मोबाइल नेटवर्क: चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित

0
फाइल फोटो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्। मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौ हिडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ।

मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन्। ‘कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले काम गर्दैन,’ वडासचिव चन्द्र चौधरीले भने, ‘मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु र्पछ, मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन।’ वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको डाटाबाट इन्टरनेट चलाएर पठाउँदै आएको उनले बताए।

नगरपालिकाले पठाएका तत्काल हेर्नुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उनले बताए। ‘वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ’, वडा सदस्य लालबहादुर महराले भने, ‘काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।’ आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताए।

‘नेपाल टेलिकमको नेटवर्कले टिप्दैन,’ सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउँदले भने, ‘एनसेललगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ । फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ।’ बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचना आदानप्रदानमा समस्या भएको छ। स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न नेटवर्क टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ।

नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष पुग्न थालेपनि निर्माण कार्य पूरा हुन सकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा स्थानीय आसावादी छन्। ‘मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने दिन कुरेर बसेका छौँ,’ रामबहादुर साउँदले भने, ‘मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो। अहिले इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ।‘ सबैका घरघरमा मोबाइल सेट छन्। तर यहाँका स्थानीयले कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने बाध्यता छ। पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन।

असुरक्षित पानी पिउन बाध्य

शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी दुषित पानी पिउन बाध्य छन्। उनीहरु वर्षौदेखि ह्याण्डपम्पको आर्सेनिक र आइरनयुक्त पानी पिउँदै आएका छन्। खानेपानीका लागि अर्को विकल्प नहुँदा वर्षौँदेखि यहि पानी पिउँदै आएको वडा सदस्य लालबहादुर महराले बताए।

‘सेतो कपडा लगाउनै हुँदैन’, उनले भने, ‘ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।’ ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ। अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन्। खानेपानीको अर्को विकल्प नहँुदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीय अकवर धामीले बताए। ‘माथिल्लो सतहको पानी पिउन योग्य छैन,’ उनले भने, भने, ‘आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन्।’

गहिरो ह्याण्डपम्प गाड्नका लागि एक लाख रुपैँया भन्दा बढी खर्च लाग्ने गर्दछ। अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ। ‘वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन,’ वडा सचिव चन्द्र चौधरीले भने, ‘टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ । केही दिन जारको पानी पिउनका लागि प्रयोग ग¥यौँ। हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहुँदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ,’ चौधरीले भने, ‘चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि ७० हजार रुपैँया बजेट विनियोजन गरिएको छ। त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ।’

यहाँका स्थानीयले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here