कैलालीः जिल्ला तानिएका १० जना प्रहरीलाई नागरिकमैत्री बनाएर अन्यत्र पठाइने

0

कैलाली–सीमा प्रहरी चौकी बहुलियाका सइसहित १० जना प्रहरीलाई जिल्ला तानिएको छ। आचरण विपरित काम गरेको भन्दै उनीहरुलाई जिल्ला तानिएको हो। उनीहरुलाई नागरिकमैत्री बनाएर अन्यत्र पठाइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

उनले स्थानीयबाट पटक–पटक ‘कुटपिट गरर्यो’ भनेर गुनासो आएपछि जिल्ला तानिएको जानकारी दिए। उनीहरुको सट्टा बहुलियामा अर्को टोली पठाइएको छ। पेशागत आचरण अनुसार काम नगरेको आरोपमा चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक गोपाल कार्कीसहितका १० जना प्रहरीमाथि कारवाही हुने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी प्रतिक विष्टले बताए।

उनीहरुको काम कारवाही सन्तोषजनक नदेखिएपछि चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको जानकारी दिए। जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्ज सम्मका प्रहरी कर्मचारी रहेको विष्टले बताए। तर चौकीमा थुनुवामाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई जिल्ला तानिएको स्रोतले जनाएको छ। यसअघि गत साउन २८ मा पनि सोही प्रहरी चौकीको हिरासतमा फूलबारीका अमरबहादुर चन्दको रहस्यमय ढंगले मृत्यु भएको थियो।

उक्त घटनाको छानविनका लागि तत्कालीन इन्चार्ज जंगबहादुर सिंह सहितका तीन जना प्रहरीलाई जिल्ला तानिएको थियो। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए। प्रहरीले छानविनका लागि एसपीको नेतृत्वमा टोली गठन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here