काम कुरो एकातिर, मन्त्री सुवेदी सिलाई पसल उद्घाटन तिर

0

कञ्चनपुर–सुदूरपश्चिममा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीदेखि औषधी लगायतको अभाव छ। प्रदेशमा स्वास्थ्यकर्मीदेखि स्वास्थ्य संस्थाहरुको व्यवस्थापनको मुख्य जिम्मेवारी सामाजिक विकास मन्त्रीको हो। तर काम कुरो एकातिर, कुम्लो बोकि ठिमीतिर भने जस्तो सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी यी सबै जिम्मेवारी भन्दा पनि सिलाई पसलको उद्घाटनमा लागेका छन्।

सरकारले कोरोनाको जोखिम बढेको भन्दै सभा, सम्मेलन लगायतका सार्वजनिक कार्यक्रममा रोक लगाएको छ। तर मुख्य जिम्मेवारी छाडेर मन्त्री सुबेदी भने कोरोना संक्रमणको जोखिम बढाउने गरी शनिवार महेन्द्रनगरमा देखा परे, सिलाइ पसलको उद्घाटनमा। दलबलसहित पुगेका मन्त्री सुवेदीले सरकारले रोक लगाएकै गतिविधि गरेको टिप्पणी स्थानीयले गरेका छन्।

महेन्द्रनगर बजारको गल्ली नं. ५ मा युनिक सिलाई सेन्टर एक दशकअघि देखि सञ्चालनमा छ। त्यसको स्तरोन्नति गरेर विगतको भन्दा ठुलो बनाइएको छ। वर्षाैदेखि सञ्चालनमा रहेको यही सिलाई सेन्टरको मन्त्री सुवेदीले उद्घाटन गरेका हुन्। दलवलसहित पुगेका मन्त्री सुवेदीले औपचारिक कार्यक्रममै सिलाई पसलको उद्घाटन गरे। गाउँका स–साना टर्सरीदेखि पुल पुलेसा र घरहरुको उद्घाटनमा जनप्रतिनिधिहरु सरकारी स्रोतको दुरुपयोग गरेर जाने गरेको भन्दै धेरैले खिल्ली उडाउने गरेका छन्।

प्रदेश सरकारका मन्त्री नै एउटा सिलाई पसल उद्घाटनमा हिड्नु झनै लज्जास्पद भएको स्थानीय बताउछन्। मन्त्री सुवेदीसंगै नेकपाको सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पुर्व उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल लगायतका जनप्रतिनिधिहरु सिलाई पसलको उद्घाटन समारोहमा सहभागि भएका थिए।

नेकपाको बेदकोट नगरपालिका संयोजक लाल परियारले सञ्चालन गरेको उक्त पसल उद्घाटन गर्दै मन्त्री सुवेदीले सेती र महाकाली प्रादेशिक अस्पतालसँगै टीकापुर अस्पतालको समेत सुधार भईरहेको बताए। उनले ती अस्पतालहरुमा स्वास्थ्यकर्मी पनि थपिदै गएको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here