कोरोना कहरकै बीच मन्त्री बोहराले गरे चुनेपानी–मलास र दैजी–जोगबुढा सडकको अनुगमन

0

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कञ्चनपुरका बिभिन्न योजनाहरुको भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शनिवार अनुगमन गरेका छन्। बेदकोट नगरपालिका –६ चुनेपानी देखि मलास जाने सडकको ६ किलोमिटर ट्रयाक खोली ग्राभेल गर्ने योजना र दैजी जोगबुडा सडक कालोपत्रे योजनाको मन्त्री बोहराले निरीक्षण र अनुगमन गरेका हुन्।

बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक बन्ने भएपछि डडेल्धुरा मलासका स्थानीय हर्षित छन्। सामान्य घरायसी सामान किन्न समेत पैदलै हिडेर कञ्चनपुर आउनुपर्ने बाध्यता भोगिरहेका यहाँका बासिन्दाका लागि यो सडक बरदान सावित भएको मलासका स्थानीय महादेव भट्टले बताए।

उनले गैरीखान देखि डडेल्धुराको पर्शुराम नगरपालिकाको बसेनी र घुम्टेगडा जोड्ने सडकमा थप बजेट विनयोजन गरी बाँकी रहेका सडक निर्माण गरिदिन समेत आग्रह गरे। सडक निर्माण कार्यको अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री बोहराले बाँकी रहेको १८ सय मिटर सडकका लागि समेत बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाए। उच्चाकोटी वाइआर जेभी निर्माण कम्पनीले २ करोड १९ लाखमा निर्माण गरिरहेको बेदकोटको चुनेपानी सिद्धसरोवर गैरीखान सडक निर्माणको २५ प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका प्राविधिक अधिकृत इन्जिनियर हेमराज भट्टले जानकारी दिए।

यसै असार २९ गते ३ बर्षका लागि ठेक्का सम्झौता भइ असोज ४ गतेदेखि काम शुरु गरिएको यो योजनाको २५ दिनकै अवधिमा २५ प्रतिशत काम सम्पन्न भएकाले आउदो २०७८ सालको दसैं सम्ममा योजना सम्पन्न गरी हस्तान्तरण गर्ने ठेकेदार निरन्जन प्रसाद भट्टले बताए।

यसैगरि दैजी–छेला–लिपना १६ किलोमिटर कालोपत्रे सडकको पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको पुर्वाधार विकास कार्यालय कन्चनपुरका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिए। २०७४ साल भदौ देखि नागार्जुन निर्माण सेवाले काम गरिरहेको दैजी–जोगबुडा सडक पुष मसान्त सम्ममा निर्माण गरिसक्ने ठेकेदार ईश्वरी भट्टले बताए। रु. १८ करोड ४९ लाखमा सम्झौता भएको यो योजना डिभिजन सडक कार्यालय कञ्चनपुरले पुर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको योजना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here