दुर्गा उपाध्याय, कञ्चनपुर– धेरैले दसैंलाई नयाँ लुगा लगाउने र मीठो खाने चाडका रुपमा लिन्छन। व्यापारीहरु यो बेला आफ्नो व्यापार, व्यवसाय फस्टाउने आशमा हुन्छन। यसवर्ष भने न त महेन्द्रनगर बजारमा चहलपहल छ न व्यवसायीहरुको मुहारमा खुसी देखिन्छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण यसवर्ष बजारमा ग्राहकहरुको चहलपहल नभएको छ। खसी–बोकादेखि लत्ताकपडा, खाद्यान्न तथा सवारीसाधनसम्मको विक्री हुने दसैमा व्यापारी फुर्सदिला बनेका छन्। दसैंको अघिल्लो दिनसम्मै व्यस्त हुने उनीहरु यसवर्ष स्थानीय प्रशासनले लगाएको रोक र कोरोनाको डरले ग्राहकहरु किनमेलमा नआउदा फुर्सदिला बनेका हुन्।

७० प्रतिशत व्यापार घट्यो
विगतका वर्षमा एकमहिना अघि देखि नै दसैंको रौनक सुरु भइसक्थ्यो। तिज तथा गौरा पर्वबाटै रोजगारीका लागि भारत गएका नेपालीहरु दसैं मान्न घर फर्किन सुरु गरिसक्थे। उनीहरु घर फर्किदा सीमा नाकामा मात्रै होइन, महेन्द्रनगरलगायतका बजारहरुमा समेत दसैंको किनमेल सुरु भइसक्थ्यो। तर यसवर्ष कोरोना महामारीका कारण विगतका वर्षको तुलनामा ७० प्रतिशत व्यापार, व्यवसाय घटेको महेन्द्रनगरको मदनचोकस्थित डागेश्वरी फेन्सी स्टोरका संचालक नारायणदत्त पन्तले जानकारी दिए।

उनले बिगतका वर्षमा एकमहिना अघिदेखि नै दसैंको किनमेल सुरु हुने गरेपनि यसवर्ष भने घटस्थापनाको अर्को दिनबाट मात्रै बजारमा अलिअलि भिड बढ्न लागेको बताए। ‘यो वर्ष त के दसैं आयो भन्नु, हिजोबाट बल्ल अलिअलि भिड बढेको छ, तर किनमेल केहि छैन,’ उनले भने, ‘यो वर्ष विगतको तुलनामा दसैंमै पनि ७० प्रतिशत व्यापार कम छ।’

सिजनमै छैन व्यापार
कञ्चनपुर भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यहाँको व्यापार व्यवसाय पनि भारतीय ग्राहक र भारतबाट फर्किने नेपालीमा निर्भर हुने गर्दछ। कञ्चनपुरमा दसैंतिहार तथा बालीनाली भित्र्याए पछि र फागु पूर्णिमामा लाग्ने पूर्णागिरी मेला गरी तीन सिजनमा मात्रै व्यापार व्यवसाय हुने गर्दछ। तर यसवर्ष भने डिसेम्बर अन्तिम साताबाट विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण कञ्चपुरमा तीन सिजन ब्यापारमा प्रभाव परेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए।

उनले पछिल्लो समय सरकारले लकडाउन खुकुलो पारेसँगै बजारमा मानिसहरुको चहलपहल केहि हदसम्म बढेपनि अपेक्षाकृत व्यापार हुन नसकेको बताए। ‘कञ्चपुरमा खास गरी दसैंतिहार, बाली भित्र्याएपछि र पूर्णागिरी मेलामा गरी तीन सिजनमा मात्रै अलि बढी व्यापार व्यवसाय हुन्छ,’ उनले भने, ‘तर यो वर्ष कोरोनाले गर्दा अर्बौंको व्यापार घाटा लागेको छ, अहिले लकडाउन खुकुलो भएपनि विगतमा जस्तो व्यापार व्यवसाय हुन सकिरहेको छैन।’

उनले विगत चैतदेखि भएको लकडाउनका कारण बजार व्यवसाय बन्द हुँदा सामानहरु पसल तथा गोदाममै बिग्रिएर खेर गएको बताए। ‘लकडाउन खुकुलो भएपनि सरकारले नै चाडपर्वका बेला भीडभाड नगर्न भनेको छ,’ उनले भने ‘कोरोनाको महामारीले मानिसहरु पनि सचेत भइसकेका छन्। त्यसैले पनि विगतमा जस्तो चहलपहल छैन।’ उता न्यू भुवनेश्वरीका संचालक ओमप्रकाश ओझाले समेत कोरोनाका कारण व्यापारमा असर परेको भन्दै स्थिति नै गाह्रो भएको बताए।

‘कोरोनाको प्रभावको सुरुवात किसानबाट भएको छ, उनीहरुले समयमै मल पाएनन्, र खेती लगाउन नपाउदा उत्पादन घट्यो, समयमै भित्र्याउन पाएनन्,’ उनले भने, ‘त्यसपछि शिक्षकहरुले तलब पाएनन्, मानिसहरुसँग पैसा छैन, पैसा नभएपछि व्यापार हुने कुरै भएन।’

छैन दसैंको रौनक
भीमदत्त नगरपालिका–१५ की तुलसी चालिसेलाई यसपाला दसैंको रौनकले छोएको छैन। बारीमा तरकारी लगाउदै गरेकी उनलाई यो दसैंमा न नयाँ लुगा किन्ने पिरलो छ, न बुहारीलाई माइत पठाउने चिन्ता।

शनिबारबाट दसैं सुरु भइसकेपनि उनलाई भने अझै दसैं आएको अनुभूति नै हुन सकेको छैन। ‘यो वर्षको दसैंमा न कतै जाउला भन्ने जस्तो छ, न कोहि आउलान भन्ने छ,’ उनी भन्छिन्, ‘कोरोनाले घरबाट बाहिर कतै निस्किने जस्तो छैन, यसपाला त दसैंको किनमेल पनि गरिएन।’

उनले सरकारले समेत चाडवाडका बेला भिडभाड नगर्न र घरमै दसैं मनाउन भनेकाले पनि आफूले स्वास्थ्यको ख्याल गर्दै त्यसको पालना गरेको बताइन। ‘अहिले दिनदिनै कति मान्छे मरिरहेका छन, यस्तो बेला बाहिर गएर भोली रोग लागे के गर्नु?,’ उनले भनिन्, ‘बाहिर नगएर रोग लाग्दैन भने यो वर्ष घरमै बसेर मनाउदा पनि हुन्छ भनेर बसेका छौ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here