देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

0

काठमाडौ- आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन्। देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन्। कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास समितिले आग्रह गरेको थियो।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताए। उनले आएका भक्तजनका लागि बिजुलीबत्ती, पानी र सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए। सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उनले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिएको बताए।

बालाचतुर्दशीका दिन प्रत्येक वर्ष देवघाटमा सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। यहाँ सतबीज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए। उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here