कैलाली-धनगढी-अत्तरिया ६ लेन सडक साढे तीन बर्ष वित्दा अझै पुरा हुन सकेको छैन। दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने भएपनि तीन बर्ष वितिसक्दा पनि अझै पुरा हुन नसकेको हो। निर्माण कम्पनीले एक अर्ब २३ करोड भुक्तानी लगिसकेको छ। कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक निर्माणको कामले थपिएको म्यादमा पनि पूर्णता पाउन सकेको छैन। थपिएको डेढ वर्षमा पनि गति लिन सकेको छैन। साढे तीन वर्ष बितिसक्त्दा पनि ८० प्रतिशत मात्रै काम भएको छ।
यो सडकको पहिलो खण्डमा थप गरिएको डेढ वर्षको अवधि ६ मंसिरमा सकिएको छ । दोस्रो र तेस्रो खण्डमा पनि २० महिना थपिएको समयावधि १५ माघमा सकिँदै छ । तर, अहिलेसम्म समग्र भौतिक प्रगति ८० प्रतिशत मात्र भएको आयोजना कार्यालयले जनाएको छ। दोस्रो र तेस्रो खण्डको काम पनि थप गरिएको अवधिमा सम्पन्न हुन नसक्ने देखिएको आयोजनाका इन्जिनियर लक्ष्मण रावलले बताए ।
अहिले पहिलो र दोस्रो खण्डमा ८५ प्रतिशत तथा तेस्रो खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ‘हालसम्मको प्रगति हेर्दा ६ लेनको काम पूर्ण हुन अझै केही महिना लाग्ने देखिन्छ,’ इन्जिनियर रावलले भने, ‘काम अधुरै रहेकाले म्याद थपको प्रक्रिया अगाडि बढेको छ ।’
धनगढी–अत्तरिया १४.२ किलोमिटर सडकअन्तर्गत पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर, दोस्रो खण्ड बोराडाँडी–गेटा साढे चार किलोमिटर र तेस्रो खण्ड गेटा–अत्तरिया छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । अझै सडक कालोपत्रेको काम नै भईरहेको छ।
सडकछेउमा रेलिङ राख्ने काम पनि अधुरै छ। नालीसहित दुई मिटर चौडा फुटपाथ र न्यूनतम साढे तीन मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने सम्झौता छ। तीनै खण्डमा पहिलो चरणको कालोपत्रेको काम सम्पन्न भए पनि दोस्रो चरणको कालोपत्रेको काम आधा मात्र सकिएको इन्जिनियर रावलले बताए ।
दुई चरणमा गरेर १० सेन्टिमिटर मोटाइको कालोपत्रे सडक बन्दै छ । ६ सेन्टिमिटर मोटाइको कालोपत्रेको काम सम्पन्न भएर अहिले दोस्रो चरणमा चार सेन्टिमिटर मोटाइको कालोपत्रे थप्ने काम भइरहेको छ । फुटपाथ र सर्भिस लेन निर्माणको काम पनि सुस्त छ । तीनवटै खण्डको काम दुई वर्षभित्र सक्ने सम्झौता थियो ।
दुई वर्षमा सक्नुपर्ने काम साढे तीन वर्षसम्म पूरा नभएपछि निर्माण कम्पनी पुनः म्याद थपका लागि दौडधुपमा लागेका छन् । तीनवटै खण्डमा काम गरिरहेका निर्माण कम्पनीले म्याद थपका लागि आयोजना कार्यालयमा निवेदन दिएका छन् ।