लोकेश साउद गत चैतको दोस्रो साता नेपालमा कोरोना महामारी बिरुद्ध पहिलो ‘एक्सन’को रुपमा ‘लकडाउन’ सुरु भयो । लकडाउनको बिषयलाई लिएर धेरैले अनुमान गरेका थिए ‘केही हप्ता वा महिनापछि अवस्था सामान्य भइजाला ।’ उतिबेला काठमांडौं बस्ने एक जनासँग मेरो फोन सम्पर्क भएको थियो । उनले भन्दै थिए ‘लकडाउन खुलेपछि नयाँ बर्षमा बैतडी आउछु ।’

लकडाउनको सुरुवातीमा मानिसहरु त्रसित थिए । कोरोना कमिलाजत्रै देखिएका बेला डर हात्तिजत्रै थियो । त्यसको सात महिनापछि कोरोना हात्तिजत्रै भएको छ । मानिसहरुको डर भने कमिलाजत्रो बनेको छ । सर्वसाधारण नागरिकले सडकमा निस्किने बित्तिकै लाठी पुलिसले लाठी बजाथ्र्याे । तर यतिबेला त्यही सडकमा सामुहिक गतिविधीहरु बिना रोकटोक चलि नै रहेका छन् । बाक्लो भीड छ । कसैले मास्क लगाएका छन् । कसैले लगाएका छैनन् । एक अर्कासँग सरोकारै नराखी मानिस र कोरोना आ–आफ्नै रफ्तारमा छन् ।

कोरोनाकालको सातौं महिना घर्किदासम्म यो महाभाइरसले राम्रै संजाल जमाइसकेको छ । एउटा संञ्चारकर्मीका हिसावले सुरुवातीका केही हप्तासम्म खबर सम्प्रेषणको क्रम केही सुस्त भयो । कोरोनाबारे धेरै कुरा थाहा पाउन बाँकी थियो । जसै आम जनजिवन कोरोनासँग अभ्यस्त हुँदै गयो, तसै हाम्रो नियमित रिपोर्टिङले पनि गति समात्यो ।
अनुहारमा मास्क, झोलामा सेनिटाईजर बोकेर हरेक ठाउँ जानैपर्ने । जान्न भन्दा पनि मनैले नमान्ने । वाध्यता भन्दा रहरैले खबरकर्मले निरन्तरता पाइरह्यो । यो बीचमा आम मानिसहरुले के सोच्दा रैछन भने ‘नचिनेका मानिसहरुमा कोरोना हुनसक्छ ।’ तर चिनजानका मानिसमा भने कोरोनाका सम्भावना कम देखिने । यो प्रबृत्तिले कसैलाई छोडेको थिएन ।

गत असोज १७ गते मन्त्री योगेश भट्टराईले पाटन बिमानस्थलको अवलोकन गरे । बिमानस्थलमा नमूना उडान भयो । म लगायतका केही संचारकर्मी मन्त्री भट्टराई र उनिसँगै हवाईजहाजमा आएकाहरुको ‘क्लोज कन्ट्याक’मै थियौ । केही दिनमा उनलाई कोरोना संक्तमण पुष्टी भयो । त्यसको केही दिन अघि हेलिकप्टरबाट दार्चुलाको उपल्लो क्षेत्रमा निस्किएको थिए । हेलिकप्टरमा सँगै, खाना खाने बेला पनि एकैसाथ बसेका एक जनामा कोरोना पुष्टी भएको थियो । एक मनले सोच्यो ‘पिसिआर गर्नुपर्छ ।’ अर्को मनले भन्यो ‘पिसिआर गर्नका लागि कुनै शंका लाग्नुपर्ने हुन्छ । वा कुनै सानैतिनै भएपनि लक्षण त देखिनुप¥यो ।’ शंकलाई कुरेर बसियो । त्यसपछि मात्रै पिसिआर ।

दिन बित्यो । हप्ता गयो । केही देखिएन् । दोगडाकेदारमा डोलोमाईड चट्टानको अध्ययनका लागि ड्रिलिङ भइरहेको थियो । ड्रिलिङपछि सिधै खानी उत्खनन्को चरणमा जान्थ्यो । त्यसको भिडियो रिपोर्ट कतै आएको थिएन् । लगत्तै त्यहाँ जाने सोच बन्यो । संयोगबस् संघिय सांसद दामोदर भण्डारी, प्रदेशसभा सदस्य लिलाधर भट्ट, पंचेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द लगायत हामी सँगै दोगडाकेदारतिर गयौं । मैले खानी उत्खननको सरकारी प्रयासबारे रिपोर्टिङ गर्नु थियो । साँझ दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको सरकारी निवासमा बसियो ।

भोलिपल्ट ड्रिलिङबारे रिपोर्टिङ गरेर सदरमुकाम फर्किइयो । त्यसको केही दिनमा प्रदेश सांसद लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भयो । हामी सँगसँगै थियौं । फेरि पिसिआर गर्नुपर्ने मन भयो । तर शरिरभित्र कोरोना पसेको कुनै शंका नभईकन के चेक गराउनु भन्ने लाग्थ्यो । फेरि शंकालाई नै कुरेर बसियो ।मन्त्री देखि प्रधानमन्त्रीका सल्लाहकारसम्म । डाक्टर देखि ठूल्ठुला भिभिआइपीसम्मलाई कोरोनाले छोप्दै गएका बेला फेसबुकमा एउटा स्टाटस फु¥यो । ‘एक न एक चोटी सबैको पालो पुग्छ, कुरो ढिलो चाँडोको मात्रै हो ह्यासट्याग कोरोना ।’ कार्तिक ३ गते लेखिएको थियो यो स्टाटस ।

त्यही दिन साँझ जपान पढ्ने भाई केशब बिष्टले मेसेन्जरमा फोन गरेको रहेछ । सोधे– ‘हिरो, कल गरेको हो?’ उसले जवाफ फर्कायो ‘नाई’ । पछाडि दुईवटा हाँस्दै गरेको इमोज पनि । मैले मिस्ड कलको स्क्रिन सट गरेर फेरि पठाए– ‘यो के रहेछ त?’ उ हाँस्यो र लगत्तै ‘टेक केयर दाई, कोरोना केयर प्लिज’ भन्यो । म जिल्ला परे । किन यस्तो भन्दै छ? ‘गज्जबले पढ्नु, युनिभर्सिटी टप गरेर मात्र नेपाल फर्किनु’ भनेर मैले मेसेज टाईप गरिनसक्दै उसको मेसेज फुत्त आइपुग्यो– ‘कोरोना समयको परोपकारी पत्रकारिता मार्फत गरिब, गुर्धाहरुको रिपोर्ट आओस, हर्सित हुन सकुन दर्सक ।’ उसले कुराको बिट मार्दै थप्यो– ‘११ः१३ भो दाई, बाँकी भोली बोल्छु, अब सुत्छु ।’ यता ८ बज्दै थियो । आइपिएलको म्याच सुरु भइसकेकाले थप कुरा केही नगरि उसलाई ‘गुडनाईट’ गरे ।

केशबले टेक केयर प्लिज भनेको दुई दिनपछि कार्तिक पाँच गते साँझतिर अरु दिनको भन्दा अलि जाडो अनुभव भइरहेको थियो । चिसोयाम सुरु हुँदै थियो । त्यो जाडो फिलिङलाई कोरोनासँग जोडेर हेर्ने कुरो भएन । दोस्रो दिन ६ गते जाडोवाला फिलिङसँगै शरिरले असजिलो अनुभव ग¥यो । कता कता श्वास लिन गाह्रोजस्तो पनि । तर ठ्याक्कै ठम्याउन सकिएको थिएन् । दिन ढल्दै जाँदा असजिलोवाला अनुभव बढ्दोक्रमा छ जस्तो लाग्दैथियो । अलि रुघा लागेजस्तो पनि भयो । एलर्जीका कारण रुघा सधै लागि नै रहन्थ्यो । तर एकचोटी सुतेपछि वा केही घण्टामा आफै निको भएर जान्थ्यो । अब भने अलिकति शंका गर्ने ठाउँले डेरा जमायो ।

दिउँसो ४ बजेर ७ मिनेट जाँदा बैतडीको पिसिआर ल्याव प्रमुख श्यामराज जोशीलाई फोन गरे । उनले ल्यावमा केही सामाग्री अभाव भएको बताउँदै आफू दशैं बिदामा घर जाने बताए । बैतडी अस्पतालको ल्यावमा १२ गतेपछि मात्र पिसिआर गर्न मिल्ने भन्दै यो बीचमा डडेल्धुराको ल्यावबाट काम चलाउने जानकारी उनले दिए । त्यो राती । सुत्ने बेला खुट्टा तात्तिदै थियो । सायद ज्वरो आएको हुन सक्छ । सानो छँदा एकचोटी ज्वरो आएको त थियो । तर त्यो सबै स्मरणमा थिएन् । मैले अहिलेसम्म ज्वरोको गतिलो अनुभव गरेको छैन् ।

अघिल्लो दिन हल्का लागेको रुघा दोस्रो दिन पनि उस्तै थियो । के चाँहि हो? केही यकिन गर्न सकिएन । केही महिनादेखि कहिलेकाँही दायाँ खुट्टाको कुर्कुच्चा टेक्दा दुख्थ्यो । बिहान दुखाई अली बढी हुन्थ्यो । बिस्तारै हराउदै जान्थ्यो । ‘रगत जाँच गराउनु’ कसैले मेरो कानमा भनेको थियो एक दिन । यही निँहुमा रगत जाँच गर्नुप¥यो भन्दै म अस्पताल हिडे ।

उहिल्यै देखिका मित्र चन्द्र डोवाल थिए त्यहाँ । उनलाई सम्पर्क गरे । उनको आज्ञा अनुसार रगत जाँच सुरु भयो । त्यो भन्दा अगाडि कोरोना शंकाको कुरा बताइसकेको थिए । उनले नाकमा सुईरो घुसाएर स्वाब निकालेर राखिदिएका थिए । करीब अढाई घण्टा लगाएर मेरो रगतको रिपोर्ट हातमा थमाए । त्यसमा बिभिन्न १७ प्रकारका चेकजाँच गरिदिएछन् । सबै सामान्य छ भने । त्यसपछि म डाक्टर खोज्दै एकछिन अस्पतालमा भौतारिए । तर भेट्टाईन् ।

एकछिनमा त्यही खेमराज भट्ट भेटिए । उनि सिनियर स्वास्थ्कर्मी थिए । केही बर्ष अघि भैसीले हुत्याएर आन्द्राभुँडी बाहिर निस्किएका एक ब्यक्ति अस्पतालमा आउँदा डाक्टरले केही गर्न नसक्ने भन्दै रेफर गरेका थिए । बाहिरको अस्पताल जान नसक्ने अवस्था देखिएपछि त्यो मान्छेको उपचार गर्न उनै खेमराज तम्सिएका थिए । आन्द्रभुँडी पेटभित्र राखेर बाहिरको छाला सिलाएपछि उनि निको भएर घर फर्किएको मैलै आफ्नै आँखाले देखेको थिए ।

उनि सिअहेब थिए । तर उतिबेला मलाई लागेको थियो अनुभवले एमबिबिएस डाक्टर जत्तिकै छन् । रगतको रिपोर्ट र कुर्कुच्चाको दुखाइबारे डाक्टरसँग सल्लाह लिने कुरो उनलाई सुनाए । ‘म दिउला सल्लाह त, त्यो पनि सित्तैमा’ भन्दै उनले मजाक गरे । उनीसँगै केही गफ, केही सल्लाह गरेर म कोठा फर्किए ।

त्यसपछि शंका लाग्ने खालको कोरोना संकेत केही पाईएन् । अवस्था सामान्य थियो । न रुघा, न खोकी । दशैं सुरु भइसकेको थियो । साथी भाइहरुले बसौं, रमाईलो गरौं भन्थे । कोरोना शंका खासै नभएपनि म समूहमा नबस्ने मनस्थीतिमै थिए । दशैंको दिन उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दले आदेशकै शैलीमा बोलाए । मैले मेरो सबै कुरा बताए । तैपनि उनको कुरा टार्न सकिएन् । केही समय उनको अड्डामा बसेपछि उद्योग वाणिज्य संघकै उपाध्यक्ष खिमानन्द भट्टले नजिकै रहेको आफ्नै घरमा डाके । त्यही उनले निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष तथा होटेल अपीका संचालक बाशुदेव भट्टलाई बोलाए । खसीका अनेक परिकार खाइयो । दशैं रमाइलै भो । साँझ हामी आ–आफ्नो अड्डामा फर्कियौं ।

दशैंको दोस्रो दिन अगुवा संचारकर्मी राजेन्द्र नाथले फोन गरेर गोकुलेश्वर बोलाए । भोलिपल्ट म गोकुलेश्वर पुगे । स्थानीय युवा व्यवसायी भुवन भण्डारीसँग रमाईला गफ गर्दै दोस्रो दिन डिलाशैनी र चमेलिया क्षेत्रको रिपोर्टिङमा निस्कियौं । तेस्रो दिन सदरमुकाम आउँदैगर्दा सिल्लेगडामा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश कोषध्यक्ष नरेन्द्र भट्टसँग भेट भयो । हामी सँगै सदरमुकाम फर्कियौं । सदरमुकाममा खगेन्द्र अवस्थी, नरी बडु, डिबी चन्द लगायतले कुरी बसेका थिए । केही बर्ष अघिसम्म सँगै काम गर्ने साथीहरुको एकै ठाउँमा जमघट भएपछि साँझ हामीले सँगै बसेर खाना आयौं । राती अबेर सम्म विगत कोट्याउँदै गफिएर बस्यौ ।

दोस्रो दिन शनिवार थियो । त्यो दिनको आधा समय जिल्लाका सबै संचारकर्मीहरुले महाकाली र चमेलिया किनार शेरा क्षेत्रमा बिताए । त्यसपछि बचेको आधा दिन दशरथचन्द नगरपालिकाकै १० नं वडाको तीर खडेनी क्षेत्रमा । त्यहाँ महाकालीबाट पानी तानेर सिचाईको सुविधा पु¥याइएको थियो । त्यो रिपार्टिङ गरेपछि हाम्रो गाडि गोठालापानी क्षेत्रतर्फ अघि बढ्यो ।

गोठालापानीमा पुग्दा जिल्ला अस्पतालको प्रयोगशालाबाट चन्द्र डोवालको मेसेज आएको थियो । कता हुनुहुन्छ ? कस्तो छ तपाईलाई? यत्ति मात्रै थियो लेखिएको । मलाई अब शंका लाग्यो । दिनभरी रिपोर्टिङमा निस्किएका संचारकर्मीहरुले सँगै बसेर खाने सल्लाह गर्दै थिए । म भने सिधै कोठातिर लागे ।उनिसँग बिस्तृत कुरा गरे । कोरोना संक्रमण पुष्टि भएको रहेछ । राती मैले दिनभरी सम्पर्कमा रहेका सबैलाई खबर पठाए– ‘सुरक्षित रहनु ।’ मेरो सम्पर्कमा अन्य थुप्रै मानिसहरु थिए । समाजिक संजाल मार्फत मात्रै होइन, प्राय सबैलाई फोन गरेर बताए । ‘कस्तो छ? शिघ्र स्वास्थ्य लाभको कामना’ भन्दै यो समयमा फोन र मेसेजबाट सयौं मात्रै होइन, हजारौंको संख्यामा शुभचिन्तकहरु उपस्थीत भए । सबैलाई जवाफ दिनै सकिएन । चाहेरै पनि कतिका फोन रिसिभ गर्न सकिएन् ।

संक्रमण पुष्टि भएको ११ दिनपछि परिक्षणका लागि फेरि नमूना दिएर आए । पहिलो रिपोर्टमा सिटी भ्याल्यू ३० थियो । यो भनेको सर्ने अवस्था गुज्रिसकेको भन्ने अर्थमा बुझ्न विज्ञहरुले बताएका थिए । सिटी भ्याल्यू २४ भन्दा माथि जानु भनेको क्रमसः कोराना संक्रमण घट्दै जानु भन्ने जानकारी प्राप्त भएको थियो । दोस्रो रिपोर्ट २० गते आयो । मलाई लाग्या थियो, अब नेगेटिभ आउछ होला । तर सोचेजस्तै भएन् । दोस्रो रिपोर्ट पोजेटिभ थियो । सिटी भ्याल्यू ३३ पुगेको थियो । लाग्यो यसपछि सिटी भ्याल्यू ३७ पुग्ने छ । कोरोना रिपोर्ट नेगेटिभ आउनेछ । जे विज्ञहरुले भनेका थिए त्यही सोच्यो मनले ।

मलाई सामान्य लक्षण देखिएको दुई तीन दिनमै बहिनीलाई हल्का खोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको थियो । पाँच दिनपछि ठीक आफै ठिक भयो । भान्सामा खाना खाने तीन जना थियौं । पहिला ‘क्लोज कन्टयाक्ट’मा रहेका अथवा भान्सा टे«सिङमा परेकाहरुको परिक्षण गर्नु थियो । गरियो । उनिहरु दुबै जनाको नेगेटिभ रिपोर्ट आयो । मैले स्वाब दिएपछि रिपोर्ट आउँदासम्म एक हप्ता एक टेबलमा खाना खाइन्थ्यो । उनै भाँडावर्तन जसले जतिबेला नि प्रयोग गर्थे । तैपनि उनिहरु कसैलाई पोजेटिभ देखिएन् । त्यसपछि थप सम्पर्कमा रहेका १२÷१५ जनाहरुलाई तीन हप्तासम्म पनि कोरोनाको कुनै संकेत देखिएन् ।

पहिलो लक्षण देखिएको २१ दिन तथा कोरोना पुष्टि भएको १९ औं दिन २६ गते तेस्रो परिक्षण गरियो । भोलिपल्ट रिपोर्ट आयो । पोजेटिभ । एकचोटी फेरि वाल्ल परियो । सिटी भ्याल्यू घटेर १६ थियो । झनै छक्क परियो । ल्याब प्रमुख जोशीले भन्दै थिए ‘सिटी भ्याल्यूमा भर नपर्नुस । नयाँ भाईरस हो । केही भन्न सकिन्न । थप एक हप्ता आइसोलेसन बस्नुहोला ।’

चित्तै बुझाउन सकिएको थिएन् । सुदूरपश्चिम स्वास्थ्य निर्देसक डा.गुणराज अवस्थीलाई सम्पर्क गरे । उनि कुनै मिटिङमा रहेछन् । लगत्तै स्वास्थ्य बैतडी प्रमुख योगेश भट्टलाई सम्पर्क गरे । कोही विज्ञ चिकित्सक सम्पर्कमा छन भने सोधिदिनु कि यस्तो कसरी भयो? अथवा सिटी भ्याल्यू कसरी घट्यो ? डा.अवस्थीले आफै फोन गरे । सबै बृत्तान्त सुनाईसकेपछि उनले भने ‘यस्तो कसरी हुन सक्छ ? तपाई फेरि चेक गराउनुस । फेरि त्यस्तै आए डडेल्धुरा ल्यावमा चेक गर्नुस वा स्वाब धनगढी पठाउनु ।’ फेरि ल्याब प्रमुखलाई सोधे । प्रयोगशालामा कुनै ऋृटि पो भयो कि? भएन । उनि पुरै विश्वासका साथ भन्दै थिए । फेरि चेक गराउन आवस्यक छैन । ल्याबमा कुनै समस्या छैन । यस्तै आशयको कुरा भयो । मैले धन्यबाद भने । उनले फेरि भने त्यस्तो लाग्छ भने पर्सी ११ बजे चेक गर्न आउनु ।

यो अवधीमा कोरोनाका सामान्य लक्षण भएका कतिपय मानिसहरु सम्पर्कमा आए । कसैले फोन, कोहीले च्याट मार्फत मेरोजस्तै अति सामान्य लक्षण छ भनेर बताउथे । तर चेक गराउन नचाहने । यस्ता पाँच जना थिए । एउटाले भन्यो, रुघा, ज्वरो र खोकी तीन लक्षण देखियो । त्यसपछि आफै ठिक भयो । अर्कोले भन्यो पाँच दिनजति सामान्य ज्वरो, रुघाखोकी, श्वास लिन अकिति गाह्रो हुने लक्षण देखियो । यस्तै लक्षण परिवारका अन्यमा पनि देखियो । पछि आफै ठिक भएर गयो । तेस्रोथरिले सुनायो, दुई दिन शंका लाग्ने सामान्य लक्षण देखियो । तेस्रो दिन मह र रम खाए । त्यसपछि गाह्रो भएन् ।

चौथो र पाँचौ जना महिला थिए । एक जनाको दुई हप्तादेखि सामान्य लक्षण थियो । केही दिन अघि आफै ठिक भयो । अनि अर्को? ‘दुई दिन देखि सामान्य रुघा खोकी, ज्वरो र सुत्दा श्वास फेर्न गाह्रो भयो । घरेलु तोरी तेल र जडीबुटी मिसाएर शरिरभरी लगाएर घाममा सुते । आफै ठिक भयो ।’ पाँचौ महिलाको कुरा यस्तै थियो ।

यी पाँचै जनाले कोरोना संक्रमण पुष्टि हुने, घरमै आइसोलेसन बस्नुपर्ने र समाजमा कुरा काट्न सक्ने अनुमान गरेर परिक्षण गर्न नगएको बताएका थिए । मलाई लाग्दै थियो, ‘मैले परिक्षण नगराएको भए सायद म पनि यत्रो दिन आइसोलेसन बस्नुपर्ने थिएन कि ।’ मलाई लागेको यो कुरा ठिक थियो वा बेठिक भन्ने अनुमान लगाउन भने ज्यादै कठिन ।
कोरोनाका सम्भावित ब्यक्तिहरु १५ दिन क्यारेन्टिन बस्छन । अनि घर फर्कन्छन् । १५ दिनपछि कोरोनाा सर्ने सम्भावना प्राय हुँदैन भन्ने विश्वब्यापी थाहा भएको कुरा हो ।

क्षण नभएको संक्रमितबाट पनि सर्दैन भन्ने अर्को कुरा छ । कोरोना बारे सुन्दै, पढुदै आएका कुरा थिए । तर संक्रमण पुष्टि भएको तीन हप्तापछि पनि आइसोलेसन नै बस्नुपर्ने ल्याव प्रमुखको सल्लाह थियो वा चेतावनी थाहा भएन । बझाङका मित्र वशन्प्रताप सिंहले केही दिन अघि हाँस्दै भनेका थिए, ‘लक्षण नभएको एक जनालाई यहाँ १२ चोटी चेक गर्दासम्म रिपोर्ट पोजेटिभ आएको थियो । चिन्ता नगर्नुहोला सर ठिक भइहाल्छ ।’

धेरै सोध्छन । कस्तो छ? ठिक भयो होला नि अब त ! ‘ठिक त सधै ठिकै थियो नि । पोजेटिभ नामको रिपोर्ट पो पछि पछि लाग्याछ ।’ मेरो जवाफ हुने गर्छ । दशैंभरीमा कोरोना पिक टाईममा थियो होला । तर साथीभाई माझ मस्त सँग दशै गयो । कतिपयले पाँच दिन, सात दिनमा कोरोना जीतेको लेख्छन फेसबुमा । अझै १५ दिनमा जित्ने धेरै हुन्छन् । भेन्टिलेटरमा उपचार गर्नुपर्नेहरुले पनि २१ दिनसम्ममा कोरानालाई पछारेको खबर सुनाउँछन् । तर यहाँ….! पोजेटिभ रिपोर्ट पुच्छरमा झुण्डिएर दिशैंदेखि तिहारम्म लखेटिरहेको छ ।

अस्पतालबाट एउटी नर्सले मेसेज गरिन् । भाइटिककाको लागि घर जान सबैले पर्सी कोरोना जाँच गर्छन । तपाई पनि आउनु नि त । नेगेटिभ आइहाल्छ कि ? तर म पर्सि गइन् । जानै मन भएन । एउटा कारण थियो कनपारो दुख्नेगरि ल्याबवालाले नाकमा सुइरो कोचिदिन्छ । आँशु नआउँदासम्म निकाल्दैन । अर्को कारणः तिहारमा घरमै बसिन्छ । कतै गइन्न । त्यसपछि देखाजाएगा…!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here