प्रहरी जवान साउँदको त्यो अन्तिम ‘कल’

0
प्रहरी जवान रामबहादुर साउँदको परिवार।

डम्मर गिरी, कैलाली–प्रहरी जवान रामबहादुर साउँदले शुक्रवार दिउसो साढे १२ बजे अछाममा भएकी पत्नी सीमाको मोबाइलमा फोन लगाए। खास धेरै कुरा भएन दम्पत्तीका बीच। सन्चो, बिसन्चो सोधेपछि रामबहादुर आफैले भने, ‘म अहिले थोरै बिजी छु। पछि कुरा गरौंला। अहिले राख्छु।’ मोवाईलमा पुनः घण्टी आउँला भनेर सीमा प्रतिक्षामा थिइन्। तर, त्यो नै उनका लागि पतिको अन्तिम कल भयो।

फोनमा कुरा भएका बेला पति रामबहादुरले भनेका थिए, काम छ इट्टाभट्टा जान्छु, दुई जनालाई भेट्नु छ। त्यो शब्द नै अन्तिम बन्यो। अछामको बान्नगढी जयगढ गाउँपालिका–५ का रामबहादुरको शनिवार राति तस्करहरुले हत्या गरिदिए। उनी धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा जवान पदमा कार्यरत थिए।

‘मेरा श्रीमानलाई घुमुवामा राखेको रहेछ, फोन गर्दा रातभर, दिनभर काम छ मात्रै भन्नुहुन्थ्यो,’ पत्नी सीमाले भनिन्,–‘रातभर, दिनभर तपाईको मात्र डियूटी हुन्छ अरु कोही छैनन भनेर म सोध्थे? अरु पनि खटिएका छन् भन्नुहुन्थ्यो।’

उनले आफु घुमुवा बसेको कुरा पत्नीलाई पनि भनेका थिएनन्। ‘म रिसाउँछु भनेर जानकारी नदिएको होला। मैले पाँच दिनपछि मात्रै थाहा पाए,’ सीमाले भनिन्। अस्थायी प्रहरी पोष्टमा प्रहरी कर्मचारीलाई अप्ठेरो छ भनेर हाकिमहरुलाई भन्न नसकेका कारणले पनि यो घटना भएको उनको अनुमान छ।

‘यो देश गुण्डागर्दीले खाएको देश हो,’ उनले भनिन्,–‘इमान्दार र बफादारलाई कानूनले पनि हेर्दैन।’ श्रीमानको जसरी विभत्स हत्या गरियो त्यसरी नै हत्याराहरुलाई पनि कारवाही हुनुपर्ने उनको माग छ। ‘मसँग जीवन साथी नै छैन भने त्यो राज्यले दिने सेवा, सुविधा लिएर म के गरु?,’ उनले भनिन्। आफुले प्रहरीको जागिर नखानु भन्दा पनि नमानेको उनले उनले बताइन।

‘अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत एक महिला प्रहरीसँग फोन भईरहन्थ्यो,’ पत्नी सीमाले भनिन्,‘श्रीमान् बेपत्ता हुँदा पनि त्यो दिदीले फोन नै गर्नु भएन, मलाई त हत्या भएको बारेमा जुगेडा चौकीका कसैले पनि जानकारी नै गरेको थिएन, एक जना प्रहरीकै असई दाई हुनुहुन्थो। उहाँले खबर गरेपछि थाहाँ पाए।’

केही दिन अघि रामबहादुरका कान्छा भाई काठमाडौंबाट धनगढी आएका थिए। त्यो बेला श्रीमतीलाई रामबहादुरले लुगा किनेर भाई प्रकाशका हातमा अछाम पठाइदिएका थिए। ‘त्यो नै दाईका तर्फबाट भाउजुका लागि अन्तिम लुगा रहेछ,’ भाई प्रकाशले भने। जागिर खाएको २ वर्षपछि रामबहादुरले सीमा सँग बिहे गरेका थिए। ७ बर्ष र ३ वर्षकी छोरी छन्। रामबहादुर घरका साइला छोरा हुन्। कान्छा भाइ नेपाली सेनामा कार्यरत छन्। एकजना भाई सीएमए पढेर घरमै लोकसेवाको तयारी गरिरहेका छन्। उनका दाजु गंग आधारभूत विद्यालयका शिक्षक हुन्। बुवा आमा भने खेतीपाती गर्छन्।


‘दाई सानैदेखि शारिरीक व्यायाममा अब्बल थिए,’ प्रकाशले भने,‘ उनी फुर्तिला र जोसिला थिए। दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उनी स्कुलमा पहिलो हुन्थे। सानैदेखि फोर्समा जाने सपना थियो। कक्षा १२ पास गरेपछि उनले दिपायलमा प्रहरी हुन आवेदन दिएका थिए। त्यसबेला छनोटमा परेनन्। त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उनले हिम्मत हारेनन्। छैठौं पटक २०६७ मा दाई रामबहादुरले नाम निकालेको भाई प्रकाशले बताए। छनौटपछि उनले ९ महिना डोटी बुडरमा तालिम लिए। तालिमपछि दिपायलमै सेवा गरे। त्यसपछि दार्चुला सरूवा भए। २ वर्षदेखि जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए।

शनिवार राति ८ बजे पोष्टका इन्चार्ज असई गोबिन्द बिकसँगै गस्तीमा गएका थिए। दुबैजनालाई तस्करहरुले नियन्त्रणमा लिएर हत्या गरेको खुलेको छ। प्रहरी जवान साउदको शव वडा नम्बर–१० स्थित मोहना नदीमा गाडिएको अवस्था भेटिएको थियो। बिकको शव पनि त्यसको दुई दिन अघि मोहना नदीमै भटिएको थियो। हत्यामा संलग्न ७ जनालाई मंगलवार नै प्रहरीले सार्वजनिक गरिसकेको छ। नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने बेला रोक्न खोज्दा उनको हत्या गरेको पक्राउ परेकाहरुले स्वीकारिसकेका छन्। साउदको बुधवार अछामको कैलाश खोलामा दाहसंकार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here