ज्योती बुढा, कञ्चनपुर– एसएलसी परीक्षा चलिरहेको थियो। त्यो बेला परीक्षा दिनका लागि दार्चुला सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता थियो। दुर्गम खण्डेश्वरीकी दीपा रोकायाले पनि डेरा लिइन सदरमुकाममा। तर उनी एसएलसी तयारी भन्दा पनि साथीहरुलाई भेला गराएर गीत बढी सुनाउँथिन। ‘मलाई त्यो बेला लय, ताल, सुर केहीका बारेमा पनि थाहाँ थिएन। तर गीत गाउन भनेपछि उधुमै रुची थियो,’ अहिलेकी चल्तिकी यी गायिकाले महेन्द्रनगरपोष्टसित भनिन्।

मध्यमबर्गिय परिवारमा जन्मिन। सानो छदा विद्यालयबाट फिरेर गाईबाख्राको गोठालो जान्थिन। त्यसरी गोठालो जाँदा उनी भाउँजुको रेडियो चोरेर लान्थिन। अनि वन, जंगल थर्किने गरी चर्को स्वरमा गीत सुसेल्थिन। त्यही बाल्यकालको रुची र संर्घषले अहिले उनी देउडा गायनमा जम्दै छिन। घर खर्च चलाउन गारमेन्टको जागिर गरेपनि गायनलाई छाडेकी छैनिन।

दार्चुलाको दुर्गम अपि हिमाल गाउँपालिका। त्यसको पनि दुर्गम खण्डेश्वरीमा पाँच जना दाजु दिदी पछि कान्छी छोरीका रुपमा जन्मिन दीपा। ‘सानोमा जिद्धी र अटेरीको परिचय थियो मेरो,’ उनले भनिन्, ‘समय क्रम सँगै धेरै कुरा बदलियो। त्यो बेलाकी अटेरी म अहिले भावुक गीत गाइरहेकी छु।’

उनले सदरमुकाममा एसएलसी परीक्षा दिदैं गर्दा एक दिन रेडियोमा ‘नयाँ कलाकार बन्न चाहनेले हामीलाई सम्र्पक गर्नुस, हामी तपाइलाई गायक, कलाकार बनाउछौं’ भनेको प्रचार सुनिन। ठेगाना र फोन नम्बर सूचनामै भनिएको थियो। ‘मैले तुरुन्तै फोन नम्बर र ठेगाना नोट गरे। एसएलसी दिएपछि सदरमुकाममै थिए। घर गए जान दिदैनन् भन्ने सोचेर भारतको बाटो भागेर धनगढी पुगे,’ दीपा बिगतमा फर्किन।

बैशाख महिना। तराइको चर्को घाम। खण्डेश्वरीकी दीपा गड्डाचौकी पुगेकी थिइन एक्लै। उनलाई नेपाली पनि राम्रो सँग बोल्न आउथेन। ‘त्यो दिन सायद गाडी बन्द थिए। कञ्चनपुरका बारेमा पनि केही थाहाँ थिएन उनलाई। धन्न गाउँकै दिदी नाता पर्नेको घरमा पुगे,’ उनले भनिन्, ‘दोस्रो दिन धनगढी फुपुको घरमा गए।’

त्यसपछि उनले घर नजाने र धनगढीमै बसेर पढ्ने कुरा फुपुलाई सुनाइन। ‘धनगढीमा पढ्ने सोच त बनाए, तर कापि–कलम किन्ने पैसा जुटाउन पनि समस्या थियो। जसो तसो दिनहरु बित्दै गए। गाउँघरको मात्रै डन रहेछु तराई झरेपछि नेपाली बोल्न नजानेर दुःख पाएकी छु भन्ने लाग्यो,’ उनले सुनाइन, ‘अलिक दिन बसिसकेपछि एक जना दिदीलाई म घरबाट भागेर आउनुको बेलिबिस्तार लगाए। भोलिपल्ट तिनै दिदीले बसपार्कमा क्यासेटको पसल गर्ने बासुदेब रेग्मी दाई संग भेटाएर सबैकुरा सुनाइदिनु भयो।’

तिनै दाईले त्यसपछि भुवन दहाल, नरेन्द्रराज रेग्मीहरु सँग परिचय गराइदिएको दीपाले बताइन। त्यसपछि गीत गाउन दिने कुरा भयो। उनले अवसर पनि पाइन। तर पहिलो दिनमा डरले गीत नै गाउन सकिनन्। ‘घर–परिवार सबैलाई छोडेर आए तर अवसर पाउँदा पनि गाउन नसक्ने भनेर कोठामा बसेर धेरै बेर रोए। हिम्मत भने हारिन,’ उनी भावुक सुनिइन,‘ त्यतिबेला इराकमा १२ जना नेपाली मारिएका थिए। त्यही ब्यथा–कथा उनेर गीत रचिएको थियो।’

उनले त्यो बेला ‘हे दैव’ एल्बमका लागि पहिलो पटक गीत गाइन। ‘व्यान तारो आइ गयो कुरमुरे उज्यालो भैगयो…’ बोलको गीतमा गोरख थापाको शब्द–लय थियो। यो गीत बजारमा आएपछि धेरैले उनलाई बिमाकुमारी दुरा भनेर फूर्क्याउन थाले। ‘मेरो गीत रेडियोमा सुन्नेहरुले पहाड घरमा पनि पठाइदिए। गाउँघरमा मैले गाएको गीत सुनेपछि सबै जना खुसी भए,’ उनले भनिन।

दीपा सानै उमेर देखि रेडियोमा बिमाकुमारी दुराका गीत सुनेर हुर्किएकी थिइन। उनलाई लाग्थ्यो म पनि भोली यसरीनै रेडियोमार्फत आफ्ना गीत स्रोताहरुलाई सुनाउछु। उनी एकदमै सोझी थिइन। आफ्ना कुरा कसैको अगाडी खुलेर भन्न नसक्ने। १०–१२ वटा गीतमा स्वर दिइसकेपछि मात्र थाहाँ पाइन गाएपछि पैसा पाइन्छ। ‘एक जना दाईले अव त तिमी गायिका भैसक्यौं। पैसा पनि राम्रै कमाई हुन्छ होला भनेर भन्नु भो। तर आफुले त एक रुपैया पनि पाएकी थिएन। त्यसपछि कुरा राख्दा पहिलो कमाई एउटा गीत गाएको ५० रुपैंया पाए,’ उनले भनिन्, ‘त्यति बेलाको ५० रुपैया अहिलेको ५० लाख भन्दा बढि लाग्यो।’

दुःख कष्ट झेल्दै धनगढीमा ४–५ बर्षको बसाईमा उनले १ सय भन्दा बढी गीतमा स्वर दिइसकेकी थिइन। ‘थुप्रै गीत सित्तैमा गाइदिए, पैसा नमाग्ने, जति दिए त्यतिमा चित्त बुझाए। कहिले नाइ भनिन्। मलाई गीत गाउन दिए पुग्थ्यो,’ दीपाले भनिन्, ‘प्लस टुको पढाई सकिसकेको थिए। जसो तसो गीत गाएर पढे। भारतमा हुने थुप्रै कार्याक्रममा जाने गर्थे। गीत गाउन थालेपछि त्यति समस्या त परेन तर संर्घष कहिल्यै छुटेन।’

उनलाई काठमाडौं जान रहर जाग्यो। संगीतको औपचारिक ज्ञान सिकेर मात्रै राम्रो कलाकार बन्न सकिन्छ भन्ने लाग्यो। दीपाले काका र भतिजाको पछि पछि लागेर काठमाडौंको यात्रा तय गरिन। ‘२–४ दिन त उहाँहरुकै पछि लागे। उहाँहरुको पनि काम सकिएर घर फर्किने दिन आए। अनि कहाँ जाने के गर्ने भयो। नत त साथमा बस्न खान पुग्ने पैसा थियो न कोही आफन्त?’ उनले भनिन्।

त्यहि क्रममा गायिका पुष्पा बोहरा संग भेट भयो दीपाको। पुष्पा पनि खण्डेश्वरीकै हुन्। उनले आफू सँगै लगिन। कहाँ बस्ने के खाने भन्ने समस्याको त समाधान भयो तर अब कसरी अगाडीको यात्रा तय गर्ने भन्ने थियो। गायिका बोहोरा संगीत कक्षामा जान्थिन। दीपा भने दिनभर एक्लै कोठामा बस्थिन। अर्थोक विकल्प पनि थिएन त्यो समयमा।

बाहिर जान कोहि चिनेको छैन। नत कुनै जागिर न संगीत कक्षा लिनलाई पैसा। काठमाडौं गएको २ वर्ष उनका त्यतिकै बिते। न कोहि चिने जानेको नै भए। उनले काठमाडांैमा हुँदा सबै काम गरिन। कहिले पनि कामलाई सानो ठुलो भनिनन्। ‘कामको सम्मान गर्ने मान्छे म। सानै देखि अभाव र दवावको जिन्दगी जिउदै आए। ममा पैसाको मोह कहिले पनि भएन। यति धोको छ कि मेरो अन्तिम सास सम्म गीत गाउन पाए पुग्छ,’ दीपाले भनिन्।

अहिलेसम्म गायिका दीपा रोकायाले ४ सय भन्दा बढी गीतमा स्वर भरिसकेको बताईन। ‘सम्झना छाडिगया…’ गीत बजारमा आए देखि अहिले सम्म सबैमा त्यहि गीतको बलियो छाप परेको सुनाइन। उनि भन्छिन, ‘अहिले गायन क्षेत्रमा राम्रै भएको छ। थुप्रै गीत बजारमा आएका छन्। कति चले? कति चलेनन्। त्यसैबाट जिन्दगी चल्दैन त्यसैले गारमेन्टमा पनि काम गरिरहेकी छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here