माछापुछ्रेको काँखमा सैपालका च्याङग्रा

0

शेरबहादुर सिंह, महेन्द्रनगर– सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडाच्याङग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिए। व्यावसायिक रुपले भेडाच्याङग्रा पालन गर्दै आएका साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा भेडाच्याङग्रा लिएर पोखरा हिँडेका हुन्।

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडाच्याङग्राको व्यापार लामो समयदेखि रहेको बताए। ‘हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन्,’ बोहराले भने, ‘भेडाच्याङग्राको माग पोखरा र काठमाडौंलगायत शहरमा बढी हुन्छ।’ विगत चार वर्षदेखि चाडपर्वका बेला खरिद बिक्रीमा सक्रिय उनले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताए।

‘बाटोमा चराउँदै लैजाँदा सात दिनमा पोखरा पुर्याउछौं,’ उनले भने, ‘सुदूरपश्चिममा यसको माग छैन।’ सैपालका अधिकांश स्थानीयले भेडाच्याङग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन्। दुई दिनअघि मात्रै छ ट्रक भेडाच्याङग्रा पोखराका लागि यहाँबाट हिँडेका छन्।

कोरोना भाइरस महामारीका बेला भेडाच्याङग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ। ‘सैपालमा च्याङग्राको ओजन हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु,’ उनले भने, ‘यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ।’ उनले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङग्रा पालन गर्दै आएको बताए।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन्। स्थानीय सरकार आइसकेपछि सडक पुर्वाधारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ। चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडाच्याङग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ।

‘चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन,’ उनले भने, ‘हिमालमा भेडाच्याङग्रा पालन गर्न सहज भने छैन।’ सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ। स्थानीय बढीजसो भेडाच्याङग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन्। ‘दशैँमा पोखरासितको च्याङग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ,’ बोहराले भने, ‘पोखराबाट पनि दशैँमा च्याङग्रा माग गर्दै धेरै फोन आउँछन्।’ बझाङबाट पोखरा पुर्याएबापत प्रति ट्रक रु ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक रु डेढदेखि दुई करोडको भेडाच्याङग्राको व्यापार गर्ने गरेको बताए। ‘पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो,’ अध्यक्ष धामीले भने, ‘गाउँपालिकाका ५० प्रतिशतले भेडाच्याङग्रा पालनमा लागेका छन्।’ पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसंख्या तीन हजार रहेको छ।

विगतमा भेडाच्याङग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौं बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ। उनले भेडाच्याङग्रा पालनमा सक्रिय किसानलाई संघ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए। ‘यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन,’ उनले भने, ‘चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ।’ (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here