कञ्चनपुर – कोभिड १९ को संक्रमणका कारण ९ महिनादेखि बन्द भएको पठन पाठन सुचारु हुन थालेका छन् । कञ्चनपुरका सबै स्थानीय तहले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्न लागेका हुन् ।

जिल्लाका नौ वटै स्थानीय तहले विभिन्न मितिमा पठन पाठन सुचारु गर्ने निर्णय गरेका छन् । उनीहरुले विद्यालय र अभिभावकसंग छलफल पश्चात पठनपाठन सुचारु गर्ने निर्णय गरेका छन् । सरकारले तोकेको कार्यढाँचाभित्र रहेर विद्यालयले जोर विजोर कक्षा, साँझ बिहान दुई सिफ्टमा लगायतका विभिन्न विकल्पहरु पेश गरेर सोहि अनुसार पठनपाठ हुन लागेको हो ।

भीमदत्त नगरपालिकाले मंसिर १६ गतेदेखि नै पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीका अनुसार मंगलबारदेखि नै विद्यालयमा पठनपाठन सुचारु भईसकेको छ । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठ सुचारु गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यहि अनुसार केहीले पठनपाठन सुरु गरिसके, केही गर्ने तयारीमा छन् ।’

बेदकोट नगरपालिकाले पनि मंसिर १७ गतेदेखि २१ गतेभित्र सबै विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको कार्यढाँचाभित्र रहेर सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले बताए । उनले त्यहि अनुसार आजैदेखि पठनपाठन सुचारु हुन लागेको बताए ।

‘बेदकोट नगरपालिका भित्र सबै विद्यालयमा २१ गतेभित्र पठनपाठन सुरु हुने छ,’ उनले भने, ‘विद्यालयले अभिभावकसंग सल्लाह गरेर विभिन्न कार्यढाँचा पेश गरेका छन्, त्यहि अनुसार सञ्चालन गरिरहेका छन् ।’ उनले विद्यार्थीहरुका लागि पहिलो चरणमा मास्क, सेनटाइजर र थर्मल गन नगरपालिकाले उपलब्ध गराउने छ । तर त्यसपछि पनि विद्यालय र अभिभावकले व्यवस्थापन गर्नपर्ने बताए ।

गत साता शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा नौ वटै स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरुको सहभागितामा वैठक बसेको थियो । उक्त वैठकमा पठनपाठन सुचारु गर्ने र स्वास्थ्य सुरक्षाका लागि अपनाइने मापदण्डका विषयमा छलफल भएको थियो ।

यसअघि जिल्ला प्रशासनयले पनि विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि निषेधागा खुकुलो पारेको थियो । सोमबार निषेधागा खुकुलो पार्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयम पठनपाठ सुचारु गर्न सक्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here