालय खाली भएका हुन् ।
खाली भएका दुवै मन्त्रालय यस अघि ओली समूहका नेताले समालेका थिए।प्रदेशमा सात सदस्यीय मन्त्रिपरिषद् रहेको थियो। दुवै मन्त्रालय प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समालेका छन् । ।पठानसिंह बोहरा साबिकको एमालेका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री र मुख्यमन्त्री त्रिलोचन भट्ट पनि साविकको माओवादी केन्द्रका हुन्।
दुईजना मन्त्रीको पद खाली भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री बनाउन सकस परेको छ। समाचार स्रोतका अनुसार नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कलबहादुर रावल, केही दिनअघि मात्रै कारवाही फुकुवा गरिएका प्रदेश सभा सदस्य दीर्घ सोडारी, पूर्णा जोशी मन्त्रीका आकांक्षी छन् । दार्चुलाबाट निर्वाचित मानबहादुर धामी पनि रुष्ट छन्।
उनी पनि मन्त्रीको आकांक्षी छन् । तारालामा तामाङलाई प्रचण्ड-माधव समूहका भीम रावलले मन्त्री दिने आश्वास दिएको एक नेताले बताए। कञ्चनपुरबाट चुनाव जितेका उनलाई मन्त्री नबनाए अर्को विद्रोह हुने अनुमान प्रचण्ड–नेपाल समूहकै नेताहरूको छ।केही दिनअघि मात्रै कारवाही फुकुवा गरिएका प्रदेश सभा सदस्य दीर्घ सोडारी पनि आफ्नो मन्त्री पदको पुनर्बहाली र जिल्ला अध्यक्षको शपथ हुनुपर्ने भन्दै दौडधुपमा लागेका छन्।
वीरभान चौधरी भने मुख्यमन्त्रीको दाउ हेरिरहेका छन्।हिलेको अंकगणित अनुसार ५३ जनाको प्रदेश सभामा ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपाका छन् । नेकपाका ३९ जनामध्ये ओली पक्षमा ७ जना मात्रै खुलेका छन् । दाहल–नेपाल पक्षमा ३० जनाको बहुमत रहेको उनीहरुको दावी छ।
नेकपा विभाजनपछि सरकार गिराउने र बचाउने खेल तीव्र भएको वेला सुदूरपश्चिम प्रदेश सरकारको कामकारवाही प्रभावित बनेको छ। नेकपा विभाजनको असर सरकारको कामकारवाहीमा मात्र होइन, विकास निर्माणमा पनि परेको छ ।सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुँदा प्रदेश र स्थानीय तहमा विकास निर्माणका कामभन्दा समूहगत भेला र गुटका बैठकमा सहभागि हुन हानथाप चलिरहेको छ ।