जो संग कलेज भर्ना हुने पैसा थिएन, अहिले तिनैले तीनसय जनालाई रोजगारी दिए

0

डम्मर गिरी,

कैलाली– अति विपन्न परिवारमा जन्मिएका धनगढीस्थित ‘होटल साथी’का सञ्चालक तथा प्रवन्धक निर्देशक दिनेशराज भण्डारीको बाल्यवस्था निकै दुःख र पीडामा वित्यो। उनले शून्य अवस्थाबाट ज्याला, मजदुरी गरेर जीवन उकासे।

कैलालीको साविक उर्मा गाविसको भिउसाहमा थोरै ऐलानी जमिनमा सानो कटेरो थियो उनको। स्याउँलाले बारेको र माथि पनि स्याउँलाकै छानो भएको कटेरो। ऐलानी जमिनबाट उत्पादित अन्नले खान, लगाउन पुग्दैन थियो। त्यही चिन्ता र पीरले भण्डारीकी आमा विरामीले थला परिन्। चिन्ता र पीरले थला परेकी आमालाई बचाउन सकिएन।

भण्डारीको उमेर त्यतिबेला १२ बर्ष मात्रै थियो। परिवारमा छोराछोरी मध्येका जेठा उनै थिए। आमाको हिन्दू संस्कार अनुसार कर्मकान्ड सवै १२ वर्षकै उमेरमा भण्डारीले पुरा गरे। परिवारको जेठो छोरा भएर होला उनको काँधमा झन जिम्मेवारी थपिदै गयो।

क्याम्पस भर्नाका लागि आर्थिक अभाव
भण्डारीले माध्यमिक तहको पढाई चौमालास्थित बेहडाबाबा विद्यालयबाट पुरा गरे। कक्षा ८ मै पढ्ने बेला आमाको मृत्यु भएपछि पढाई भन्दा पनि घरको समस्याले सतायो उनलाई। जसोतसो गरी २०४६ मा एसएलसी दिए। बाल्यवस्थामा आमाले छाडेर गएपछि भाईबहिनीहरुको स्याहारसुसार गर्दै क्याम्पस पढ्न धनगढी आउने सोच बनाए।

पढ्ने इच्छा त थियो तर गरिबीकै कारणले उनीसँग क्याम्पसमा भर्ना हुन पैसा थिएन। क्याम्पस पढ्नका लागि आएका भण्डारीले आर्थिक अभावकै कारण ६ महिनासम्म जागिरकै सिलसिलामा दौडधुप गरे। धेरै ठाउँ भौतारिए, उनका बुवाले पनि केही ठाउँमा भनसुन गरे। कसैको केही लागेन। धेरै आम्दानी हुने जागिर पनि खोजेका थिएनन् उनले। हजार–पन्ध्र सय रुपैयाको जागिर पाए समस्या टथ्र्यो। कतैबाट सिप लागेन। उनलाई पठाउने एक जना शिक्षक र केही साथीहरुबाट सानोतिनो रकम सहयोग मागेर १५ सय जति जम्मा गरे। त्यति रुपैयाँ ल्याएर कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुन आए। प्रवेश परीक्षा पनि दिए। नाम निस्किदैन कि भनेर मनमा कता–कता डर पनि पसेको थियो। क्याम्पसमा कोही नभएको बेला सुटुक्क गए। अनुमान बिपरीत सूचना पार्टीमा नाम निस्केको देखे। नाम त निस्कियो तर पैंसा थिएन डेरा गरी बस्नका लागि।

सूचना पार्टीमा नाम हेर्न आउँदा क्याम्पस नजिकै सरस्वती मन्दिर वरिपरि एक जना स्थानीय रामसिंह रावल भैसी चराईरहेका थिए। उनले आफ्ना छोराछोरी विग्रिएकाले पढाई दिने राम्रो मान्छे पाएपछि आफ्नो घरमा डेरा र खाना निशुल्क दिने कुरा गरेपछि भण्डारी निकै खुसी भए। उनले मन मनै सोचे भगवानले पनि मलाई जुराएरै बोलाएको रहेछ। भण्डारीले कक्षा ११ सम्मको पढाई रावलकै घरमा बसेर पुरा गरे। कक्षा १२ को अध्ययनको बेला गाउँमा बुवालाई दुःख भयो भनेर गाउँको जग्गा विक्री गरेर धनगढी आउने सोच बनाए। २०४८ सालमा १०–११ हजारमा जमिन विक्री गरेर धनगढी आए। उनलाई व्यवस्थापन संकाय पढ्ने इच्छा हुँदा हुदै मानविकि संकायमा भर्ना भए। मानविकि संकायमा भर्ना भएका दिनेशले पछि संकाय परिवर्तन गरेर आइकम र बिकमसम्म अध्ययन गरे।

इन्टर पढ्दै गर्दा उनलाई एकातिर पढाईको चिन्ता थियो भने अर्कोतिर गाउँमा खेतीपाती लगाउन जानुपर्ने बाध्यता थियो। धनगढीमा १० हजारमा एउटा सटर किनेर उनका बुवाले व्यापार सुरु गरे। अगाडी पट्टी सटर पछाडी तिर सुत्ने ठाउँ बनाइएको थियो। त्यसपछि बुवाले धनगढीको क्याम्पस रोडमा ४ हजारमा सानो घडेरी किने। त्यही घडेरीमा क्याम्पसकै साथीहरु मिलेर कच्ची घर निर्माण गरे। स्नातक तह पढ्दै गर्दा भण्डारीले क्याम्पसको पढाईलाई निरन्तरता दिँदै बुवाको पसलमा सघाउने काम गथेँ। पसलबाट आएको आम्दानीले भण्डारीको परिवारमा खान लगाउन पनि राम्रो संग पुग्दैन थियो।

पढ्दा पढ्दै व्यवसाय
भण्डारीले स्नातक तह पढ्दापढ्दै कैलाली बहुमुखी क्याम्पस बाहिर व्यवसायी प्रमोद पाठकसँग मिलेर क्यान्टिनको सुरुवात गरे। एक्लैले क्यान्टिन खोल्न आर्थिक समस्या भएकाले पार्टनरशीपमा व्यवसाय विस्तार गरेको उनी बताउँछन्। एकातिर क्याम्पसको पढाई र अर्कोतर्फ क्यान्टिनमा समय दिनुपर्ने भयो। फेरी भारतमा गएर चस्मा र टिसर्ट ल्याएर बिक्री गर्ने ब्यवसाय पनि संगसंगै सुरु गरे भण्डारीले।
२०५३ साल पुस २५ गते भण्डारी र पाठक मिलेर सृजनशिल सामाजको सृजना (सिसिएसए) संस्था पनि दर्ता गरे। भण्डारीले त्यही संस्थामा जागिर गरे।

होटल साथी
२०५६ मा होटल साथीमा एक जनाले पुल खेल खेलाउने गथेँ। दिनेश भण्डारी, प्रमोद पाठक र अन्य साथीहरु पनि खेल्न आउथेँ। पुल खेल्दा खेल्दै एक दिन त्यो मान्छेले २–४ दिनमा पुल विक्री गरेर जाँदै छु भन्ने कुरा गरे। त्यसपछि चार जना मिलेर पुल र होटलका अन्य सामग्री किन्ने सोच बनाए। आर्थिक अभावबाट केही माथि उठिसकेका थिए भण्डारी। ती चार जनाले ५०–५० हजार रुपैया संकलन गरेर पुल र होटलको सामान किने। पुलसँगै होटलको विस्तार पनि अगाडी बढ्यो। पहिले होटल साथीमा व्यवसायीक हिसावले तालिम हल पनि थिएन। त्यतिबेला गोष्ठि, तालिम गर्नु परेका कृषि तालिम केन्द्रको हल प्रयोग हुन्थ्यो। चार जना मिलेर एउटा ब्लक किनेर तालिम हल समेत निर्माण गरे। त्यहाँ तालिम चलाउँदै पुँजीको पनि विस्तार गर्दै लगे। सुरुका ६ महिनामा होटलबाट घाटा लागेको उनी सुनाउँछन्।

पार्टनर मध्येका दुई जनाले बीचमै छाडे। अरु पनि विस्तारै छाड्न थाले। तर भण्डारीले ब्यवसायलाई निरन्तरता दिइरहे। ‘घर किन्यौं, सामान पनि किन्यौं, मिहेनत गर्यौं, फल खेर गएन,’ उनले भने,–‘ एक दिन फाइदामा आउँछ भन्ने मा धैर्यता थियो, दुई चार बर्षपछि फाइदामा आयो।’

घरवेटीले घर बैंकमा राखेर ऋण निकालेका रहेछन। त्यो कुरा आफुलाई थाहा नभएको र एक्कासी बैंकबाट सूचना आएपछि थाहाँ पाएको उनले बताए। ‘बैंकले २० लाखमा त्यतिबेला घर लिलाम गर्यो, हामीले नै किन्यौं,’उनले भने, –‘त्यसमै लगानी गरेकाले पनि जमिनसहित राष्ट्रिय बाणिज्य बैंकबाट लिएका हौं।’ त्यतिबेला होटल साथीको जमिन २ कट्टा ९ धुर रहेको थियो। त्यसपछि व्यापार विस्तार हुँदै जाँदा प्रकाश स्वाँरबाट ४ कट्ठा र पुष्कर मल्लबाट थप जमिन लिएर होटल साथीलाई बिस्तार गरे भण्डारीले। २०५७ सालमा विधिवत रुपमा होटलको उद्घाटन गरियो। होटल साथी अहिले स्थापनाको २२ औं बर्षमा प्रवेश गरेको छ। थ्रीस्टारको मान्यता पाएको छ।

बाणिज्य संघको महासचिव देखि अध्यक्षसम्म
होटल साथीसँग आवद्ध भएपनि त्यतिबेला जिआइजेडमा जागिर पनि गथेँ भण्डारी। २०६२ सालमा उनले खाद्यान्न कार्यक्रम हेर्थे। सरुवा भएर डोटी जानुपर्ने थियो। तर त्यही बीचमा उद्योग बाणिज्य संघ कैलालीको चुनाव भयो। महासचिवमा चुनाव लड्नका लागि उनलाई हरेक क्षेत्रबाट साथीहरुले आग्रह गरे। धनगढी छाड्ेर अन्यत्र जाने मन भण्डारीको थिएन। चुनाव हारेपछि जागिर खान जानुपर्छ भन्ने सोचका साथ अगाडि बढेका थिए। होटल साथीको फर्मबाट चुनाव पनि लडे। ‘आफूलाई जित्छु भन्ने विश्वास पनि थिएन,’ उनले भने,–‘चुनाव जिते र जागिर पनि छोडे।’

त्यतिबेला नीजि क्षेत्रलाई बलियो बनाउन विकासका पुर्वाधार अगाडी बढेको दावी उनको छ। धनगढी एयरपोर्ट, बाटो, अस्पतालको स्तरोन्नती, सुन्दर सुदूरपश्चिम अभियान, पर्यटन विकास र कृषिका कुराहरु अगाडी बढाएको उनी बताउँछन्। सुन्दर सुदूरपश्चिम अभियानलाई एउटा उचाई दिएको उनले बताए। धनगढी एयरपोर्ट कालोपत्रेका लागि ‘एक दिनको श्रम एयरपोर्टका लागि’ भन्ने अभियान चल्यो। विद्यार्थी देखि रिक्सा चालकलाई सक्दो सहयोग गर्न आग्रह गरे। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा पछिको विमानस्थलका रुपमा चिनाउन सफल भएको दावी भण्डारीको छ।
सुदूरपश्चिमको विकास र पर्यटन, व्यवसायीका हकहितका लागि अगाडी बढेकै कारण उद्योग बाणिज्य संघ कैलालीका अध्यक्षमा पनि निर्वाचित भएको उनले बताए।

कृषितर्फ फड्को

बाल्यकालदेखि संघर्ष गरेका भण्डारीलाई कृषितर्फ लाग्न त्यति गाह्रो भने भएन। वाणिज्य संघमा अध्यक्ष हुँदा हरेक कार्यक्रममा भन्ने गथेँ, ‘तालतलैया भएको जिल्ला कैलाली हो, यहाँ जनकपुर भन्दा पनि बढी माछा पालन गर्न सकिन्छ, भारतबाट विषादी हालेको माछा खाईरहेका छौं।’ उनले जमिन लिजमा लिए धनगढीको मिलन चोकमा ६ विगाहा जमिनमा माछा पालन सुरु गरे। त्यही ट्रेन्ड पछ्याउदै अहिले माछा पालन गर्ने युवाको कैलालीमा लहर चलेको उनले बताए।

यो देखेर आफुलाई गर्ब लाग्ने गरेको उनी बताउँछन्। भारतको नैनिताल जस्तै धनगढीमा पनि बोडिङ गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै सुदूरपश्चिमका पहिलो पटक डुङगा ल्याएको उनी दावी गर्छन्। भारतको चण्डीगढबाट डुङगा ल्याए। कृषि र पर्यटनलाईसँगै जोडेर माछापालन र रेष्टुरेन्ट समेत खोलेका छन्। ‘ताजा माछा पाइन्छ, बोटिङ गर्न पाइन्छ, त्यहीमा फिसिङ पनि हुन्छ,’ उनले भने, ‘अहिले हाँस, कुखुरा, लौकाट र बट्ई पालन गरेका छौं।’
यति मात्रै होइन भण्डारीले कैलालीको पहलमानपुरमा पनि कैलाली कृषि केन्द्र दर्ता गरेका छन्। त्यो जमिनमा माछापालनको काम अगाडी बढाउने सोच उनले बनाएका छन्। त्यसकै छेउमा मसला उद्योग समेत खोलेका छन। कृषिमा मात्रै भण्डारीले ८ देखि १० करोड लगानी गरेका छन्। नेपालगन्जमा वाटर पार्कको काम अगाडी बढाएका छन्। साढे ३ विगाह जमिन किनेर एउटा अत्याधुनिक वाटर पार्क निर्माणको काम लकडाउनका कारण रोकिएको उनी बताउँछन्। उनको व्यवसायबाट होटल देखि कृषिमा २ सय ५० देखि ३०० जनाले रोजगारी पाएका छन्।

धनगढीमा विद्यालय खोल्ने तयारी
भण्डारी केही बौद्धिक व्यक्तिहरुसँग मिलेर धनगढीको हसनपुरमा एउटा बाल्मिकी इन्टरनेशनल स्कुल खोल्ने तयारीमा जुटेका छन्। उनको योजनामा डाक्टर, इन्जिनियर, व्यवसायी, मानवअधिकारकर्मी लगायत थुप्रै व्यक्ति जोडिएका छन्। उनले यसरी विद्यालय खोल्नुको प्रमुख कारण यहाँको पुँजी पलायन लाई रोकेर यही क्षेत्रमा लगानी गर्ने रहेको बताए। ‘अहिलेको शिक्षा मास्र्टस गरेर सर्टिफिकेट लिएको छ, तर जीवनयापन गर्न सकिराखेको छैन,’ उनले भने, ‘सर्टिफिकेट भनेको बेरोजगारको लाइसेन्स मात्र हो, त्यो नभएर अव प्रयोगात्मक तर्फ जोड दिनुपर्छ।’

चाँसो नहुँदा नहुँदै राजनीतिक यात्रा
व्यवसायी भण्डारीको परिवार नेपाली काँग्रेससँग आवद्ध छ। उनको घरको धूरीमा काँग्रेसको झण्डा फहराएको हुन्थ्यो। तर सानो छदा उनी बुझेर होस या नबुझेर त्यही झण्डा समातेर दौडिन्थे। पछिल्लो समय राजनीति भित्र छिरेको विकृति देख्दा उनलाई चित्त बुझ्दैन। ‘नेपालमा आफ्नो जहान पाल्न नसकेर लाखौं नेपाली भारत र विदेशमा जाने गरेका छन्,’ उनले भने, –‘तर त्यहाँबाट विभिन्न खालका रोग ल्याएर नेपाल फर्किन्छन्,त्यो दुर्दशा देखेर उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष हुँदा २१ किलोको माला लगाएर नेताहरुलाई स्वागत गर्यौं तर त्यो व्यर्थ रहेछ।’

‘धेरै ठुलो माग पनि राखेका थिएनौं, सालिन तरिकाले विरोध गर्यौं, १४ वर्षसम्म २१ किलाको माला देशका साशकलाई लगाएर, सार्थक भएन, पाँच वर्षमा पुरा गछौं भने तर पुरा नहुँदा आफै राजनीतिमा लाग्नुपर्छ भन्ने सोच बनाएर साझा पार्टीमा आवद्ध भए,’ उनले भने। उनी संघीय चुनावमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधि सभाका लागि चुनाव लडेका थिए।

अन्तराष्ट्रिय भ्रमणको यात्रा
‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य संघबाट थाइल्यान्ड, होटल साथीको सञ्चालक तथा प्रवन्धकको हिसावले जापान, इटाली, भियतनाम, बङ्गलादेश लगायत ८–१० वटा देशमा भ्रमण गरेको उनी बताउँछन्।

सम्मान भन्दा आत्मसम्मान ठूलो
व्यवसायी भण्डारी सम्मानका भोगी भने छैनन्। उनी आत्मसम्मान ठुलो भन्ने सोच भएका व्यक्ति हुन्। सम्मान राजनीतिक पहुँचका आधारमा होइन उसको काम र लगनशीलताका आधारमा दिनुपर्ने उनी बताउँछन्। अहिले पहुँच र राजनीतिक आधारमा राष्ट्रियस्तरका सम्मान दिने गरेको आरोप उनी लगाउँछन्। उद्योग बाणिज्य संघ कैलालीमा आफु अध्यक्ष हुँदा निष्पक्ष रुपमा सम्मान दिएको दावी गर्छन्। सम्मानका लागि मेरो मान्छेलाई दिनुपर्यो रुपैयाँ दिन्छु भन्नेहरु पनि आएको र डाक्टर हेमराज पन्त सहितको एउटा निष्पक्ष समिति बनाएर सम्मान दिएको उनी बताउँछन्।

भावनामा मेल हुदा विहे
व्यवसायी भण्डारी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन पुरा गरेर मास्टर्स गर्ने सोचमा थिए। एमविए पढ्नकै लागि उनी काठमाडौं गए। त्यहाँ विविध कारणले थेसिस गर्न सकेनन्। त्यसपछि एमए (मास्टर्स) समाजशास्त्रबाट गरे।

त्यही बेला एकजना युवती संग उनको माया, प्रेम बस्यो। ‘हिरा (श्रीमति) र म सँगै काम गर्ने दौरानमा उसलेनै प्रेमको प्रस्ताव राखिन,’ उनले भने, ‘मैले पनि उनी मान्छे चाहि स्मार्ट छन् भन्ने सोचेको थिए। त्यस्तै पाए।’

‘युवतीको परिवार ठेक्कापट्टा गर्ने र सम्पन्न थियो, मैले त्यसरी विहे गरौला भन्ने पनि सोचेको थिएन,’ भण्डारीले भने, ‘आफू भन्दा कम आर्थिक हैसियत भएको मान्छेसँग विहे गर्दा खुसी राख्न सक्छु भन्ने सोचेको थिए। तर संयोगले उनले मन पराई प्रस्ताव राखिन्। घर परिवारमा कुरा गरेपछि विहे गरियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here