महेश्वर पाठक

अहिले नेकपा आन्तरिक विवादमा रुमल्लिएको छ। जनताले दिएको यति ठूलो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुपर्नेमा त्यसो भइरहेको छैन। यस्तो वेला मलाई भने कमरेड मदन भण्डारीको याद आइरहेको छ। जसले गर्दा म राजनीतिमा आएको थिए भने कम्युनिस्ट पार्टीलाई जनताको पार्टी बनाउने अभियानमा भूमिका खेलेको थिए। म मदनबाटै प्रभावित भएर कम्युनिस्ट पार्टीमा लागेको हो। वि.सं. २०४५ सालमा मालेमा सहभागी भए र सक्रिय राजनीतिमा लागे। त्यो वेला भूमिगत काल थियो। सबै भूमिगत भएर बस्नुपथ्र्यो। कहिलेकाही मिटिङ हुन्थ्यो, त्यतिवेला सबैको भेटघाट हुन्थ्यो।

२०४६ सालमा आन्दोलन भयो। पार्टी खुल्ला भएपछि वामदेव गौतम सुदूरपश्चिम आए। त्यतिवेला म नगर कमिटीमा थिएँ। वामदेवले मलाई ‘तपाई जस्तो मान्छे यसरी विद्यालयमा अल्झेर हुँदैन, खुरुक्क छाडेर आइहाल्नुहोस त। अव सक्रिय राजनीतिमा लाग्नुहोस्’ भने।त्यतिवेला नेता भनेपछि अहिलेको स्थिति जस्तो थिएन, केही सोचिन्थ्यो। धेरै कुरा गरिन्थ्यो। नेताले भनेपछि प्रिन्सिपलबाट राजीनामा दिएर सक्रिय रुपमा काम गर्न थाले।२०४८ सालमा चुनाव भयो। पार्टीले उम्मेदार बनायो। आकांक्षीहरु अरु पनि धेरै थिए। उम्मेदवार चयन गर्ने ब्युरो बैठकमा वामदेव कमरेडले ‘पाठक उम्मेदवार छ’ भनेछन्। त्यसपछि मेरो नाममा निर्णय भएको थियो।

२०४८ सालमा देशव्यापी रुपमा कांग्रेस विजयी भयो। तर, यो क्षेत्रमा भने कम्युनिस्टले सम्मानित मत ल्याएको थियो। त्यतिवेला स्थानीय चुनाव भयो। कम्युनिस्टले कैलालीमा चार ठाउँ विजय प्राप्त गरेको थियो। अन्य सबै कांग्रेसले जित्यो। कैलालीमा पहिलो जिल्ला सभा उद्घाटनका लागि शेरबहादुर देउवा आएका थिए। धनगढीस्थित खाद्यको गोदाममा बैठक बसेको थियो। कांग्रेसले जितेकाले नेता कार्यकर्ताको उस्तै भिड थियो। सम्बोधनका लागि देउवा आउने भएपछि त्यतिक्कै हाइहाइ भइहाल्यो। तत्कालीन एमाले पार्टी प्रमुखको हैसियतले बोल्नुपर्ने भयो।

त्यहिदिन मदन भण्डारी र जिवराज आश्रत धनगढी आएका रहेछन्। मलाई त्यो थाहा थिएन। एमाले पार्टी कार्यालय नयाँ रोडमा रहेको थियो। मदनसँगै जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पनि धनगढी आएका थिए। पत्रकारको रुपमा उनी जिल्ला सभामा बसेका थिए। उनले मेरो भाषण सुनेका रहेछन्। त्यतिवेला सभामा एमालेबाट तीन–चार जना मात्रै थिए। अरु सबै कांग्रेस थिए। भाषण गर्दैगर्दा तालि बज्यो। मैले बोल्ने वेला कांग्रेसले पनि तालि बजायो। हतपत किशोर श्रेष्ठ बाहिर निस्केर मदन भण्डारीलाई पाठक कमरेडले कमाल गरिदिनुभयो भनेर सुनाएका रहेछन्।

म भाषण सकेर पार्टी कार्यालय आएँ। मदन कमरेडले बोलाउनुभयो। उहाँले ‘त्यहाँ के कमाल गर्नुभयो? मलाई भन्नुहोस’ भन्नुभयो। त्यहाँ बोलेको कुरा धेरै याद भएन। एउटा कुरा थियो, ‘पूर्वपञ्चहरु कांग्रेसमा प्रवेश गरेकाले देश कांग्रेसमय भएछ। उतिखेर बीपी कोइरालालाई फाँसी दिनपर्छ भनेर हस्ताक्षर गर्नेहरु अहिले कांग्रेसका धर्मगुरु भएका रहेछन्’ भनेर बोलेको थिए। त्यो कुरा सभामा रहेका धेरैलाई चित्त बुझेको रहेछ। पुराना कांग्रेसीहरुले ताली बजाएका थिए। त्यही कुरा किशोर श्रेष्ठले रिपोर्टिङ गरेर मदनलाई सुनाएका रहेछन्। अनि त मदनले मसँग धेरै कुरा गरे। सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्के। त्यसपछि सुदूरपश्चिममा तत्कालीन माले पार्टीको जग बनेको हो।
कमरेड मदनको स्वभाव कम बोल्ने थियो। सटिक कुरा गर्नुहुन्थ्यो, अरुका कुरा धेरै सुन्नुहुन्थ्यो। कुनै पनि व्यक्तिलाई कन्भिन्स गर्ने अद्भुत क्षमता थियो।

त्यसपछि मदन कमरेडसँको स्मरणी भेट अर्को महेन्द्रनगरमा भयो। सेती महाकालीको संयुक्त प्रशिक्षण महेन्द्रनगरमा थियो। सिचाई गेस्ट हाउसमा बस्ने प्रबन्ध मिलाएको थियो। जिवराज कमरेड कुराकानी गर्नुहुन्थ्यो भने मदन कमरेड सुनिराख्नुहुन्थ्यो। त्यतिवेला कैलालीमा १३ जनाको जिल्ला कमिटी थियो। म सचिव थिए। त्यो प्रशिक्षणमा मदन कमरेड बोल्नुभयो। बोल्दा पनि भाषण गरेजस्तो । उहाँको एउटा अनौठो बानी रहेको थियो, भाषण गरेपछि चुरोट पिउने। त्यो राति म पनि सिचाईको गेस्ट हाउसमै बसेको थिए। मदनलाई राति चुरोट पिउने मन लागेछ। रातको समय पसल नजिक थिएनन्।

गोविन्द कोइरालालाई मैले खान्नु भन्ने थाहा थिएन। तर, म खल्तीमा राखिराख्नु भन्ने थाहा थियो। उनले जिवराज कमरेडलाई भनेछन्। त्यसपछि जिवराज कमरेडले चुरोट छ कि भनेर सोधे। मदन कमरेडले चुरोट खोजिराख्नु भएको छ भने। म चुरोट खान्छु भन्ने धेरैलाई थाहा थिएन। विद्यार्थी कालमा लागेको बानीले कहिलेकाही लुकेर पिउथे। नभन्दै त्यो दिन दुई खिल्ली चुरोट खल्तीमा भेटियो। त्यसपछि मैले आइडिया लगाए, जिवराज कमरेडलाई चुरोट दिइन्। मदन कमरेडसँग कुराकानी गर्न चुरोट दिन गए। त्यतिवेला पत्रपत्रिकामा महाकालीमा ठगिएका छौं भन्ने बहस सुरु भएको थियो। मैले त्यहि मौकामा महाकालीको कुराकानी गरे। यहाँ पुगेको वेला एकपटक टनकपुर पुग्न आग्रह गरे।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको टनकपुर सन्धीबारे संसद्मा बहस चलिरहेको थियो। कांग्रेसले सन्धी होइन, सम्झौता हो भनिरहेको थियो। यसलाई संसदबाट पारित गर्नुपर्ने अडान लिएको थियो। नेपालको संविधानअनुसार, टनकपुरसम्बन्धी विषय प्राकृतिक स्रोत साधन हो। यसलाई सदनबाट पारित गर्नुपर्छ भनेका थिए मदनले। त्यसैले महेन्द्रनगर आएको बेला हेर्न जानुपर्छ भन्ने प्रस्ताव राखेका थिए। उहाँले खुशी हुनुभयो र टनकपुर पुग्नु भयो। टनकपुर निरीक्षणपछि मदनले भन्नु भएको थियो, ‘वास्तवमै बदमासी भएको रहेछ। अब हामी गम्भीर बन्नुपर्छ।’

मदनले महेन्द्रनगरबाट फर्किए लगत्तै केन्द्रीय कमिटी बैठक बोलाउनुभयो। बैठकबाट मदनले टनकपुर आन्दोलन आह्वान गरे। ‘महाकाली साझा हो, पानी आधाआधा हो’ भन्दै टनकपुर सन्धी खारेज गर्नुपर्छ, सम्झौता गर्नुहुँदैन भनेर देशव्यापी रुपमा आन्दोलन सुरु भयो। कैलालीमा पनि जुलुस निकालेका थियौं। त्यो आन्दोलनमा थुप्रै शहीद पनि भए। टनकपुर आन्दोलनका कारण जनमानसमा राष्ट्रवादी शक्ति भनेको एमाले रहेछ भन्ने स्थापित भयो। संगठन त कति बलियो थियो र ? त्यही आन्दोलनका कारणले २०५१ सालको मध्यवधी चुनावमा एमालेले धेरै ठाउँमा चुनाव जित्यो। कंग्रेसभित्र अन्तर विद्रोह र अर्कातर्फ टनकपुर आन्दोलनका कारण जनताको बीचमा हाम्रो पाटीको छिब निर्माण भयो। त्यसैले एमाले देशको ठूलो पार्टी बन्यो।

त्यतिवेला म पनि कैलाली विजयी भएको थिए। कैलालीमा एमालेले तीन ठाउँबाट जितेको थियो। म जिल्ला सचिव थिए। नेतृत्वमा भएकाले पनि गाउँगाउँ पुगेको थिए। त्यो चुनावमा पहिलो पार्टी बनेपछि पहिलो पकट कम्युनिस्ट सरकार बन्यो। मनमोहन अधिकारी प्रधानमन्त्री बन्नु भयो। त्यहि सरकारले जनपक्षीय काम ग¥यो। त्यो नौ महिने सरकारले गरेका काम अहिले पनि लोकप्रिय छन्। त्यसयता लोकप्रिय सरकार बन्न सकेका पनि छैनन्। त्यहि जगमा अहिले कम्युनिस्टले झण्डै दुई तिहाइ बहुमत पाएका हुन्। तर, यत्रो बहुमत पाएको सरकार र पार्टी आन्तरिक झमेलामा अल्झिरहेको छ। अहिले त उमेर र स्वास्थ्यका कारण पनि धेरै सक्रिय हुन सकेको छैन। अर्को, त्यति उत्साह पनि छैन। सोचेको जस्तो भएको छैन, सोझो मान्छेलाई राजनीतिमा कल्याण छैन जस्तो लाग्न थालेको छ।

अहिले म पनि केन्द्रीय सदस्य छु। पार्टी एकीकरण गर्दा एक–अर्कोमा विश्वास थियो, एकता थियो, भावना थियो, आर्दशका लागि लडेका थियौं, शक्ति पनि थियो। पार्टी ठूलो त भयो, तर गन्जागोल भएको छ। सोचे जस्तो पार्टी भएको छैन। यतिवेला पनि म मदनलाई सम्झिरहेको छु। यति ठूलो पार्टी, यति जनमत पाउँदा मदन हुन्थे भने देशको विकासको गति कस्तो हुन्थ्यो होला? देशभरका नेता तथा कार्यकर्ता कसरी उत्साहित भएर लाग्थेहोलान। तर, अहिले भने म मात्रै होइन, सबै नेता तथा कार्यकर्ता निराश छन्। अझ जनता निराश छन्। जनता निराश भएभने जस्तोसुकै शक्तिशाली पार्टी, व्यक्ति वा संस्था पनि ढलेका उदाहारण छन्, हाम्रै देशमा।
नेकपाका नेता पाठकसंग कुराकानीमा आधारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here