मिलिजुली गरौं संविधानको दाह संस्कार !

0

जेपी गुप्ता

पौष २७ गते “राष्ट्रीय एकता दिवस” को घुमधाम छ। तेस दिन काठमांडू तिर ठुलै दुन्दुभि बज्ने छ। यसको कुनै दु:ख छैन। संविधान त खतम भयो नै! उ बेला “गोरू ब्याउदैन” भन्ने कुरा हामीलाई लखेटी लखेटी लाश बनाउँदा पनि भनेकै हौं। अब यो संविधान हरामी हुदाँ हामी किन रूनु। सधैं संविधान मरोस् भनी कामना गर्ने “जसपा बहादुर” हरू अहिले यसको पुनर्जीवनको बेहुदा नाटक मंचन गरिरहेको छ।

यो निष्ठाविहीन नाटकमा “कालोवर्ण” किन आत्मरति गर्नु? पृथ्वी नारायण शाह इतिहासका आदरणीय पात्र हुन। यिनीलाई प्रतिगमणको मुखुण्डो किन बनाउने? ज्ञानेन्द्र शाहले पंचायतको बत्तीस बर्ष तथा आफ्नो अधिनायकत्वको दुई बर्ष भित्र भएका-गरिएका जनहत्या तथा नागरिक हक अपहरणको जिम्मेवारी लिन तयार छैनन्।

वर्तमान शासकीय बेथितिको तुवाँलोमा राष्ट्रवादी जलप चम्काउन चाहन्छन्। पटक पटक भारत पुगेर योगी आदित्यनाथ जस्ता पाखण्डीहरू र तेहाँ आठ दशक अघि “राज्य र प्रिवीपर्स” गुमाएका पूर्व सामन्तिहरूकोमा आशिर्वाद थापेर नेपालमा कुन जनपक्षीय शासन जन्माउन चाहन्छन्-भनोस् न जनतामा? देओस्-उसले सोचेको शासकीय संरचनाको स्वरूप? तेसमा उ कहाँ हुनेछन् र दलहरू कहाँ हुनेछन्-भनोस्! बत्तीस बर्षसम्म नंग्रा-दारा भएको राजतन्त्र पनि थियो र राज्यपोषित धर्मान्ध शासन पनि थियो।

नारायणहिटी फोडनका लागि जनता उम्लिंदा किन स्पष्टीकरण दिन सकेनन्? यदि भारतले नै राजा फालेको हो भने डा. कर्ण सिंहले राजा र संसदको “टु पिलर” को प्रस्ताव “साउथ ब्लक” बाट ल्याएका थिए कि शंकराचार्यका कांचिकामाकोटी पीठबाट? के आज यस तथ्यको हेक्का राखिन्न कि यदि तेस दिन सात दलका नेताहरूले डा. कर्ण सिंहको प्रस्ताव मानेको भए तिनीहरू सबै २०४७ सालमा टेकुमा कुटीकुटी मारिएका ८/९ जना प्रहरीको हबिगत भोग्नु पर्ने थिएन? के गिरिजा प्रसाद कोईराला समेत सबै “लिंचिंग” अपहननमा पर्ने थिएन? अहिलेका विभ्रमित जनता तेस बेला शक्तिहीन थिए त?

यसर्थ, पूर्व राजा तथा उनका पक्षपोषण गर्ने सबैले भावी राजनीतिक संरचनाको खाकाका साथ, शासकीय संरचनाका चरित्रका साथ आए हुन्छ। पृ्थ्वी नारायण शाहलाई आन्दोलनको झण्डा बनाईनु हुन्न। पृथ्वी नारायण शाहलाई सके विवादबाट अक्षुण्ण राखे हुन्छ। म फेरी पनि भन्छु। यो संविधान समाप्त भयो। अब यसको रक्षा हुन सक्दैन। म यस संविधानको रक्षा गर्छु भनी भन्नेहरू इतिहासमा वाराणसी वा काशीका ती पण्डा सरह हुन-जो दालमंडीमा रण्डीसंग देहखुख भोग्दथे र फर्किदा बिश्वनाथको दर्शन गरेर घर पुग्दथे। त्यो नृशंस पाखण्ड थियो। संसदको विघटनपछि मुलुकमा केही नयाँ विमर्श जन्मेको छ।

के अब संविधान पूर्वरूपमा कायम रहन सक्छ? के अब यस संविधानको संवैधानिक शक्ति वा कौमार्य जोगिन सक्छ? के यस संविधानको फेससेभका लागि संघीयताको समाप्तिलाई स्केपगोट बनाईदैछ? आज राष्ट्रवाद थिलथिलो पारिएको अवस्थामा मुलुकका राष्ट्रवादी अभियन्ताहरूले भावी सरकारको निर्माणमा खुला बैदेशिक दखलअन्दाजीलाई रोक्न सक्ने हैसियत राख्दछ? के आजको थुतुनोबाट मधेस, आदिवासी जनजाति, दलित तथा अन्य बहिष्कृतहरूले आफ्नो आवाज पनि निकाल्न सक्नेछन? यद्यपि, यसका लेखनबाज जवाफका बावजूद पनि यो संविधान जोगिने छैन।

तसर्थ, समय रहदै सोचौं! चार प्रश्नको जवाफ विचारी राख्नोस्:

१) संविधान समाप्तिको विधि सम्मत बाटो के हुने हो?

२) अब फेरी नयां संविधान बन्ने बाटो कुन हुने हो?

३)कुन शासकीय संरचनामा सहमति बन्नेछ/हुनेछ?

४)संधीयता समाप्त पारेपछि स्टेक होल्डरहरूलाई मथ्थर पार्न सत्ताबाट पुन: दमन कै पुनरावृति गर्ने कि कुनै अरू बाटो छ? अनि गर्नोस्-संविधानतो दाह संस्कार!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here