भुवन बहादुर सिंह, बझाङ– जिल्ला कै सबै भन्दा आकर्षक मानिने साइपाल गाउँपालिकामा रहेको ढाँकी छडा झरना प्रचार प्रसारको अभावमा ओझेलमा रहेको छ। साइपाल पदमार्गमा पर्ने यो झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आर्कषक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

साइपाल गाउँपालिकाको वडा नं ४ मा पर्ने काँकरकोट गाउँबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा रहेको यो झरनाको बनावट अनौठो खालको रहेको छ। माथीबाट सिधा बगेर झरेको पानी झरनाको विच भागमा ठोक्कीएर एक्कासी दायाँतर्फ फर्किएको दृष्य हेरिरहुँ लाग्ने खालको हुन्छ। विच पहरोमा पुगेर दुइ तिर फाट्ने झरनामा नियमित जसो पर्ने इन्द्रेणीले यहाँको दृष्य झनै मनमोहक देखिन्छ । हावाको गति सँगै झरनाको प्रवाहले बयली खेल्दै पहरामा यताउता ठोक्किदा ढाँकीछडाले छिन छिनमा आफ्नो रुप परिर्वतन गर्ने गर्दछ ।

समुन्द्री सतह देखी करिब ३ हजार १ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाई झण्डै ३ सय मिटर भन्दा बढी छ । भरना नजिकैबाट छर्लङ देखिने साइपाल हिमाल, झरनाको छेवैमा सुसाउदै बग्ने सेती नदी, वरिपरी रहेको हरियो जंगलले यो क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरीपरिका वनमा झारल र नाउरका बथानहरु, मृग, घोरल, बंदेल जस्ता विभिन्न जंगली जनावरहरु देख्न सकिन्छ ।

यस क्षेत्रमा डाँफे, मुनाल, कालिज लगायतका चराचुरुङरगी पनि सजीलै देख्न पाइन्छ । झरना नजीकै रहेका ठुलठुला पहरामा रहेकाको भिर मौरीको मह शिकार गर्ने व्यवस्था मिलाउन सके यहाँ पर्यटकको संख्या बढ्न सक्ने स्थानिय दिपक बहादुर बोहराको भनाई छ ।

यो झरनाको बनावट नै अनौठो खालको छ । त्यहाँ बसेर घण्टौं हेर्दा पनि आँखा नअघाउने खालको यति सुन्दर झरना पहिलो पटक देखेको हुँ । साइपाल पदयात्राका क्रममा ढाँकीछडा झरना क्षेत्रको समेत भ्रमण गरेका खप्तडछान्ना गाउपालिकाका मंगल बहादुर खड्काले भने झरनाको कलकल, चराहरुको चिरविर आवाज र त्यहांबाट देखिने सुन्दर हिमालको दृष्य साँच्चिकै अदभुद लाग्छ। प्रचार प्रसारको अभावमा प्रकृतिको गर्भमै रहेको यस्तो ठांउको व्यवस्थापन र प्रवद्र्धन गर्न सके बर्षेनी हजारौं पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।

यस्तै यो झरनामा क्यानोनिङको पनि सम्भावना रहेको बताउदै यहाँ सामान्य पुर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आर्कषण बढ्ने काँकरकोटमा रहेका एक जना होटल व्यवसायी रणबहादुर खड्काले बताए। उनले यस गाउपालिकामा थुप्रै झरनाहरु, ताल तलैया र मनोरम प्राकृतिक दृष्यहरु रहेकोले साइपाल साइपाल सर्किट नै निर्माण गरेर पदयात्रा मार्गको विकास गर्न सकिने सम्भावना रहेको बताए ।

यता गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले साइपाल गाउँपालिकामा रहेको ढाँकीछडा झरना वनावटका हिसाबले जिल्ला कै सबै भन्दा आर्कषक झरना भएको र यसको विकासका लागि गाउँपालिकाले काम सुरु गरिसकेको बताएका छन । उनले झरना सम्म पुग्ने बाटोलाई घोडेटो बाटोको रुपमा विकास गर्ने र झरनाको प्रचार प्रसार गर्ने काम गाउँपालिकाले गरिरहेको बताए।

आगामी वर्ष भित्रमा जिल्लाको सबै भन्दा बढी आन्तरिक र बाह्य पर्यटकले घुम्ने गन्तव्य मध्येको एक ढाँकीछडा लाई बनाउने आफुहरुको लक्ष्य रहेको उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here