नेपालीको महान् पर्व बडादशैँ शुरु : आज घटस्थापना गरिदै

0
फायल फोटो

काठमाण्डौ- नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ आजबाट सुरु भएको हो।

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरि आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ।

घटस्थापनाको साइत आज बिहान ११ ः ४६ बजे रहेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ।
दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा रहेको छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।
घटस्थापनाको पहिलो दिन आज शैलपुत्रीको पुजाआराधान गर्ने गरिन्छ।
कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको र टीका प्रसाद ग्रहणका लागि १० ः १९ बजेको साइत उत्तम समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here