लोकेश साउद
तिंकर (दार्चुला)– तल नागबेलीझै निलो रंगको पानी। त्यो तिंकर खोला थियो। छाङरुको गागाबाट हेलिकप्टरले ‘टेकअफ’ लिएपछि ठ्याक्कै तीन मिनेट ३० सेकेन्ड पछि चिटिक्क परेको चौरको छेउमा सानो बस्ती देखियो। ढुंगा र काठले बनेका झुरुप्प घरहरु। हिउँ पग्लेर डाँडाहरु उराठ देखिन्थे, सुख्खा। त्यसैको मुनि चौरको एकछेउ पसारिएको यो गाउँ थियो नेपालकै पश्चिमोत्तरको अन्तिम गाउँ तिंकर।

उत्तरी दार्चुलाको अन्तिम गाउँ तिंकरबाट केही घन्टाको दूरीमा नेपाल–चीनको सीमा छ। छ्यालेक, टाटा हुँदै उक्लिदा करिब पाँच हजार मिटरको उचाइमा एउटा भञ्ज्याङ छ, तिंकर। त्यही पानीढलोमा रहेको सीमा पिलर नं. १ ले नेपाल र चीनको सीमा छुट्याउछ। टाटा भने खम्पा बिद्रोही वाङदी मारिएको ठाउँ हो। त्यहाँ मौसमी रुपमा केही चिया, खाजाका पसलहरु छन्। तिंकर भञ्ज्याङ सम्मै जोड्ने गरी चीनले भने सडक निर्माण गरिरहेको छ। चीनको ब्यापारिक केन्द्र ताक्लाकोट र मानसरोबर जाने परम्परागत मार्ग पनि यही हो।

तिंकर गाउँको दक्षिण वा उत्तरबाट धेरैले यो गाउँको दृष्य क्यामेरामा कैद गरेका छन्। तर आकासबाट भने तिंकर गाउँको बेजोड दृष्य देखिदो रैछ। गाउँको उत्तर–दक्षिण सडकजस्तै देखिने बाटो, तल खोला, माथि सौका समुदायको बस्ती रहेको पहाडी संरचना।

तिंकरभन्दा उत्तरतर्फ केही पर छ्यालेकमा नेपाल प्रहरी बस्ने संरचना छ। त्यहाँ प्रहरी बर्षको आधा समय बस्ने गर्छ। त्यहीबाट उत्तर पश्चिमतर्फको बाटो समातेर उकाली लाग्यो भन्यो एक नं. पिलर पुग्न सकिन्छ। नेपाल चीनको सीमा पिलरसम्म हेलिबाटै हेर्न जाने उद्देश्यले दार्चुलाका शसस्त्र प्रहरी प्रमुख नरेन्द्र बम, छाङरुमा शसस्त्रकै भवन निर्माण गरिरहेका निर्माण व्यवसायी शुरेश चन्द लगायतले पाइलटसँग अनुरोध गरेपछि हेलिकप्टर छाङरुबाट उत्तर मोडिएको थियो।

तिंकर गाउँबाट उत्तर–पश्चिमको तिंकर खोला पछ्याउँदै खम्पा काण्ड भएको टाटा क्षेत्रको आकासमाथि पुग्दा हावाको वहाव तिव्र भयो। हेलिकप्टर जोड्ले हल्लिन थालेपछि पाइलटले फेरि दक्षिण मोडे। त्यहाँबाट करीब एक मिनेट मात्रै उड्न सकेको भए नेपाल–चीन सीमानामा पुग्न सकिन्थ्यो। तर दिउँसोको साढे १२ बज्न लागेको थियो। ११ बजेपछि यो क्षेत्रमा तिब्र रुपमा हावा चल्ने गर्दछ।

तिंकर गाउँलाई छाडेर हामी खलंगातर्फ लागेपनि त्यहाँका सुन्दर दृष्यहरु भने क्यामरामा कैद गरेरै छाडियो।

सबै तस्बिरः लोकेश साउद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here