सहिद गोबिन्द गौतमले सहादत दिएको भूमिमा सशस्त्रको बिओपी

0

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मंगलवार एकैदिन सशस्त्र प्रहरी बलका तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएका छन्। भारतसंग सीमा जोडिएको उक्त क्षेत्रका खड्डाकंकड, आँमतालको सहिद गोबिन्द गौतम मार्ग र टाउकेबजारमा बिओपी स्थापना गरिएका हुन्।

पुनर्वास नगरपालिका–४ मा रहेको आँमतालस्थित सहिद गोविन्द गौतम मार्ग, सोहि नगरपालिकाको वडा नं. ६ को खड्डाकंकड र वडा नं. ११ को टाउके बजारमा बिओपी स्थापना भएको सशस्त्र प्रहरीको झलारीस्थित गणका गणपति एसपी बिरेन्द्र ऐरले जानकारी दिए।

‘तीन मध्ये एउटा बिओपी सहिदको गाउँमा स्थापना भएको छ,’ एसपी ऐरले भने, ‘त्यहाँ बिओपी राख्न स्थानीयबासिन्दाले स्वस्फूर्त रुपमा बास, भाटालगायतका सामाग्री सहयोग गरेका छन्।’ सोही ठाउँमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर तीन बर्ष अघि गोबिन्द गौतम सहिद भएका थिए। भारतले सीमा मिच्दा गोबिन्दले प्रतिकार गरेका थिए। ‘देशप्रेमले ओतप्रोत स्थानीयबासिन्दा बिओपी स्थापनापछि निक्कै खुसी भएका छन्। उहाँहरुले सशस्त्र प्रहरीको भब्य स्वागत गरे,’ एसपी ऐरले भने।

सशस्त्र प्रहरीका अत्तरियास्थित वाहिनीपति हरिशंकर बुढाथोकीले तिनवटै बिओपीको मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी उद्घाटन गरेका हुन्। पुनर्वास नगरपालिकाको अधिकांस क्षेत्र भारतसँग जोडिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here