शीतलहर बढ्न थालेपछि टीकापुरमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण

0

टीकापुर- कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न सुरू गरेको छ।

सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो। प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ।

शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए। ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उनले भने, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ। साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पुऱ्याउन थालेका छौँ।’’

दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन्। ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए। ‘‘चिसो बढेको छ। यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले भने, ‘‘अब आगो तापेर बस्न पाइने भयो।’’

एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। विसं २०४८ मा स्थानीयले संरक्षण सुरू गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको थियो।

सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ। हाल सत्ती वनसँग जोडिएका अन्य तीन वटा प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन्।

सामुदायिक वनले वर्षेनी एक हजार २०० क्वीनटल बेत उत्पादन गर्छ। यसरी उत्पादन गरेको बेत बिक्रीबाट आएको रकमले सामुदायिक वनले सामाजिक कार्य गर्दै आएको छ। सामुदायिक वनको १४५ हेक्टरमा बेत वन रहेको छ। सामुदायिक वन कर्णाली नदीको बगरलाई संरक्षण गरेर निर्माण गरिएको हो।

वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्र्याक्टर खरिद गरेको थियो। यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। त्यसक्षेत्रका नागरिकलाई एम्बुलेन्स सेवा पाउन कठिन भएपछि वनले पुनः एम्बुलेन्स सेवा सुरू गरेको छ।

यसैगरी गृहणीलाई पैचो बाख्रा कार्यक्रम पनि वनले सञ्चालन गरेको छ। बेतकै आम्दानीले वनमा वनभोजस्थल निर्माण गरेको छ भने, पर्यटकलाई डुङ्गा शयरका लागि पोखरी निर्माण गरेको छ।

‘‘वेत वन भनेर चिनिने सत्ती कर्णाली सामुदायिक वनले विगतमा थुप्रै सामाजिक काम गरेको छ, वगर र उजाड भइसकेको वनलाई स्थानीयले संरक्षण गरेर हराभरा बनाएका हुन्’’, वन समितिका पूर्वसचिव शेरबहादुर साउदले भने, ‘‘अप्ठ्यारोका सारथीका रूपमा यहाँ वन स्थापित भएको छ।’’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here