कुमाउँका गोलु र बाजुराका तलिकोटी देवताः न्याय नपाए यहाँ आउनु !

0

–श्यामबहादुर खड्का

घर बनाउने क्रममा एकजना मान्छेले छड र निर्माण सामाग्री सडकमै असरल्ल फालेका थिए। एक रात कसैले छड चोरेर लग्यो। कुनै सरकारी कार्यालयमा उजुरी नगरी ती मानिस नजिकको देवताको थान अगाडि गए। हात जोडेर भने, ‘मेरो छड फिर्ता गराई देउ, म पूजा गरौला।’ सातांै दिनको भोलिपल्ट छड चोरिएको ठाउँ मै राखिएको थियो। छडधनीले कबुलअनुसार पूजा गरेको केही दिनपछि देवताबाट सताइएको चोरसमेत पूजा गरी दिन उसलाई गुहार्न आइपुग्यो।

उदाहरणको रुपमा प्रस्तुत यो घटनाले सुदूर र मध्यपश्चिमलगायतका कतिपय क्षेत्रका मानिसहरू न्यायको लागि सरकारी अड्डा, अदालतभन्दा स्थानीय देवी–देवताहरूलाई विश्वास गर्छन् भन्ने देखाउछ। कसैको घरमा केही चोरी भएमा, कसैले कुटपिट गरी दुःख दिएमा अथवा कसैसंग जग्गा सम्बन्धि विवाद भएमा न्यायका लागि मानिसहरू अड्डा अदालत भन्दा मन्दिर तर्फ जान्छन्। उनीहरू सामान्यतया बढीमा एक माना चामल, फूल, भेटी अथवा त्यस्तै चढाउने बस्तुहरू लिएर जाने यस प्रचलनलाई देवता ढुवाउनु अथवा फिराद गर्नु भनिन्छ। सुरुमा सम्भव भएसम्म बत्ती बालेर आपूmले ल्याएको सामान चढाई थानको अगाडि आफ्नो कुरा भन्छन्। कोही ढुंगा कुटेर अन्यायीको नामसहित न्यायको लागि रोई कराई पुकारा गर्दा देवताले सुनेको विश्वास गरिन्छ। अड्डा अदालतहरूमा एउटै मुद्दाको छिनोफानो हुन बर्षौ लाग्छ भने दैवी न्यायमा यसको गुन्जायस रहदैन। न्याय प्रक्रिया पनि छिटो हुन्छ र दोषी, निर्दोषी छिटै छुट्टिने विश्वास गरिन्छ।

यस्तो काम प्रायः सबै ठुला साना देवताहरूले गर्ने गरेका छन्। केहीले त मसानमा बस्ने मसानीलाई समेत गुर्हाछन। आफूलाई अन्याय परेको झोकमा मानिसहरू कडा र तत्कालै प्रतिक्रिया देखाउने देवतालाई फिराद गर्छन। जग्गा मुद्दाका लागि विवादित जग्गाको माटो लगेर देवताको थानमा चढाइन्छ। केही आफूले पूजा गरि रहेको देवतालाई गुहार्छन भने केही देवताहरू त्यस्तो घटना हुनासाथ पीडितको गुहार नकुरी आफै पनि काम सुरु गर्छन। यसबाट यतातर्फ मुद्दा मामिलाझै झगडा आदि कम हुन्छ। कतै त गाउँ कै मानिस झगडा गरे किन झगडा गरेको भनेर देवता रिसाउने गरेको समेत सुनिन्छ।

फिरादपछि अन्यायी ब्यक्तिको घरमा दुतहरू उपद्रो गरी सताउने प्रक्रियाबाट देवताको काम सुरु हुन्छ। घरमा हुने गरेको अस्वभाविक क्रियाकलापको आधारमा उसले आफूलाई सताइएको थाहाँ हुन्छ। गल्ती नभएमा उ आफ्नो कुरा लिएर मन्दिरमा जान्छ। गल्ती भए देवताको कोपमा न पर्न सम्झौताको लागि पीडितसंग मिलेर आफ्नो दोष कबुल गरी वादीले केही पाउनु पर्ने भए फिर्ता दिई संयुक्त पूजासहित उजुरीको औचित्य समाप्त हुन्छ।

नटेरी बसे अन्यायीको धन सम्पत्ति अथवा मानवीय क्षति समेत हुने सम्भावना रहन्छ। आफ्नो पालामा समेत केही नगरेमा उसको छोरा–नातिको पालामा समेत दैवी कोप सहनु पर्ने हुन्छ। त्यसैले देवतासंगको न्यायीक विवाद जति सक्दो छिटो आपसमा समाधान गरी टुङ्गयाइन्छ। गलत फिराद गर्नेलाई देवताले नै पछि दुःख दिने हुँदा आफूलाई अन्याय नपरी कोही उजुर गर्दैनन्। काम भई सकेपछि अनिवार्य रुपमा गल्ति गर्नेले क्षमा र न्याय पाउनेले धन्यवादको लागि पूजा गर्नु पर्दछ। यसरी पूजा नगरेमा देवता रिसाउँने र पछिसम्म नकारात्मक असर गरी रहने भएकाले समयमै यसको छिनोफानो गरी सक्नु पर्दछ। यस्तो किसिमको उजुरका सम्बन्धमा साना ठूला सबै देवताहरूले हेर्ने गरे पनि यसतर्फ तलिकोटी देवता तथा कुमाउँतर्फ गोलु देवता प्रख्यात छन्।

बाजुराको तलिकोटी देवता
सानो उमेरमा हाम्रो घर तिरको बाटोमा तलिगोठी देवता हिड्छन भन्थे मान्यता थियो। कसै कसैले बाटोमा ‘पख,पख’ भन्दै हिडेको सुनियो भने तलिकोठी कता आएछ भन्ने पनि हुन्थ्यो। गाउँमा कतै जग्गा जमिन बाँझो रहेको देख्दा दातलिकोठी देवताको थानमा मुद्दा परेको भनिन्थ्यो। सुन चोरीका घटना पनि देवताले सुल्झाएको जानकारीमा आउथ्यो। ती देवताका सम्बन्धमा मेरो पहिले देखि नै उत्सुकता कायम थियो।

केहीबर्ष अगाडि काम बिशेषले बझाङको छान्ना तर्फ जाँदा चिनजानका मानिसको समूह बाजुरा तर्फ जादै थियो। कतातर्फ हो भनेर सोद्धा जवाफ आयो, ‘बाजुराको तलिकोठी थानमा जान लागेको, बाजेको पालामा कसले फिराद गरेको रहेछ, पहिले राम्रोसंग सम्बोधन भएनछ। पूजा गरेर आउन लागेको।’

बाजुराको कुन्नामा थान भएका तलिकोटी देवतालाई कैलाश पनि भनिन्छ। मानिसहरूले यस क्षेत्रमा न्याय प्रदान गर्ने देवताका रूपमा चिनिएका यिनलाई तलिकोटी देवता भन्ने गरेका छन्। कोल्टी गाउँसित जोडिएको उत्तर–पश्चिमपट्टी गुजमुज्ज जंगल भित्र तलिकोटी कैलाशको माँडु (मन्दिर) छ।

प्रचलित किंबदन्तिअनुसार परापूर्वकालमा यो ठाउँ कैलाश, भैराल, मष्टो आदि देवताहरूको वासस्थान थियो। बाजुरा, जुगाडाको भैरी भँडारबाट जोगीको भेषमा बोदी (एक किसिमको रुख) को पातको मुट्ठा काखी च्यापी घँटालो आएको मान्यता छ। आउँदै गर्दा यसै तलिकोटीको पश्चिममा पर्ने ओखलढुंगा खोलाको राक्षससित यिनको लडाई पर्यो। उक्त भिडन्तमा घँटालोले काखी च्यापेको पातको मुट्ठा धेरै तल खोलामा झर्न पुग्यो। उनले यो सुकेको पातको मुट्ठाबाट बोदीको रुख (गर्मी स्थानमा मात्र उम्रने) उम्रेमा मैले राक्षसलाई पराजित गरेको सम्झनु भनि प्रण गरे। हुनपनि खसेको पातबाट बोदीको रुख उम्रनु नै एक चमत्कार मान्नु पर्दछ।

बुढापाकाहरूको अनुभवमा उक्त रुख ६–७ हजार फिटको उचाईमा उम्रेको ठाउँ, पहिले बाटोदेखि एक माईल जति तल खोलामा रहेको थियो। एक दैवी चमत्कारको रुपमा उक्त रुख बिस्तारै बाटो तिर माथि आउँदै गरेको र बाटोसम्म पुग्न ८–१० हात मात्र बाँकी छ। त्यसैताक जोगी भेषमा यहाँ आएर अरु सबैको भन्दा डन्डीबियो ५–६ माईल टाढा फ्याकेर जितेको कारण घँटालो (डडेल्धुराको घटाल) देवताको प्रसिद्धि बढन गयो। यहाँ कैलाश र घँटालोबाहेक मष्टो, भैराल, कालिका आदि देवदेवीका थानहरू पनि रहेका छन्।

यहाँ रजाई (राजा) गर्ने लाटो कैलाश र कजाई (काजी) गर्ने घँटालो देवता गरी तलिकोटी कैलाशको रुपमा काम गर्दछन्। बाजुरा, बझाङ, अछाम, डोटी, हुम्ला, जुम्ला, कालिकोट तथा भारतको कुमाउ, गढवाल आदि ठाँउमा रजाई कजाईको यही संयुक्त शक्ति प्रख्यात छ। अन्यायमा परेका मानिसहरू ८–१० दिनको बाटो हिडेर यहाँ आउँछन्। देवता औतार भएको बेला टाढाबाट आएको अपरिचित व्यक्तिको सोझै नाम लिई बोलाई उसको घरको यथास्थिति र आउँदा बाटोमा घटेका सम्पूर्ण घटनासमेतको बृतान्त गर्नु यिनको ठूलो विशेषता हो।

यिनको थानमा बर्षभरिका मुख्य मुख्य पर्वहरूमा पूजा हुने गरे पनि अनन्त पूर्णिमामा मुख्य पूजा हुन्छ र त्रयोदशीे देखि पूर्णिमाको दिनसम्म भव्य मेला लाग्छ। यो पर्वमा मुख्यसहित सहयोगी देवताहरूका धामीहरू सेतो पगरी र पोशाकमा सजिएका हुन्छन्। फूल गुच्छा र जमराका माला पहिरेका धामीहरूको बाजाको तालको नाचले वातावरण देवतामय हुन्छ। टाढा टाढाबाट आएका मानिसहरू सफलताका लागि भेटी र कसैले बोकासहितको पूजा पनि गर्छन्। मन्दिरमा भक्तजनहरूले परापुर्वकाल देखि आस्थाको आधारमा चढाएका साना ठुला त्रिशुल, घण्ट, मुर्तिहरू र अन्य विभिन्न बाजाका सामग्रीहरू प्रशस्त रहेका छन्।

राणाकालीन समयमा सरकारी निकायले पक्षपाती र तजबीजी न्यायका कारण दण्डित भई हतकडी र नेल ठोकिएका अधिकांश गरिब, असहाय, निरपराधी कैदीहरूले यी देवताको सम्झना गरी भाकल गर्दा, हत्कडी र नेल आफै खुलेर कैदबाट छुटी यी देवताको शरणमा आउने गरेका थिए। यी देवताको इन्साफ प्रणालीका कारण प्रभावित भई आरोपितहरूलाई नेल, हतकडी प्रयोग गर्ने अधिकार दिएर राणाकालमा सरकारका तर्फबाट चारवटा नेल जन्जीर (हाल पनि विद्यमान) पाएको र झगडिया बीच कुरा नमिलेमा यिनले आवश्यकताअनुसार अहिले पनि प्रयोगमा ल्याईन्छन्।

सरकारी निकायबाट न्याय पाउनबाट बञ्चित भएका मानिसहरू देवता कहाँ गएर आफ्नो पीर मर्का प्रस्तुत गर्दछन। बर्षभरी यिनीहरूको घुईचो भइरहन्छ। पहिले सरकारी अड्डा अदालतमा न्याय सम्बन्धी झमेलाका कारण मानिसहरू यिनलाई गुहार्थे। अहिले पनि यिनको न्याय प्रदान गर्ने भूमिकामा कमी आएको छैन। निसाफका लागि यी देवताले खेलेको भूमिकाबाट यस क्षेत्रको जनजीवनमा ठूलो प्रभाव परेको पाइन्छ। बझाङ, बाजुरा, हुम्ला, जुम्ला र कुमाउसम्मका मानिसहरू दूधको दूध पानीको पानी निसाफ र अड्डा अदालत भन्दा छिटो हुने विश्वासका कारण न्याय क्षेत्रमा यिनको विशेष महत्व छ।

आपूmलाई अन्याय परेका मानिसले तलिकोटी देवता कहाँ उजुर गरेपछि यिनका दूतहरू अन्यायीको गाउँमा पुगेर घर वरिपरि स्यालको भेषमा आवाज निकालेर कराउँछन्। जहाँ पनि जान सक्ने यिनलाई आफ्नो इलाका भनेर अरू दैवीशक्तिले रोक्न सक्दैनन्। यिनका दूतहरू घर पत्ता नलाग्दासम्म चार दिन जति गाउँमा वरिपरि बाहिर कराई अन्यायीको बारेमा यकिन भइसकेपछि घर भित्र पसेर दुःख दिन थाल्दछन्। घरभित्र अस्वाभाविक आवाजहरू आउने, भाँडा बज्ने अथवा यताको उता फ्याँकिने कार्य सुरु हुन्छ। यस्तो क्रियाकलाप सुरु भएपछि कसैले फिराद गरेको र देवता आएको वाकसले उजुर गरेको (झै झगडा, धन, जग्गा सम्बन्धि) समेत पत्ता लाग्छ।

एउटा निश्चित दिनमा तलिकोठी देवताको मन्दिरमा प्रतिवादी एक्लै अथवा वादी समेत दुवैजना उपस्थित हुन्छन्। मन्दिरमा वादी र प्रतिवादीका साथ अन्य पाँचजना मानिस समेत आसपास बस्दछन्। देवताको बत्ती बालेपछि धामी आसनमा बसेर एक कम्प दिई देवताको औतार भएको जनाउ दिइन्छ। औतारपछि आसनमा शान्त बसेका धामी, अन्य पाँचजना र दुवै पक्षबीच एक अर्काको दोष र आफ्नो कुरासहित छलफल हुन्छ। धामी सहितका मानिसहरूको हस्तक्षेप अथवा रायका साथै देवताको थानमा आस्थाका कारणले सकभर कुरा मिल्दछ। छिनोफानोपछि एउटा बोका र केही रकम (वर्तमान समयमा पाँच सय रुपियाँ) चढाउनु पर्छ। भोलिपल्ट बोका काटेर प्रसाद खाई दुवै पक्ष मिलेर फर्किन्छन्।

नमिलेमा नमान्ने अन्यायीलाई नेल, हत्कडी पहिर्याएर नियन्त्रणमा राख्दछन् र जति गर्दा पनि समाधान नभए थप छलफल र छिनोफानोका लागि उच्च पहाडी भाग परख्याको लेक (पहिलेको कुनै राजाको दरबार वा देवताको थान) मा जान भन्छन्। अगाडि जानुको झन्झट, समयको बरबादीका साथै देवता प्रतिको आस्थाका कारण झगडियाहरू त्यहीँ मिलेर आउँछन्।

तलिकोटीले दिएको तारेखमा सुरुमा मन्दिरमा अनिवार्य नपुगि उल्लङ्घन गरेमा दैवी प्रकोप सहनुपर्दछ। केही गरी तारेखमा जान नसकेमा बत्ती बालेर जनाउ दिई अर्को चोटि जान सकिन्छ। अन्यायी भनिएको मानिसको गल्ती नभई फिराद गर्ने कै गल्ती भएमा उसैले दुःख पाउँछ। त्यसैले आफूलाई अति अन्याय भएको मानिस मात्र देवता गुहार्छन्। आफ्नो गल्ती हुँदाहुँदै उपस्थित नभएमा विभिन्न नोक्सानीहरू हुन्छन्। तलिकोटीमा फिराद परेमा छोरा नातिको पालोमा पनि पूजा नगरी हुँदैन भन्ने जनविश्वास छ।

कुमाउका गोलु देवता
गोलु देवतालाई पुरा उत्तराखण्डमा न्यायको देवता मानिन्छ। न्यायालय, विभाग, सरकारीतन्त्र र कचहरीबाट न्याय पाउने सम्भावना नभई निराश मानिस चाडो भन्दा चाडो न्यायको अपेक्षाका साथ यिनको मन्दिरमा गुहार लगाउँछन्। मानिसहरू नौकरी, विवाह, विदेश भ्रमण, पदोन्नति आदिको लागि पनि मन्दिरमा भाकल गर्ने र सो पुरा भएपछि घण्टी चढाउन आउछन्। घर परिवारका विभिन्न समस्याहरू गोलुले हेरी सुल्झाई दिने मान्यता रहेको छ। यहाँ भाकल गर्न आउने अधिकांश मानिसको उद्धेश्य न्यायमा भेदभाव हुँदा त्यसको लागि गुहार हो। सूचना क्रान्तिको यस वैज्ञानिक युगमा पनि मानिसहरू न्यायको लागि यिनको मन्दिरमा आइपुग्छन्। अन्यायमा परेको शिक्षित मानिस समेत तुरुन्त प्रतिफल दिने विश्वासका साथ गोलुलाई गुहार्छन्। पीडितले न्याय र अन्यायीले दण्ड पाएर चमत्कार भएको उदाहरणको कारणले नै मानिसहरूको विश्वास बढेको हो।

उनलाई भाकल गर्ने तरिका फरक रहेको छ। भक्तजनहरू कागजमा रीत पुर्वकको निवेदनमा आफ्नो ब्यहोरा लेखेर मन्दिरमा टाँगी दिन्छन्। केहीले त सरकारी स्टाम्प पेपरमा नोटरीको समेत दस्तखत गराएर देवताको नाममा निवेदन लेखेर झुण्डयाईदिन्छन्। कतिपय मानिसहरू गोलुलाई सबै कुरा थाहा भई देवताले अवश्य न्याय गर्ने विश्वासका साथ सामान्य कागजमा समस्या लेखेर झुण्डयाउँछन्। मानिसहरूको विश्वास अनुसार अर्काले झुण्डयाएको निवेदन कहिल्यै पढन हुदैन।

यिनको मन्दिरमा पुर्ण आस्था तथा सच्चा ह्रदय लिएर गएमा इच्छा अवश्य पुरा हुन्छ भन्ने मान्यता रहेको छ। मन्दिर प्रांगणमा प्रवेश गर्ने बित्तिकै हजारौको संख्यामा निवेदनहरू तथा घण्टीहरू बाँधेका देखिन्छन्। गोलुसंग मागेको भाकल पुरा हुने बित्तिकै भक्तहरू आफ्नो श्रद्धा प्रकटको रुपमा घण्टी झुण्डयाइ दिन्छन्। यहाँ चढाईएका घण्टीहरू, भक्तजनहरूको मनोकामना गोलुबाट पुरा भएको विश्वासका प्रतिक हुन्। सम्भवतः भक्तहरूले निवेदन टाँगेर न्यायको गुहार माग्ने र धेरै घण्टी झुण्डयाईएको मन्दिर यही हुनुपर्दछ।

गोलु पहिले विभिन्न ठाउँमा घुमेर जनताहरुलाई न्याय दिने राजा थिए। न्यायको आवश्यकता सम्झेर विभिन्न ठाँउमा लोक अदालतद्वारा जनतालाई न्याय दिने काम आरम्भ गरिसकेका उनले हाल पनि सो कामलाई निरन्तरता दिएका छन्। यिनको चितईको मन्दिर लोकआस्थाको अनौठो केन्द्र हो। पुरानो मन्दिर चम्पावतमा रहेका यिनको उत्तराखण्डको घोडाखाल लगायत विभिन्न ठाउँमा मन्दिर बनाई पूजा गरिन्छ।

नेपालका पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोईरालाले पनि(अन्तिम पटकको प्रधानमन्त्री हुनका लागि) भाकल स्वरुप यहाँ चढाएको ठुलो घण्टी हाल पनि देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here