पश्चिमी सीमामा ‘किला–काँटा’ गाड्दै सशस्त्र

0
कञ्चनपुरको कुतियाकवरमा प्रस्तावित बीओपीको अस्थायी संरचना निमार्ण गर्दै सशस्त्र प्रहरी।

राजेन्द्र नाथ

दोधारा–चाँदनी (कञ्चनपुर)–माहाकाली नगरपालिका–१० कुतियाकवरस्थित जोगबुडा नदी किनारको गुरुङ टोलमा शनिवार सशस्त्र प्रहरीलाई कामको भ्याइनभ्याइ थियो। कोही बाँसका खम्बा गाड्दै थिए त कोही किलाकाँटा ठोक्दै। कतिपय सशस्त्र कर्मचारी झाडी र बुट्यान फाड्दै सरसफाइ गरिरहेका थिए।

गुरुङ टोलमा सशस्त्रको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको तयारीका लागि घर टहरा निर्माण भइरहेका हुन्। १० दिनदेखि जोगबुडा नदी किनारमा धुमधामका साथ काम चलिरहेको छ। पारीपट्टी एसएसबीको मेलाघाट बिओपी छ। ठिक त्यसकै सामुन्ने सशस्त्रको बिओपी स्थापना गर्न तयारी भइरहेको छ।

‘बिहानदेखि साँझ अबेरसम्मै किला काप्चा ठोक्नमै व्यस्त छौं,’ देबिस्थानस्थित बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कृष्ण बोहोराले भने, ‘बिओपीका लागि घर टहरा बनाउने काम चलिरहेको छ।’ उनका अनुसार वजेट नहुँदा अस्थायी ब्यारेकका टहरा निर्माणमा समस्या भएको छ। कुतियाकवर भारतसँग सीमा जोडिएको क्षेत्र हो। वारी र पारीका वस्तीहरु एक आपसमा झुरुप्प मिलेका जस्ता छन्।

कतिपय ठाउँमा दशगजासमेत मिचिएको छ। कहिँ सडकलेनै दशगजा छुट्टिएको छ। खुला सीमाना भएका कारण यहाँ अनेक समस्या हुने गरेको छ। तीन दिनअघि मात्रै भारतीय पक्षले दशगजामा रहेको बाटोमा पानी लगाउँदा ठुलै विवाद भएको थियो। स्थानीय र एसएसबीका जवानहरुबीच हात हालाहालनै भयो। सशस्त्र प्रहरीकै पहलमा उक्त विवाद साम्य भएको थियो।

‘बिओपीका लागि टहरा त बनाइरहेका छौं, तर जस्तापाता छैन,’ सशस्त्र प्रहरी निरीक्षक बोहोराले भने, ‘नगरपालिकालाई आग्रह गरेका छौं, हुन्छ भन्ने आश्वासन पाइएको छ।’ माहाकाली नगरपालिकामा हालसम्म वडा नं. १ को बयलबन्द र वडा नं. ३ को देविस्थानमा बिओपी स्थापना भइसकेको छ। कुतियाकवरमा तेस्रो बिओपीका लागि टहरा निर्माणको काम भईरहेको छ।

माहाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीले कुतियाकवरमा बिओपी स्थापनाका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताए। उनले टहरा निर्माणका लागि जस्तापाता सहयोग गर्नेबारे कुरा भएको जानकारी दिए। ‘यसका लागि कार्यपालिकाबाटै निर्णय गरेर वजेट छुट्याउनुपर्छ,’ उनले भने, ‘कार्यपालिकाका सबै सदस्यहरु पोजेटिभनै छन्।’

१२९ दशमलव ५ किलोमिटर भारतसँग सीमा जोडिएको कञ्चनपुरमा हालसम्म १७ वटा बिओपी स्थापना भइसकेका छन्। केही ठाउँमा स्थानीयले असहयोग गरेपनि अधिकांस ठाउँमा सहयोग पाइएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका गणपति एसपी वीरेन्द्र ऐरले बताए। ‘स्थानीय तहहरुले भने राम्रो सहयोग गरेका छन्। कसैले जस्तापाता दिएका छन्, कसैले खानेपानीको नल्का हालिदिएका छन्,’ ऐरले भने, ‘सीमा सुरक्षामा खटिएको फौज भएकाले सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन्।’

हालसम्म भीमदत्त नगरपालिकाको खल्ला मुसेट्टीदेखि ब्रम्हदेव, जिमुवा र गड्डाचौकी, माहाकाली नगरपालिकाको बयलबन्द, दोधारा र कुतियाकवर, बेलडाडीको झिलमिला, बेलौरीको भुडा, पचुँई, बेलौरी र थापाचोक तथा पुनर्वासको आँपताल, पुनर्वास, खड्डाकंकड, बिचफाँटा, दोधा र टाउकेबजारमा बिओपी स्थापना भइसकेका छन्। थप ५ ठाउँमा बिओपी स्थापनाका लागि तयारी भईरहेको एसपी ऐरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here