आत्महत्या गर्न खोजेका बेलडाँडीका युवकको कोरोनाले मृत्यु, प्रशासन र स्वास्थ्य कार्यालय बेखबर

0
सांकेतिक तस्बिर

दुर्गा उपाध्याय, कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का २४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको मंगलबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएका युवकको निमोनियाका कारण मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्वाङले जानकारी दिए। उनले युवकलाई गत असोज ३० गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको बताए।

‘बेलडाँडीका २४ वर्षीय युवकमा कोभिडबाट निमोनिया भएको रहेछ, उनको हिजो साँझ साढे ५ बजे मृत्यु भयो,’ महेन्द्रनगरपोष्टसँग बाँकेका प्रजिअ कुरुम्वाङले भने, ‘यसअघि उनले सुसाइट अटेम्पट गर्न खोजेको भन्ने पनि आएको छ, तर उनको मृत्युको कारण भने निमोनिया देखिएको छ।’

अनभिज्ञ प्रशासन र स्वास्थ्य कार्यालय
युवकको कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएपनि कञ्चनपुर प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई भने त्यसबारे जानकारी छैन। उनीहरुले कोभिडबाट युवकको मृत्यु भएको विषयमा अनभिज्ञता जनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुका कोभिड फोकल पर्सन सिद्धराज भट्टले जिल्लामा कोभिडबाट युवकको मृत्यु भएको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए।

‘कोरोनाकै कारण मृत्यु भयो भनेर अहिलेसम्म हामीलाई त्यस्तो कुनै जानकारी आएको छैन,’ उनले भने, ‘पालिकामा बुझेर खबर गर्छु।’ उनले बेलडाँडीका युवकले एकसाता अघि आत्महत्याको प्रयास गरेकाले उनलाई उपचारका लागि रिफर गरिएको बताएपनि युवकमा कोरोना पोजेटिभ देखिएको र त्यसकै कारण मृत्यु भएको बारेमा भने बताउन सकेनन्।

उता बेलडाँडीका स्वास्थ्य ईकाइ प्रमुख माधवानन्द भट्टले भने ती युवकमा कोरोना नभएको दावी गरेका छन्। उनले युवकले आत्महत्या गर्न खोजेकाले उनको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्यहाँबाट रिफर गरिएको बताए। ‘खोइ अहिलेसम्म हाम्रोमा कोरोना संक्रमितलाई उपचारका लागि रिफर गरिएको भन्ने जानकारी छैन,’ उनले भने, ‘केहि दिन अघि एउटा युवकले आत्महत्या गर्न खोजेको र उनमा निमोनिया पनि देखिएकाले थप उपचारका लागि प्राथमिक केन्द्रबाट रिफर गरिएको भन्ने छ, उनलाई कोराना लागेको भन्ने थाहा छैन।’

कञ्चपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले समेत कोरोनाका कारण युवकको मृत्यु भएको बारेमा अनभिज्ञता व्यक्त गरेका छन्। उनले आफूलाई सो बारे कसैले खबर नगरेको बताए।

‘एकपटक स्वास्थ्य कार्यालयमा बुझौंन्, मलाई त अहिलेसम्म कुनै पनि जानकारी आएको छैन,’ उनले भने, ‘अघिल्लो पटक त बाँकेका सीडीओ सापले खबर गर्नु भएको थियो, यो घटनाको भने कतैबाट जानकारी आएको छैन, त्यसबारे म बुझ्छु।’

उनले कोरोना सम्बन्धी तथ्यांक अद्यावधीक गर्ने काम जिल्ला स्वास्थ्य कार्यालयको रहेको बताउदै लापरवाही गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए। ‘स्वास्थ्य कार्यालयले धेरै लापरवाही गरेको देखिएको छ, म अब त्यसलाई कारवाही गर्छु,’ उनले भने, ‘अब धेरै ठाउँमा छड्के अनुगमन पनि गर्नुपर्ने देखिएको छ।’

प्रक्रियागत ढिलाईले समस्या
सामान्यतया कोरोना संक्रमितको तथ्याङ्क पालिकास्थित स्वास्थ्य ईकाइहरुले दिने गर्दछन््। उनीहरुले पालिकामा रहेका संक्रमितको तथ्याङ्क अद्यावधीक गराएर जिल्ला स्वास्थ्य कार्यालयमा पठाउने गर्दछन्। त्यसकै आधारमा जिल्ला स्वास्थ्य कार्यालयले संक्रमितको निगरानी गर्छ। तर जिल्ला बाहिर परीक्षण गरिएका सबै संक्रमितहरुको तथ्यांकहरु भने जिल्ला स्वास्थ्य कार्यालयमा नहुने कोभिड फोसक पर्सन सिद्धराज भट्टले बताए।

‘हामीसँग जिल्लाभित्रै परीक्षण गराएर पोजेटिभ देखिएकाहरुको मात्रै रेकर्ड हुन्छ,’ उनले भने, ‘कोही जिल्ला बाहिर बसेर पनि कसैले कञ्चनपुर लेखाइरा हुन्छ, त्यस्तोमा हामीलाई थाहा हुदैन।’

यसअघि कोरोना पुष्टि भइसकेपछि उपचारका लागि अन्यत्र रिफर गरिने भएकाले उनीहरुको बारेमा जानकारी हुने गरेपनि ती युवकमा भने उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै पीसीआर परीक्षण गरिएको थियो। परीक्षणमा उनमा संक्रमण पुष्टि भएपनि त्यसबारे जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरलाई भने जानकारी गराइएको थिएन। न त उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टे«सिङ्कको काम भएको छ।

सामान्यतया बिरामीमा संक्रमण पुष्टि भइसकेपछि सम्बन्धीत अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयमार्फत सम्बन्धीत जिल्लाको स्वास्थ्य कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ। तर जिल्ला स्वास्थ्य कार्यालयले बाँकेले भने अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरलाई जानकारी गराएको देखिदैन। यद्यपी युवकको ज्यान गएको २० घण्टा बितिसक्दा समेत त्यसबारे कञ्चनपुर प्रशासन र स्वास्थ्य कार्यलय अन्यौलमा छन्।

यता प्रक्रियागत ढिलाईका कारण कञ्चनपुर प्रशासनलाई त्यसबारे खबर नभएको हुनसक्ने बाँके सीडीयो कुरुम्वाङले बताए। ‘हामीले जिल्ला स्वास्थ्य कार्यालयमार्फत लुम्बिनी प्रदेश कार्यालयमा खबर पठाइसकेका छौ,’ उनले भने, ‘लुम्बिनीले सुदूरपश्चिम प्रदेशमा खबर गर्छ, त्यसपछि प्रदेशले जिल्लामा खबर गर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here