कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले हात्तीबाट सीमास्तम्भको अनुगमन सुरु गरेको छ। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासँगको समन्वयमा पहिलो पटक हात्तीबाट गस्ती सुरु गरेको हो।
निकुञ्ज क्षेत्रभित्र गाडीमा जान सकिने अवस्था नरहेकाले सेनासँगको समन्वयमा हात्तीबाट सीमास्तम्भको अनुगमन तथा निरीक्षण सुरु गरिएको सशस्त्र प्रहरी बल कञ्चनपुका एसपी विरेन्द्र ऐरले जानकारी दिए।
‘सीमा सुरक्षाको काम सशस्त्र प्रहरीको हो, तर निकुञ्जको सुरक्षा सेनाले गर्छ,’ उनले भने ‘त्यसैले सेनासँग समन्वय गरेर हामीले निकुञ्ज क्षेत्रमा रहेका सीमास्तम्भको अवस्थाका बारेमा हात्तीबाट निरीक्षण गरिरहेका छौ।’ उनले निरीक्षण गरिएका स्थानमा सीमास्तम्भको अवस्था राम्रो रहेको बताए।
कञ्चनपुरमा ६१ जंगे र ३ सय २९ सहायक गरी ३ सय ८० सीमा स्तम्भ रहेको जनाइएको छ।